जेनजी पुस्ताद्वारा दलहरु बाहिपास

विविध समाचार

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगायत पुराना पार्टीका शीर्ष नेताहरुविरुद्ध जनआक्रोश बढ्दै गएको थियो ।

सो जनआक्रोश सडकमा उत्रिँदा ठूलो जनधनको क्षति भएको छ । पुराना पार्टीप्रति जनआक्रोश बढ्नुको मुख्य कारण नेताहरु सत्ताबाहिर हुँदा मीठा भाषण गरेर जनतालाई झुक्याउने र सत्तामा पुगेपछि भ्रष्टाचार, विकृति, विसंगति र नातावादमा लिप्त हुनु नै हो । अझ कांग्रेस र एमाले दुई ठूला दल मिलेर दुईतिहाई हाराहारी बहुमतको सरकार बनाएपछि संस्थागत भ्रष्टाचार व्यापक मौलाएको थियो ।

संघ, प्रदेश र स्थानीय तीनै तहमा संस्थागत भ्रष्टाचारले जरा गाडिसकेको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा भएको व्यापारीकरणले गर्दा सर्वसाधारण निमुखाले पढ्न र स्वास्थ्य उपचारबाट बञ्चित हुनुपरिरहेको छ । सरकारी विद्यालयमा गुणस्तरीय पढाइ नहुने, निजीमा पढ्न आर्थिक हैसियतले नभ्याउने भएपछि अधिकांश विद्यार्थीहरु अध्ययन र रोजीरोटीको लागि दिनप्रतिदिन विदेशिइरहेका छन् ।

निजी अस्पताल, स्कूल, कलेजहरुमा हरेक पार्टीका नेताहरुको लगानी रहेको छ । निजी अस्पताल र स्कूल कलेजमा आफ्नो लगानी भएपछि सरकारी विद्यालय र अस्पतालहरुमा सेवाप्रवाह कमजोर बनाउने र विद्यार्थी र बिरामीहरुलाई नेताहरुले लगानी भएको निजी अस्पताल र विद्यालयमा विद्यार्थी भर्ना गराउने र निजी अस्पतालमा बिरामी रिफर गर्नेे काम गर्दै आएका थिए ।

त्यसैको परिणामले गर्दा आज जेन–जी पुस्ताहरुले भ्रष्टाचार गरेको आरोपमा ज्यानको बाजी राखेर सडकमा उर्लिएका छन् । तीनै तहमा संस्थागत भ्रष्टाचार फस्टाएपछि सबैखाले सरकारी सेवाप्रवाह र विकास निर्माणका कामहरु अलपत्र पर्दै गएका छन् । दलका नेता, मन्त्री र कर्मचारीको सेटिङबाट व्यापक राज्यदोहन हुनुले जनताहरु आक्रोशित भइरहेको बेलामा सरकारले एकाएक सामाजिक सञ्जालमाथि प्रतिबन्द लगाएपछि जेन–जी पुस्ता भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द गरिएको विरोधमा सडकमा उत्रिएरका थिए ।

सडकमा उत्रिएका विद्यार्थीहरुले सरकार र दलहरुको विरोध गर्दा दुई दर्जन हाराहारीले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् । ज्यान गुमाउने र घाइते हुनेमा आन्दोलनमा सहभागी भएकाभन्दा विद्यालयबाट घर फर्किँदै गरेका विद्यार्थीहरु बढी देखिन्छन् । भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्दीविरुद्ध स्वस्फूर्त रुपमा जेन–जी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा विभिन्न समूहको घुसपैठ भएको पाइन्छ । यदि आन्दोलनमा घुसपैठ भएको थिएन भने कलेज पढ्दै गरेका कलिला विद्यार्थीहरुले संसद् भवनको पर्खाल कसरी तोडन सक्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *