काठमाडौं । नेपाल शिक्षक महासङ्घले फागुन २४ गतेदेखि अर्को चरणको आन्दोलन गर्ने भएको छ ।
फागुन २० गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको महासङ्घले २४ गते देशभरका शिक्षकहरूलाई काठमाडौंमा उतार्ने भएको छ । नेपाल शिक्षक महासङ्घसँगले विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी अग्रगामी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आन्दोलन गर्न लागेको जानकारी दिएको हो । महासङ्घले ७७ वटै जिल्लाहरूबाट ३६ हजार एक सय जना शिक्षकहरूलाई माइतीघर मण्डलामा उतार्न लागेको हो ।
आन्दोलनमा सहभागी हुनका लागि विभिन्न समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘क’ अन्तर्गत रहेका जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरबाट सबै शिक्षक कर्मचारीलाई आन्दोलनमा सहभागी हुन भनिएको छ । तीन जिल्लाबाट सात हजार पाँच सय शिक्षक आन्दोलनमा सहभागी हुने महासङ्घले जनाएको छ ।
त्यस्तै समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार चार सय, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार नौ सय, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार आठ हजार सात सय र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट पाँच सय शिक्षकहरूलाई आन्दोलनमा उतार्ने भएको छ ।