काठमाडांै । तत्कालीन कांग्रेस र एमाले सरकारको पालामा संघीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी ऐन संसद्मा दर्ता भएर अलपत्र परेको थियो । यस्ता ऐनहरु अलपत्र परेपछि कर्मचारीहरु बिचल्लीमा परेका छन् । त्योसँगै राजनीतिक दलहरु टुटफुट भएपछि दलनिकट कर्मचारी संगठनहरु पनि टुटफुटमा पुगेका छन् । कर्मचारी संगठनहरु टुटफुटमा मात्रै पुगेका छैनन् संगठनभित्रै गुटउपगुट खडा भएका छन्।
एकीकृत समाजवादी पार्टी गठन भएपछि सो पार्टी निकट एकीकृत सहकारी कर्मचारी संगठन गठन भएको थियो । त्यो संगठन गठन भए तापनि बीचैमा फुटेर टुक्राटुक्रा भएको थियो । फेरि एकीकृत समाजवादी पार्टी माओवादी केन्द्रसँगै ८ वटा दल मिलेर छुट्टै पार्टी र चुनाव चिन्ह दर्ता हुने भएपछि ती दल निकट कर्मचारी संगठनहरु छिन्नभिन्न हुने भएका छन् ।
आठवटा दल मिलेर बन्ने नयाँ पार्टी दर्ता भएपछि कर्मचारी संगठन पनि नयाँ बन्ने देखिन्छ । तर, नयाँ बन्न सो दलमा कर्मचारीहरु कति सहभागी हुन्छन् त्यो निश्चित भएको छैन । तत्कालीन माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रहेका थिए अमरदत्त भट्ट । भट्टले राष्ट्रिय कर्मचारी संगठनलाई चलाएमान बनाउननसकेको आरोप खेप्दै आएका थिए । राष्ट्रिय कर्मचारी संगठनको कार्यालय पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनी गरेर ध्वस्त पारिएको छ ।
उता, एकीकृत समाजवादी निकट सहकारी कर्मचारी संगठन भवन विभागभित्र रहेको थियो । सो कार्यालय पनि जलेर नष्ट भएको छ । सहकारी कर्मचारी संगठन फुटेर टुक्राटुक्रा भएपछि त्यसको आधिकारिक अध्यक्ष को भन्ने एकिन छैन । अब झन् माधव नेपाल र झलनाथ छुट्टाछुट्टै कित्तामा गएपछि कर्मचारीहरु पनि छिन्नभिन्न हुने नै भए । झलनाथको संरक्षकत्वमा घनश्याम भुसालले एकीकृत समाजवादीलाई पुनर्गठन गर्ने भनिएको छ तर त्यो निश्चित भइसकेको छैन । पार्टी फुटेपछि कर्मचारीको फुटसँगै पत्रकार, वकिल, प्राध्यापक, बुद्धिजीवी, चिकित्सकलगायत शुभेच्छुक र भ्रातृ संगठनहरु पनि फुटको संघारमा पुगेका छन् ।
अर्कोतिर माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड मिल्ने भएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रक्रिया तत्काल नरोके माओवादीबाट अलग भएर नयाँ पार्टी गठन गर्ने चेतावनीसमेत दिएका छन् । त्यसले गर्दा एकीकृत सामाजवादी मात्रै फुटको छैन कि माओवादी केन्द्रसमेत फुट्ने संकेत देखिएको छ । त्यसले गर्दा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन र जनवर्गीय संगठनहरु पनि फुटको शिकार हुने भएका छन् ।
