मुख्यसचिव बन्न शर्मा र कर्णसँगै अन्य सचिवहरुको लर्को

राजनीति समाचार

काठमाडौं । संघीय निजमती ऐन लागु नहुँदा निजामती कर्मचारीहरुलाई सरुवा, बढुवामा अप्ठ्यारो परिराखेको छ भने भावी मुख्यसचिव को बन्ला भन्ने पिरलो पनि त्यत्तिकै छ । हालका मुख्यसचिव एकनारायण अर्यालको गतिविधि देखेर पनि कर्मचारीहरु रुष्ट बनेका छन् । मुख्यसचिवकै कारण न त संघीय निजामती ऐन जारी भयो, न त गुलिङ पिरियड नै लागु भयो ।

बरु उल्टै मुख्यसचिव अर्यालले आफ्नी छोरीलाई बिनाप्रतिस्पर्धा चोर बाटो प्रयोग गरी नेपाल वायुसेवा निगममा जागिर खुवाएको, संघीय निजामती ऐन लागु गर्न नसकेको, कुलिङ पिरियड लागु नगरेको, रवि छामिछानेलाई जेलबाट निकाको र दुई जना सहयोगी महिनालाई मालदार अड्डामा राखेको आरोप खेप्दै आएका छन् । त्यसले गर्दा निजामती क्षेत्रका अभिभावक अर्याल बद्नाम भएका छन् । बद्नाम मुख्यसचिवको बिल्ला भिरे तापनि अर्यालको जागिरे अवधि आगामी मंसिर ९ गते समाप्त हुँदै छ ।

अर्यालको जागिरे अवधि सकिन लाग्दा भावी मुख्यसचिव सचिव बन्नेहरुको लागि लर्को त्यत्तिकै लागिरहेको छ । तर, जेनजी पुस्ताको आन्दोलनको बलमा बनेको चुनावी सरकारले कसलाई मुख्यसचिव बनाउने हो त्यो अहिलेसम्म निश्चित भइसकेको छैन । मुख्यसचिव बन्ने मुख्य रेसमा गोकर्णमणि दुवाडी र पुष्करहरि कर्ण रहेका छन् । दुवाडी मुख्यसचिव बन्ने रेसमा रहे तापनि उनको जागिरे अवधि अर्यालसँगै सकिने भएको छ । त्योसँगै दुवाडीलाई जेनजी पुस्ताको आन्दोलनमा दमन गरेको आरोपमा विदेश जानसमेत बन्देज गरिएको छ ।

त्यसले गर्दा दुवाडी मुख्यसचिवको रेसबाट बाहिरिइसकेका छन् । दुवाडीको सम्भावना क्षण भएपछि २९ औं मुख्यसचिवमा पुष्करहरि कर्ण र सुमन शर्माको प्रतिस्पर्धा हुने देखिन्छ । तर, जेष्ठताको आधारमा सुमन शर्मा अगाडि छन् । शर्माको जागिरे अवधि आगामी फागुनसम्म मात्र रहेको छ । उता, पुष्करहरि कर्णको जागिरे अवधि २०८३ असार २४ गतेसम्म रहेको छ ।

अन्य सचिवहरु पनि मुख्य सचिव बन्न खोजिरहेका छन् । तर, यो चुनावी सरकार भएको कारण अन्य सचिवहरुले त्यति बल गरेको पाइँदैन । किन कि कतिपय सचिवहरुले त आफ्नो संगठनको कारण मुख्यसचिव बन्नको लागि खुलेर आएका छैनन् । अब बन्ने मुख्यसचिवले संघीय निर्वाचन गर्ने अभिभारा बेहोर्नुपर्ने छ । चुनावको जस, अपजसको भारी बोक्नुपर्ने भएकाले पनि अन्य सचिवहरु यो सरकारको मुख्यसचिव बन्न चाहेको देखिँदैन । त्यसले गर्दा पनि मुख्यसचिव को बन्छ भन्ने निश्चित भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *