काठमाडौं । नेपालमा च्याउँसरी खोलिएका सेक्युरिटि गार्ड कम्पनीहरुले विगत लामोसमयदेखि मजदुरहरु ठग्दै आएका छन् । सरकारी कार्यालयदेखि गैह्रसरकारी संघ–संस्थामा सुरक्षा गार्ड राख्ने परम्परा पछिल्लो समय ह्वात्तै बढेको छ । सुरक्षा गार्ड अधिकांश गैह्रसरकारी संघसंस्थादेखि प्राइभेट बैंक, खानेपानी, आयल निगम, साल्ट ट्रेडिङ, सरकारी बैंक, प्राइभेट बैंकहरु हुदैँ राष्ट्र बैंकमा समेत सेक्युरिटि गार्ड राख्ने गरिन्छ । सो सेक्युरिटि गार्ड राख्नको लागि सेक्युरिटि कम्पनीहरुले विभिन्न संघ संस्थामा टेण्डर हाल्ने गर्दछन् । जुन कम्पनीले सस्तोमा टेण्डर दिन सक्छ उनै सेक्युरिटि कम्पनीलाई विभिन्न संघ संस्थाले गार्ड राख्नको लागि स्वीकृति दिइन्छ ।
तर सो सेक्युरिटि गार्ड कम्पनीका सञ्चालक, विभिन्न संघसंस्थाका प्रमुख, लेखा समूहका कर्मचारी र कर्मचारी प्रशासन प्रमुखको मिलेमत्तोमा सेक्युरिटि कम्पनीहरुले उक्त कम्पनीमा सुरक्षा गार्ड खटाउने गर्दछन् । तर सुरक्षा गार्डले पाउने सेवासुविधा न्युन रहेको छ भने कम्पनीहरुले बढि कमिशन लिने गर्दछन् । मजदुरहरुले ८ घण्टा काम गरेबापत महिनाको १५ देखि १८ हजार पाउने गरेका छन् भने सेक्युरिटि कम्पनीका सञ्चालकहरुले एउटा सुरक्षा गार्ड बराबर २५ देखि ३० हजारको दरले माथि उल्लेख गरेका संघ संस्थाबाट असुली गरेर मजदुर मारिरहँदा पनि सम्बन्धित निकाय र मजदुरका नेताहरु गुमनाम बनेर बसेका छन् ।
त्यसको उदाहरण लिन सकिन्छ, राष्ट्रिय वाणिज्य बैंकलाई । राष्ट्रिय वाणिज्य बैंकमा जीफोर सेक्युरिटिका पुराना सेक्युरिटि गार्डलाई हटाएर गोरुड सर्भिस पाइभेट लिमिटेड कम्पनीलाई छनोट गरी नयाँ सुरक्षा गार्ड राखिएको छ । त्यो राख्नुको मतलब बैंकका उच्च तहका कर्मचारी र गरुड कम्पनी सञ्चालकबीच ठुलो रकमको सेटिङ भएको पाइन्छ । सेक्युरिटि गाडी कम्पनीहरुबीच एकता नहुँदा कसले कसलाई सिध्याउने भन्ने द्वन्द्व चलिरहेको छ । अहिले धेरैजसो चलेको सेक्युरिटि कम्पनीमध्ये ग्रुप फोर, गरुड कम्पनी, स्कार्ड, कम्पास लगायतको कम्पनी चर्चामा रहेतापनि अन्य कम्पनीहरु गुमनाम जस्तै बन्न पुगेका छन् । कतिपय सेक्युरिटि कम्पनीहरुले सस्तो दरमा टेण्डर हाल्ने र सुरक्षा गार्ड परिचालन गर्नाले सुरक्षा गार्डहरुले समयमा पैसा नपाएको र मजदुरलाई ठगी गर्दै आएको एक पिडित सुरक्षा गार्डले तामाकोशी सन्देशलाई बताएको छ ।
सुरक्षा गार्ड कम्पनीमा जागिर खाने कर्मचारीहरु प्रायजसो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तल्लो ओहोदाका भुपु कर्मचारी सुरक्षा गार्डमा खटिने गर्दछन् भने सबैभन्दा बढि उच्च ओहोदाका भुपु सुरक्षाकर्मीहरु ठुला ठुला कम्पनीहरुमा जागिर खान गरेका छन् । स–साना दर्जाका कर्मचारीहरु बैंक र फाइनान्सहरुमा सुरक्षा गार्डको जागिर खाने गरेको पाइन्छ । तर तीनै सेक्युरिटि गार्ड कम्पनीका सञ्चालक र संघसंस्थाका प्रमुखरुको मिलेमत्तोमा राज्यको ठुलो धनराशि खर्च हुने गरेको छ भने मजदुरहरु मारमा पर्ने गरेका छन् । तर राज्यको सम्बन्धित निकायले त्यसको छानबिन गर्न सकेको छैन ।

