सरकारको ध्यान यस्ता विषयमा जाला ?

राजनीति समाचार

सम्पादकीय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाईको सरकारले बजार अनुगमन गरेर सर्वसाधारण जनतालाई राहत दिनुपर्नेमा त्यो गर्न सकेको छैन । बजारमा अखाद्य वस्तु मिसावटदेखि मूल्य वृद्धिले उपभोक्ताको ढाड सेकेको छ । किसानहरुले तरकारी र फलफूलमा किटनासक औषधि प्रयोग गरिरहेका छन् ।

उपभोक्ताहरुले पनि तीनै विषाधियुक्त फलफूल र तरकारी खान वाध्य भएका छन् । यसरी अखाद्य वस्तु मिसावट गरिएका खाद्यान्नहरुको सेवनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । सरकारले खाद्यान्नको गुणस्तर परीक्षण पनि गर्न सकेको छैन । खाद्यान्नको गुणस्तर परीक्षण नगर्दा आमसर्वसाधारणलाई विभिन्न रोगले सताउन थालेको छ ।

व्यापारीहरुलाई फाइदा भए हुन्छ । हुँदाहुँदा पछिल्लो समय दूध, दही, मोही, घिउ र बटरजस्ता दूधजन्य वस्तुहरुमा पाउडर मिसावट गरी विक्रीवितरण हुँदै आएको छ । त्यसको पनि गुणस्तर परीक्षण गर्न सरकारले सकेको छै्रन । दूध डेरीहरुमा फोहोर र झिंगा भन्किइरहँदा पनि वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले त्यसको अनुगमन गरी कारबाही गरेको पाइँदैन ।

अधिकांश ठाउँमा खोलिएका मासु पसलहरुमा पनि फोहोर र दूर्गन्ध त्यत्तिकै फैलिएको पाइन्छ । त्यसैगरी आमउपभोक्ताले रुचाउने म.म. बनाउने मासु गुणस्तरहीन हुने गरेको पाइन्छ । म.म.को किमा बनाउन सडेगडेको मासु र स्वास्थ्यको लागि हानीकारक अजिनोमोटो प्रयोग गरिन्छ । उता होटेल, रेष्टुरेन्टहरुमा पनि सरकारले अनुगमन गर्न सकेको छैन । त्यसले गर्दा आम उपभोक्ताहरु अखाद्य वस्तु खान वाध्य भएका छन् । यस्ता कुरालाई ध्यान दिन नसक्दा सरकार दिनप्रतिदिन आलोचित बन्दै गएको छ ।

अर्कोतर्फ गुणस्तरहीन मदिरा विक्रीवितरण बढिरहेको छ । मदिरामा पनि विभिन्न ब्राण्डको लोगो प्रयोग गरेर गुणस्तरहीन मदिरा विक्रीवितरण भइरहेको छ । त्योसँगै मूल्य पनि चर्को राएिको पाइन्छ । पसलैपिच्छे मदिराको मूल्य पनि फरक–फरक हुँदा उपभोक्ताहरु ठगिइरहेका छन् । खाद्यान्नसँगै लत्ताकपडालगायत सम्पूर्ण सामानको मूल्य अत्याधिक बढाइएको छ । सरकारले बजार अनुगमन गरेर मूल्य सूची राख्ने हल्ला चलाए तापनि व्यवहारमा लागु गर्न सकेको छैन ।

त्यसैगरी निजी र सरकारी स्कूल, कलेजमा सरकारले तोकेअनुसारको भर्ना र मासिक शूल्क लिने भनिए तापनि आफूखुसी निजी स्कूल र कलेजहरुले महंगो शुल्क असुलिरहेका छन् । एसईईको रिजल्ट प्रकाशित भएसँगै निजी कलेजहरुले कक्षा ११ को भर्ना अभियान थाल्दैछन् । सरकारले भर्ना शुल्क नलिने भनिरहँदा कक्षा ११ को भर्नाको लागि त्यो नियम लागु हुन्छ कि हुँदैन एकिन भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *