तीनवटा विभाग पुरानै मन्त्रालयमा फर्काउने सरकारको तयारी

राजनीति समाचार

काठमाडौं। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग पुरानै मन्त्रालयमा फर्काउने तयारी सरकारले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले यी तीन विभागलाई पुरानै मन्त्रालयमा फर्काउने तयारी गरेर फाइल पेस गर्न शासकीय सुधार महाशाखालाई निर्देशन दिएकी हुन् । मन्त्रिपरिषद् बैठक आईतबार लाई बोलाइएकाले त्यही बैठकबाट निर्णय हुने सम्भावना रहेको कार्यालयका एक उच्च पदस्थ अधिकारीले जानकारी दिएका थिए।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साल फागुन १६ गते मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी तीन शक्तिशाली विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याउने निर्णय गरेको थियो । त्यसअघि राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अर्थ मन्त्रालय मातहत थिए । राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत थियो ।

त्यो बेला मुलुक सङ्घीयतामा गएको बेलामा महत्त्वपूर्ण विभाग विकेन्द्रीकरण गर्नुपर्नेमा केन्द्रीकृत गरेको भन्दै ओलीको आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *