राससको समाचारले जनता कति सुसूचित हुने ?

राजनीति समाचार

काठमाडौं । सरकारले निजी मिडियालाई सरकारी विज्ञापनबाट बञ्चित गरेर आर्थिक रुपमा पार्दै लगेको छ । सरकारी विज्ञापन सरकारी मिडिया गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मात्रै थोपरेर सर्वसाधारण जनतालाई सूचनाबाट बञ्चित गराउने काम गरेको छ । किन कि सरकारी सञ्चारमाध्यमहरु निजीको तुलनामा समाचार सम्प्रेषण, प्रकाशन र प्रशारणमा ढिलासुस्ती हुने गर्दछन् ।

जसले गर्दा सर्वसाधारण समयमा सूचना पाउनबाट बञ्चित हुने गरेका छन् । केन्द्री, प्रादेशिक र स्थानीय तहमा सञ्चालित निजी मिडियाहरुले सरकारी सञ्चार माध्यमले भन्दा छिटो सूचना उपलब्ध गराउँछन् । त्यस्ता मिडियामा सरकारी विज्ञापन र सन्देशमुलक सूचना दिएको खण्डमा सर्वसाधारणले सूचनाबाट सुसूचित हुने अवसर पाउने थिए । तर सरकारले त्यसबाट बञ्चित गर्दै लगेको छ ।

एकातिर सरकारी सूचनामूलक विज्ञापन नदिएर आर्थिक संकटमा पारिरहेको छ भने अर्कोतिर सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस)ले निजी पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमलाई समाचार बेचेर रकम असुलीरहेको छ । राससले समाचार संकलन गर्दा पनि धेरै मिडियामा समाचार प्रकाशित हुने भन्दै एनजीओ, आईएनजीओ र निजी क्षेत्रबाट पैसा लिने गरेको हुन्छ । राससले देशैभरी सञ्चालन हुने विभिन्न कार्यक्रमका ‘प्रिपेड’ समाचारहरु संकलन गरेर बेचिरहेको छ । हरेक दिन आउने अधिकांश समाचारहरुमा कुनै पनि व्यक्ति, संस्था र व्यवसायको उत्पादन, विक्रीवितरण र गुणस्तरको प्रमोसन गरिएका हुन्छन् ।

त्यसबाहेक राससले उत्पादन गरेका अधिकांश समाचारहरु सरकारको गुनगाउन गाउने र वास्तविकता लुकाउने खालका हुन्छन् । सरकारी क्षेत्रमा हुने गरेका भ्रष्टाचार, विकृति, विसंगतिविरुद्ध खोजी पत्रकारिता गरिएको पाइँदैन । पत्रकारिता पेशा सधैं राज्यको प्रतिपक्ष अथावा ‘वाच गड’को भूमिकामा हुनुपर्छ । तर, सरकारी स्वामित्वमा रहेको राससले त्यो हैसियत राख्दैन । सरकारको गुनगान गाउने संस्थाले संकलन गरेको समाचार निजी मिडियालाई बेचेर उल्टै पैसा असुलीरहेको छ । निजी मिडियाहरुले पनि राससको समाचार प्रकाशित, प्रशारित गरेर सर्वसाधारणमा भ्रम छरिरहेका छन् ।

पहिला निजी छापामाध्यमहरुले राससको समाचार किनेर प्रकाशित गरेको पाइँदैन । अझ साप्ताहिक, मासिक, द्वयमासिक र त्रैमासिक पत्रिकाहरुले त कुनै विषयमा खोजमुलक लेख, रचना, समाचार मात्रै प्रकाशित गर्ने गरेका थिए । तत्कालीन अवस्थामा प्रकाशित हुने मासिक पत्रपत्रिका विद्यार्थीहरुको रोजाइमा पर्ने गर्दथे । त्यतिबेला साप्ताहिक पत्रिकामा आएको एउटा खोजमूलक समाचारले सत्ता हलचल गराउने तागत राख्थ्यो ।

पछिल्लो समय डिजिटल मिडियाको विगविगी भएपछि खासगरी अनलाइनहरुले राससको समाचार किनेर साइड चलाउने गरेका छन् । त्योसँगै निजी रेडियो, टेलिभिजन र दैनिक पत्रपत्रिकाहरु पनि आर्थिक अभावका कारण जनशक्ति र साधनस्रोत नहुँदा राससबाट समाचार किनेर मिडिया सञ्चालन गर्न वाध्य भएका छन् । समाचार एजेन्सीबाट खरिद गरिएका एकैखाले समाचार प्रकाशित हुँदा मिडियाहरु दर्श, स्रोत र पाठकको रुचिबाट टाढा हुँदै गएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *