रामचन्द्र बस्नेत
गत भदौ २३ र २४ गते भ्रष्टाचार ब्यथितिविरुद्ध जेनजी पुस्ताले गरेको विरोध प्रदर्शनमा घुसपैठ भइ देशमा हिंसा भड्किँदा एमाले र कांग्रेसको सरकार ढल्नुका साथै दलहरु तहसनहस भएका छन् । दलका शीर्ष नेताहरुमाथि सांघातिक आक्रमण हुनुका साथै निवासहरुमा निवासहरुमा आगजनी, तोडफोड र लुटपाट मच्चाइएको थियो । त्यो हुनुमा दलका नेताहरु नै बढी दोषी देखिन पुगेका छन् । राजनीतिक दलहरुकै कारण देशमा भ्रष्टाचार, विकृति, विसंगति फैलिँदै आएको थियो ।
त्यसको विरोध पार्टीभित्रकै केही नेता, कार्यकर्ताले पहिलादेखि गर्दै आएका थिए । किन कि सबै पार्टीका शीर्ष नेताहरु सधैं आ–आफ्नो गुट बनाउने र त्यसैको घेराभित्र रमाउने गर्दै आएका थिए । भ्रातृ तथा शुभेच्छुक संघसंगठनदेखि जनवर्गी संघ संगठनमा शीर्ष नेताहरुको परिवार र आसेपासेहरु हावी हुँदा पार्टीभित्र उकुसमुकुस हुँदै आएको थियो । नेताहरुको परिवार र चाकडी चाप्लुसी गर्नेहरु सधैं पद, पावर र पैसामा रमाउने तर इमानदारपूर्वक संगठनको काम गर्नेहरु सधैं वाइपास हुने गरेका थिए ।
त्यसकारण कांग्रेस र एमाले दुई ठूला दलकाभित्र आन्तरिक द्वन्द्व बढ्दै गएको थियो । पार्टीभित्र पद पाउनदेखि निर्वाचनमा टिकट लिनको लागि पैसा खर्च गर्नुपर्ने अवस्था थियो । त्योसँगै संवैधानिक निकायमा राजनीतिक नियुक्ति खानको लागि शीर्ष नेता र पार्टीलाई सहयोग गर्नुपने वाध्यता रहँदै आयो । कतिपय इमानदार नेता, कार्यकर्ताले पैसा नभएकै कारण पार्टीको क्रियाशील सदस्य लिनबाट बञ्चित हुनुपर्ने वाध्य भयो । त्यो रोग तराईवासी दलहरुमा स¥यो । त्यही रोगको कारण तराईवासी नेताहरु पनि छिन्नभिन्न अवस्थामा पुगे । त्यसले गर्दा तराईवासी दलहरुमा पनि आन्तरिक कलह बढ्दै गएको थियो ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को हालत झन् नाजुक अवस्थामा गुज्रिइरहेको छ । किन कि लामो समयदेखि राजा फर्काउने एजेन्डा बोकेको राप्रपा नेताहरुबीचको घमण्डले पार्टी नै चकनाचुर भएको छ । अर्कोतर्फ नेपालमा साम्यवाद स्थापना गर्ने नाममा जनयुद्ध घोषणा गरेर २०५२ सालमा जंगल छिरेको माओवादीले दश वर्ष हिंसात्मक गतिविधि गरी २०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्न सफल भएको थियो । ठूलो दल भए तापनि नेताबीचको आन्तरिक द्वन्द्व र भ्रष्टाचारको कारण माओवादी पार्टी नै टुक्राटुक्रा हुन पुग्यो । नेपालका जुनसुकै दल टुक्रटुक्रा हुनुमा पार्टीका शीर्ष नेता, सभापति र अध्यक्षहरु नै बढी दोषी छन् ।
माओवादीभित्र अध्यक्ष प्रचण्डले २०६४ सालदेखि एकछत्र हालीमुहाली गर्दै आएका छन् । प्रचण्डले त्यसयता कहिले एमालेसँग, कहिले कांग्रेससँग त कहिले साना दललाई उचालेर कुनै न कुनै रुपमा सत्तामा पुगेर भ्रष्टाचार गरी अकुत सम्पत्ति कुम्ल्याउँदै आएका थिए । त्यसको भण्डाफोर र फर्दाफास जेनजी पुस्ताको आन्दोलनले गरिदिएको छ । गरीव तथा निमुखा जनताको हितमा काम गर्ने नाममा आतंक मच्चाएर लुटपाट र भ्रष्टाचार गरी बनाएको घर र जम्मा गरेको पैसा जेनजी पुस्ताको आन्दोलनकारीले जलाएर नष्ट गरिदिएका छन् ।
उता, एमालेमा पद नपाएर पार्टी नै फुटाई एकीकृत समाजवादी पार्टी गठन गरी अध्यक्ष बनेका माधव कुमार नेपालको हालत त्यत्तिकै नाजुक भएको छ । माधव नेपालसँगै वरिष्ठ नेता झलनाथको पनि घमन्डकै कारण बिल्लिबाठ भएको छ । नेताहरुमा एकले अर्काको अतित्व नस्वीकार्ने कारणले गर्दा दलहरु यो अवस्थामा आइपुगेका हुन् । राजनीतिक दलमाथि नै प्रश्न चिन्ह खडा भइरहँदा नेताहरुबीच कसले पार्टी कब्जा गर्ने भन्ने होडवाजी चलिरहेको छ ।
यतिबेला पार्टी नेतृत्वमाथि सबैभन्दा धेरै आक्रमण नेपाली कांग्रेस भित्र भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा देश ध्वस्त भइरहेको बेला कांग्रेसभित्र पार्टी नेतृत्व कसले कब्जा गर्ने भन्ने होडवाजी सुरु भएको छ । एकातिर महामन्त्री गगन थापा जेनजी पुस्ताको फाइदा लिन दौडधुप गरिरहेका छन् भने अर्कातिर नेता कृष्णप्रसाद सिटौला आफू सभापति बन्ने खेलोफड्कोमा लागेका छन् । गुट उपगुटले पार्टी कमजोर हुँदा यस्तो अवस्था सिर्जना हुँदासमेत नेताहरुमा चेतना आएको छैन ।
