प्रदेश सरकारमा दलहरुको लुछाचुँडी

राजनीति समाचार

संघको रोग प्रदेश सरकारमा सर्दै
काठमाडौं । नेपालको संविधान २०७२ जारी भएपछि तीन तहको सरकार बनेको छ । २०७४ सालको स्थानीय, प्रदेश र संघ गरी तीन तहको निर्वाचन सम्पन्न भएपछि नेपालमा तीन तहको सरकार बनेको हो । तीन तहको सरकार बनेपछि अन्यको तुलनामा स्थानीय तहले सर्वसाधारणलाई केही राहत दिएको छ । मुलुकमा तीन तहको सरकार बनेको १० वर्षमा स्थानीय तहले निकै प्रगति गरेको छ । कार्यालय भवनदेखि स्वास्थ्य, शिक्षा र कृषि उत्पादनको क्षेत्रमा राम्रै काम भएको छ । तर, संघ र प्रदेशमा भने सुरुदेखि दलीय स्वार्थमा सरकार बनाउने र गिराउने खेलोफड्को हुँदै आएको थियो । तीन तहको सरकार बनेदेखि नै संघ र प्रदेशको सत्ताखिचातानीले सर्वसाधारण जनतामा निराशा छाउँदै आएको थियो । त्योसँगै भ्रष्टाचार, विकृति, विसंगति र नेताहरुबीच परिवाद हावी हुँदा जनतामा आक्रोश बढ्दै गएको थियो । त्यसकै परिणाम स्वरुप गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भएको थियो ।

जेनजी आन्दोलनका कारण संघको कांग्रेस र एमाले गठबन्धन सरकार ढल्न पुग्यो । एमाले–कांग्रेस गठबन्धनको संघीय सरकार ढले तापनि प्रदेशमा भने सहकार्य जारी थियो । तर, अहिले आएर कांग्रेसले एक्कासी एमालेसँगको सत्ता सहकार्य टुटाएपछि प्रदेशमा एमाले, नेकपा र अन्य दलहरुको सहमतिमा सरकार बन्दैछन् । बागमती, कोशी र लुम्बिनी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ भने कर्णाली र सुदूरपश्चिममा नेकपाको नेतृत्वमा सरकार भन्ने प्रयास भइरहेको छ । अन्य दुईवटा प्रदेशमा कुन–कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने एकिन भएको छैन । पाँचवटा प्रदेशमा एमाले र नेकपाको सत्ता भागबन्डा ओली र प्रचण्डले लगाएपछि नकपाका सह–संयोजक माधव नेपाल भने असन्तुष्ट बन्न पुगेका छन् । मुलुकमा तीन तहको सरकार बने तापनि कुनै दलले स्पष्ट बहुमत ल्याउन नसक्दा संघ र प्रदेशमा सधैं सत्तासंघर्ष हुँदै आएको थियो । २०७९ सालको निर्वाचनमा पनि स्पस्ट बहुमत कुनै दलले ल्याउन नसक्दा संघ र प्रदेशमा सरकार फेरबदलको खेलोफड्को भइरहेको छ । स्थानीय र प्रदेशको निर्वाचन आउन ८ महिना मात्र बाँकी छँदा फेरि प्रदेशमा नयाँ सरकार बनाउने होडवाजी चलिरहेको छ ।

पुराना दलहरुले अझै पनि पहिलोको दलीय भागबन्डाको संस्कृतिलाई यथावत् राख्दै सरकारमा जाँदैछन् । त्यसले कति सफलता पाउँछ त्यो भविष्यले बताउने छ । तर, भागबन्डाकै कारण संघीय सरकारमा भ्रष्टाचारको शृंखला बढेसँगै गत भदौ २३ र २४ को जेनजी आन्दोलनले तत्कालीन संघीय सरकार ढल्न पुगेको थियो । जेनजी आन्दोलनको मुख्य कारणमध्ये एउटा संघ र प्रदेश सरकार पटक–पटक फेरबदल भइरहनु थियो । अर्को कारण महंगी, भ्रष्टाचार र अस्थिरता थियो । त्यही निहुँमा गत भदौ २३ र २४ को जेनजी जन्माएको थियो । जेनजी आन्दोलनले २४ घण्टामै संघीय सरकार ढालिदिएको थियो । तत्कालीन संघीय सरकारको रोग अब प्रदेश सरकारतिर सर्दै छ । प्रदेश सरकार दलीय भागबन्डामा बनाउने र भत्काउने खेल झागिँदै गएको छ । त्योसँगै भ्रष्टाचार, विकृति, विसंगती र अस्थिरता बढिरहेको छ । भ्रष्टाचार, राजनीतिक अस्थिरता र विकृतिको निहुँमा जेनजी आन्दोलनले संघीय सरकारको उठिवास लगाएको वर्ष दिन नपुग्दै फेरि प्रदेश सरकार बनाउने र ढाल्ने खेल सुरु भएको छ । २०८४ को स्थानीय र प्रदेश निर्वाचन आउन ८ महिना हाराहारी बाँकी हुँदा प्रदेशमा नयाँ सरकार बनाउने खेलले राजनीतिक स्थायित्व नहुने देखिन्छ । प्रदेशमा कांग्रेसले सत्ता सहकार्य तोड्नेबित्तिकै एमाले, नेकपा र अन्य दलहरुको सत्ता लुछाचुँडी हुन थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *