काठमाडौं । जेनजी आन्दोलनपछि दलनिकट कर्मचारी संगठनहरु राम्रोसँग चलायमान हुन सकेका छैनन् । कतिपय कर्मचारीहरु जेनजी सरकारसँग काम गर्न पनि हिचकिचाइरहेका छन् । १७ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले त आफ्नो दल निकट कर्मचारीहरुको एकता पनि गर्न सकेको छैन । १७ दल मिलेर बनेको कम्युनिस्ट पार्टीमा नेताहरुको मुख १७ तिर फर्किएको छ ।
त्यसले गर्दा नेपाली कम्युनिस्ट पार्टी एक ढिक्का भएर अगाडि बढ्ने देखिँदैन । कर्मचारी मात्रै नभएर विभिन्न जनवर्गीय संगठनहरु पनि निर्माण गर्न सकेको छैन । १७ जना नेता खादा र माला लगाएर हिँडिरहेका छन् । त्योसँगै नेपाली कम्युनिस्ट पार्टीले महाधिवेशन कहिले गर्छ भन्ने कुरा पनि सार्वजनिक गर्न सकेको छैन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले १६ जना नेतालाई अगाडिपछाडि लगाउने र भाषण गर्ने भन्दा अन्य काम नेपाली कम्युनिस्ट पार्टीभित्र हुन सकेको छैन ।
नेपाली कम्युनिस्ट पार्टीले समाजवादी प्रेस पनि मजबुद बनाउन सकेको छैन भने विद्यार्थी, युवा, जनसम्पर्क मञ्च, प्रध्यापक, वकिल बुद्धिजीवी र उद्योगीहरुको संगठन पनि बनाउन नसकेको अवस्था छ । तर, नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले हामी एक ढिक्का भएर अगाडि बढिरहेका छौं, आगामी फागुन २१ गते हुने निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउँछौं भन्न पनि छोडेको छैन । अर्कोतर्फ जेनजी आन्दोलनलाई लक्षित गर्दै चुनावी अफर पनि गरिरहेको छ । प्रतिनिधि सभाको निर्वाचनमा युवा पुस्तालाई समेट्ने भन्दै भेला र सम्मलेन गर्दै संयोजक प्रचण्ड देश दौडाहामा हिँडिरहेका छन् ।
देश दौडाहमा हिँडे तापनि आफूसँगका १६ जना नेतालाई कहाँ व्यवस्थापन गर्ने भन्ने कुरा अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । एकातिर यो अवस्था छ भने अर्कोतिर महंगी, भ्रष्टाचार र विकृतिहरु बढिरहेका छन् । तर, नेपाली कम्युनिस्ट पार्टी भने त्यस्ता विषयमा ध्यान नदिएर संगठन विस्तारको नाममा देश दौडाहा गरेर दिन कटाइरहेको छ । नेपाली कम्युनिस्ट पार्टीमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावलजस्ता चर्चित नेताहरुलाई कुन स्थान दिने र कहाँ व्यवस्थापन गर्ने भन्ने विषय पनि जटिल बन्दै गएको छ । त्यसले गर्दा नेपाली कम्युनिस्ट पार्टीमा समस्याका चाङहरु झन् बढ्दै गएका छन् । त्योसँगै नेपाली कम्युनिस्ट पार्टीभित्र चुनाव जित्न चिश्चित भएको १ जना नेता देखिँदैन । सबै नेताहरु सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा देखिन्छन् ।

