निर्वाचनको मौकामा कमाउधन्दा फस्टाउँदै

राजनीति समाचार

काठमाडौं । निर्वाचन नजिकिएसँगै जेनजी सरकारको दिनगन्ती सुरु भएको छ । जागिरबाट बाहिरिने दिनगन्ती सुरु भएपछि बहालवाला मन्त्रीहरुले आफ्ना सहयोगी र आसेपासेमार्फत उठ्ती धन्दा सुरु गरेका छन् । उच्चपदस्थ कर्मचारीदेखि विभिन्न संघ, संस्थान र आयोजना प्रमुखहरुसँग पनि निर्वाचन सहयोगको नाममा कमाउ धन्दा सञ्चालन गर्न थालेका छन् । उद्योगमन्त्री अनिल कुमार सिन्हाले व्यापारीहरुसँग मिलेमतो गरी उठ्ती धन्दा चलाएको बताइन्छ भने भौतिक मन्त्री माधव चौलागाईँले भौतिकका कर्मचारी प्रयोग गरेर लाभ लिइरहेका छन् । उता, श्रममन्त्री राजेन्द्र सिंह भण्डारीले म्यानपावर कम्पनीहरुसँग चुनावी खर्चको नाममा ४ करोडभन्दा बढी असुली गरेको आरोप खेपिरहेका छन् ।

त्यस्तै प्रधानमन्त्री शुशिला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठको नेतृत्वमा चुनावी सहयोगको नाममा उठ्ती धन्दा चलाएको स्रोतले बताएको छ । उद्योगी, व्यापारीहुँदै विभिन्न विकासे अड्डाका आयोजना र योजना प्रमुखहरुसँग पनि श्रेष्ठकै निर्देशनमा उठ्ती धन्दा फस्टाएको छ । भ्रष्टाचारीलाई कारबाही गर्ने र मुलुकमा सुशासन कायम गर्ने नाममा बनेको जेनजी सरकार नै उठ्ती धन्दामा लागेपछि सर्वसाधारणमा ‘जुन जोगी आएपनि कानै चिरेको’ भन्ने भनाइ चरितार्थ भएको कर्मचारी स्रोतले बताएको छ । फागुन २१ गतेको निर्वाचनपछि पनि यही चरित्रको सरकार बन्यो भने जनताले सुशासन नभई सास्ती पाउने बताइन्छ । देश चुनावमय भएको मौका छोपी केही उच्च पदस्थ कर्मचारी र मन्त्रीका सहयोगीहरु उठ्ती धन्दामा व्यस्त हुन थालेका छन् ।

अर्कोतिर व्यापारीहरु पनि मन्त्री, कर्मचारी र सुरक्षा निकाय निर्वाचनतिर केन्द्रित भएको मौका छोपी भन्सार छली गरी अवैध सामान भित्र्याउन लागिपरेका छन् । बजारमा अखाद्य वस्तु मिसावट गरिएका खाद्यान्न छ्याप्छ्यापती छन् । सरकार र सम्बन्धित निकाय निकम्मा हुँदै गएपछि कालाबजारिया र विचौलियाले कृतिम अभाव सिर्जना गरेर मूल्य वृद्धि गराइरहेका छन् । उपभोक्ताहरु खाना पकाउने ग्याँसं, खाने तेल, दाल चामल, मासु, अण्डा र दूधजन्य पद्धार्थमा कृतिम अभाव सिर्जना गरेर भएको मूल्य वृद्धिको मारमा परिरहेका छन् । सरकारका मन्त्री र सम्बन्धित निकायका प्रनिधिहरु आफ्नो जागिर अवधि छोटिँदै गएकाले उठ्तीपुस्तीमा न्वारनदेखिको बल निकालेर लागिपरेका छन् ।

कर्मचारी, सुरक्षा निकाय र निर्वाचन आयोग भने परिणाम जस्तैसुकै आओस्, देश रहोस् नरहोस् जसरी हुन्छ निर्वाचन सम्पन्न गरेर सेवा, सुविधा र भत्ता पचाउने ध्याउन्नामा व्यस्त छन् । उम्मेदवारहरु पनि निर्वाचनको नाममा सहयोगको बटुल्ने काम गरिरहेका छन् । त्यसकारण उम्मेदवारहरु पनि चुनाव जितिहाले पद र पैसा दुवै यदि निर्वाचन नजितेको खण्डमा पनि पैसा कमाइ हुनेमा ढुक्क छन् । तर, निर्वाचनको नाममा हुने राज्यको फजुल खर्चकै कारण सर्वसाधारणले महंगीको मार खेपिरहनुपरेको छ । व्यापारीहरुले सरकार र नेतालाई सहयोग दिएको पैसाको सोधभर्ना गर्न वस्तु तथा सेवामा मूल्य वृद्धि गरी जनताको ढाड सेक्ने काम गरिरहेका छन् ।

निर्वाचन नजिकिएसँगै अण्डा, मासु, चामल र खाना पकाउने ग्यासमा कृति अभावको हल्ला फिजाएर भित्रभित्रै मूल्य बृद्धि गरिरहेका छन् । त्यसले गर्दा नेपालमा जुनसुकै व्यवस्था, दल, वादी र समूहको सरकार बने तापनि नैतिकता, पारदर्शीता र भ्रष्टाचाररहित सुशासन भन्ने शब्द लेख्न र बोल्न मात्र प्रयोग भएका छन् । व्यवहारमा त्यसको पाइँदैन । त्यसले गर्दा ‘पशुपतिनाथले हामी सम्पूर्णको कल्याण गरुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *