आर्थिक र गरिबी कै कारण अपराधिक घटनाहरु बढ्दै

विविध समाचार

सरिता सिकर्मी

देशभर अपराधिक गतिविधी तिव्र रुपमा अगाडि बढिरहेको छ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले तयार पारेको प्रतिवेदनमा पछिल्लो चार आर्थिक वर्ष २०७७/७८ को तथ्यांकले देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० अपराधिक घटनाको मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा त्यो संख्या बढेर ५९ हजार दुई सय तीन पुगेको जनाइएको छ । यस विवरणले अपराधको संख्या वर्षेनि बढ्दै गएको पुष्टि गरेको छ ।

अपराधिक गतिविधी बढ्नुको मुख्य कारण बेरोजगारी, आर्थिक सङ्कट, लागुऔषध सेवन, नैतिक शिक्षा, पावर र सत्तामा पहुँचवाला व्यक्ति अथवा निकायको मनपरीतन्त्र, सामाजिक सञ्जालको प्रभाव तथा बढ्दो मानसिक स्वास्थ्य समस्याको कारण यस्ता गतिविधीले प्रभावकारी रुप लिइरहेको पाइन्छ ।
नेपालमा साधारण रुघा, खोकीको औषधी, उपचार गुणस्तरहीन हुँदा झन् मानसिक रोगको उपचार पाउनु भनेको ‘सम्झिने पानी छम्कीने’ सरह हो । मानसिक रोगको उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकको संख्या एक, त सीमित भएकोले उपचारको अवस्था पनि कमजोर रहेको छ । नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा अझैं भरपर्दो रूपमा पुग्न सकेको छैन ।

मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक विशेषज्ञ, परामर्शदाता र आवश्यक सम्पूर्ण उपचार व्यवस्थाको विस्तार गर्न अझैं नेपालका जनता कति तड्पिनु पर्ने हो थाहा छैन । बढ्दो मानसिक समस्याका कारण भविष्यमा समाजमा गम्भीर सङ्कट पैदा हुनेतर्फ सरकारको ध्यान जान समेत जरुरी रहेको छ ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अनुसार भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधिसँगै विकास तथा आर्थिक गतिविधि अत्यन्त चलायमान भएका कारण परम्परागत प्रकृति अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेको उल्लेख गरिएको छ ।

शाखाले परम्परागत प्रकृतिका अपराध मात्र नभई अहिले समय प्रविधिको विकास सँगै अपराधका गतिविधीको स्वरुप बदलिएको छ ।समुदाय–प्रहरी साझेदारी अन्तर्गत साइबर सुरक्षा तथा सडक दुर्घटना र आत्महत्या न्यूनीकरण लगायतका घटना हुन नदिन प्रयास थाल्दापनि अपराधिक गतिविधीमा न्यूनीकरणमा अझैं कमि आउन सकेको छैन । नेपालमा पछिल्लो पटक विभत्स अपराधका घट्ना पनि त्यत्तिकै बढ्दो रुपमा रहेको छ । यसका विभिन्न कारण हुन सक्छन्। रिसइबी, प्रतिशोध साँध्ने, जग्गा–घरलगायत सम्पत्ति, मादक पदार्थ सेवन, जातीय भेदभाव, यौन इच्छा जस्ता कारणले हत्याका घटना वृद्धि भइरहेका छन्। यस्ता विभिन्न कारणमध्ये एउटा हो– गरिबी ।

तर एउटा साँचो कुराचाहिँ यो हो कि गरिबीले पनि मानिसलाई अपराध कर्ममा लाग्न उत्प्रेरित गर्छ । अपराध कर्मको संलग्नतालाई कुनै पनि हिसाबले स्वीकार्नै सकिन्न । अझ हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई त जति दुत्कारे पनि कम हुन्छ । तर पनि कुनै समस्या न्यूनीकरणका लागि सोच्ने हो भने सबै भन्दा पहिले त्यसको जरासम्म पुग्नुपर्ने हुन्छ । त्यसैले यस्ता घटना आइन्दा नहोउन् भन्ने चाहने हो भने सबै भन्दा पहिले मुलुकका विशेषगरी युवा वर्गमा देखिएको नैराश्यपन घटाउनुपर्छ। त्यसको मुख्य कारण बेरोजगारी समस्या समाधानमा ध्यान दिन आवश्यक छ ।

युवाहरू बेरोजगार हुँदा फुर्सदीला हुन्छन्, यसले गर्दा आर्थिक समस्या निम्तन्छ । आर्थिक समस्या र फुर्सद अपराधिक योजना निर्माणका लागि ऊर्वर भूमि हुन्। त्यसैले यस्तो अवस्था अन्त्यका लागि मुलुकको सत्ता सम्हालेकाले सोच्नुपर्छ । मानव समुदालाई चुनौतीदिने र खलल पुर्याउने अपराधिक घटना राज्य एक्लैले न्यूनीकरण गर्न नसक्ने हुँदा प्रत्येक नागरिक , राजनैतिक दल, पत्रकारिता जगत, बुद्धिजिवि, नागरिक समाज, विभिन्न संघसंस्था आदिले आ–आफ्नो ठाउँबाट अपराध र बिकृती न्यूनीकरण गर्नका लागि योगदान पुर्याएर सभ्य सुसूचित र बिकसित समाज निर्माण गरि मुलुकलाई बिकसित बनाउनु आजको आवश्यकता भएको छ ।

बाहिरी अर्थात अपरिचित मानिसको अस्वाभाविक हेलमेल र ओहोर दोहोरप्रति निगरानी, सिसी टिभीको सार्वजनिक मात्र नभई व्यक्तिगत प्रयोजनमा समेत थप लगानी, बेरोजगारी अन्त्यका लागि सार्थक सरकारी प्रयास,अस्वाभाविक महत्वाकाङ्क्षाबाट मुक्ति, सुरक्षाकर्मीलाई समयानुसार थप तालिम र उपकरण उपलब्ध गराउने जस्ता कार्य गर्न सकेको खण्डमा यस्ता आपराधिक गतिविधीका घटना न्यूनीकरण हुन सक्छ । त्यसबाहेक कानूनी सजायलाई समेत समयानुकूल संशोधन गर्ने र यसका प्रावधानबारे व्यापक चेतना जारी गर्ने हो भने पनि अपराधिक गतिविधीमा लाग्ने व्यक्तिहरुको संख्या घट्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *