ऋतुसिंह वैद्यको प्रभावशाली योगदान
नेपालमा दिगो, सुरक्षित र वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि विद्युतीय सवारीसाधन (ईभी) को विस्तार अपरिहार्य आवश्यकता बनिरहेको छ । यही परिवर्तनलाई संस्थागत रूपमा अघि बढाउने नेतृत्वमध्ये नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्य एक परिचित र प्रभावशाली व्यक्तित्व हुन् । निजी क्षेत्रको नेतृत्वमार्फत उनले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक, हरित र प्रविधिमैत्री दिशातर्फ उन्मुख गराउन उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकी छन् ।
ऋतुसिंह वैद्य नेपालको प्रतिष्ठित व्यावसायिक परिवारसँग आबद्ध उद्यमी हुन् । अटोमोबाइल व्यवसाय, व्यवस्थापन तथा संस्थागत नेतृत्वमा उनको लामो अनुभव रहेको छ । व्यावसायिक दक्षता, दूरदर्शी सोच र नीतिगत संवादमा सक्रिय सहभागिताका कारण उनी नेपालको अटोमोबाइल उद्योगमा सम्मानित नेतृत्वका रूपमा स्थापित भएकी छन् । हाल नाइमाको अध्यक्षका रूपमा उनले अटोमोबाइल आयातकर्ता, उत्पादक तथा सरोकारवालाबीच सहकार्यको वातावरण निर्माण गर्दै उद्योगको दिगो विकासका लागि नेतृत्व गरिरहेकी छन् ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न सरकार, निजी क्षेत्र र उपभोक्ताबीच समन्वय आवश्यक रहेको सन्देश उनले निरन्तर दिँदै आएकी छन् । नेपालमा जलविद्युत् उत्पादनको बढ्दो सम्भावना, जीवाश्म इन्धनमा निर्भरता घटाउने आवश्यकता र वायु प्रदूषण न्यूनीकरणको लक्ष्यलाई मध्यनजर गर्दै उनले विद्युतीय सवारीसाधनलाई राष्ट्रको दीर्घकालीन आर्थिक तथा वातावरणीय हितसँग जोडेर व्याख्या गर्दै आएकी छन् ।
उनको नेतृत्वमा नाइमाले विद्युतीय सवारीसाधनसम्बन्धी जनचेतना अभिवृद्धि, नीतिगत सुधारका लागि संवाद तथा उद्योगमैत्री वातावरण निर्माणमा सक्रिय भूमिका खेलेको छ । विद्युतीय सवारीसाधनमा लगानी आकर्षित गर्ने, चार्जिङ पूर्वाधार विस्तारका लागि नीतिगत सहजीकरण गर्ने तथा उपभोक्तामा ईभीप्रतिको विश्वास बढाउने विषयमा नाइमाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी प्रयासहरूले नेपालमा विद्युतीय सवारीसाधनप्रतिको सकारात्मक धारणा निर्माण गर्न महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।
ऋतुसिंह वैद्यले नेपालमा विद्युतीय सवारीसाधनको भविष्य केवल व्यापारिक अवसर नभई राष्ट्रिय समृद्धि, ऊर्जा सुरक्षा र वातावरण संरक्षणसँग प्रत्यक्ष जोडिएको विषय भएको धारणा व्यक्त गर्दै आएकी छन् । उनका अनुसार स्वदेशमै उत्पादित स्वच्छ विद्युत्को उपयोग गरेर यातायात क्षेत्रलाई विद्युतीकरण गर्न सकिएमा इन्धन आयातमा ठूलो बचत हुनुका साथै हरित अर्थतन्त्र निर्माणमा समेत टेवा पुग्नेछ । यस दृष्टिकोणले नेपाललाई कार्बन उत्सर्जन न्यूनीकरण तथा दिगो विकासका अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न पनि सहयोग पु¥याउने विश्वास उनले व्यक्त गर्दै आएकी छन् ।
उनी उद्योग र सरकारबीच प्रभावकारी संवादको सेतुका रूपमा पनि परिचित छिन् । कर नीति, भन्सार व्यवस्था, पूर्वाधार विकास, लगानीमैत्री वातावरण तथा प्रविधिमैत्री नियमनजस्ता विषयमा उनले निजी क्षेत्रको साझा धारणा सम्बन्धित निकायसम्म पु¥याउँदै समाधानमुखी पहल गर्दै आएकी छन् । नीति स्थायित्व र दीर्घकालीन योजनाले मात्र विद्युतीय सवारीसाधनको बजार अझ सुदृढ बन्न सक्ने उनको जोड रहने गरेको छ ।
विद्युतीय सवारीसाधनसम्बन्धी प्रदर्शनी, अन्तक्र्रिया , सार्वजनिक सचेतना कार्यक्रम तथा सरोकारवालाबीच सहकार्य अभिवृद्धि गर्ने अभियानमा पनि उनको नेतृत्व उल्लेखनीय रहेको छ । यस्ता कार्यक्रममार्फत नयाँ प्रविधिको जानकारी, उपभोक्ताको विश्वास अभिवृद्धि तथा उद्योगका चुनौती र सम्भावनाबारे व्यापक छलफलको वातावरण सिर्जना भएको छ । यसले नेपालमा विद्युतीय सवारीसाधनको बजार विस्तारमा सकारात्मक प्रभाव पारेको छ ।
नेपालले हरित अर्थतन्त्र र दिगो विकासको यात्रालाई तीव्रता दिइरहेका बेला ऋतुसिंह वैद्यजस्ता नेतृत्वकर्ताको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको छ । निजी क्षेत्रको सशक्त सहभागिता, प्रविधिमैत्री सोच, नीतिगत सहकार्य र वातावरणीय जिम्मेवारीलाई एकसाथ अघि बढाउने उनको प्रयासले नेपालको अटोमोबाइल क्षेत्रलाई नयाँ उचाइतर्फ डो¥याइरहेको छ ।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यको नेतृत्वले विद्युतीय सवारीसाधनको विस्तार, प्रवद्र्धन र विकासमा उल्लेखनीय ऊर्जा प्रदान गरेको छ । उनको दूरदर्शी नेतृत्व, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र दिगो विकासप्रतिको समर्पणले नेपाललाई स्वच्छ, आधुनिक र वातावरणमैत्री यातायात प्रणालीतर्फ अघि बढाउन महत्त्वपूर्ण योगदान पु¥याएको छ । आगामी दिनमा पनि उनको नेतृत्वले नेपालको विद्युतीय सवारीसाधन क्षेत्रलाई अझ सशक्त, प्रतिस्पर्धी र दिगो बनाउने अपेक्षा गर्न सकिन्छ ।
नाइमाको नेतृत्वमा विद्युतीय सवारीसाधनको नयाँ आयाम
नाइमा केवल अटो ‘शो’ होइन, नीतिगत सुधार र दिगो मोबिलिटीको अभियान
–ऋतु सिंह वैद्य, अध्यक्ष, नाइमा
नेपालको अटोमोबाइल उद्योग पछिल्ला केही वर्षयता तीव्र परिवर्तनको चरणमा छ । विद्युतीय सवारीसाधनको विस्तार, हाइब्रिड प्रविधिको बढ्दो प्रयोग, उपभोक्ताको बदलिँदो रोजाइ, सरकारी नीतिको प्रभाव र दिगो यातायात प्रणालीप्रतिको विश्वव्यापी बहसले यस क्षेत्रलाई नयाँ मोडमा पु¥याएको छ । यिनै परिवर्तनका बीच नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा मोबिलिटी एक्स्पो केवल व्यापारिक प्रदर्शनी नभई उद्योग, सरकार, विज्ञ र उपभोक्ताबीच संवादको साझा मञ्चका रूपमा स्थापित गर्ने तयारी गरेको छ । नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यका अनुसार यस वर्षको अटो शो विगतका संस्करणभन्दा अझ व्यवस्थित, अनुशासित र ज्ञानमूलक हुनेछ । एक्स्पोमा ५५ वटा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्ड सहभागी हुनेछन् भने ५२ वटा स्टलमार्फत् नयाँ प्रविधि, उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ । प्रदर्शनी अवधिभर पार्किङ व्यवस्थापनदेखि कार्यक्रम सञ्चालनसम्मलाई व्यवस्थित बनाउन विशेष तयारी गरिएको छ । पार्किङको व्यवस्था नेपाल प्रहरी क्लबमा गरिनेछ भने लर्निङ सेसनहरू पनि त्यहीँ सञ्चालन हुनेछन् ।
व्यापार भन्दामाथि नीतिगत छलफल
ऋतु सिंह वैद्यका अनुसार नाइमाको उद्देश्य गाडी बेच्ने र बिक्री बढाउनेमा मात्र सीमित छैन । संस्थाको मुख्य प्राथमिकता अटोमोबाइल क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धी र दिगो बनाउन नीतिगत सुधारका लागि पहल गर्नु हो । उहाँका अनुसार यस वर्षको एक्स्पोको सबैभन्दा महत्वपूर्ण पक्ष लर्निङ सेसन हुनेछ । उद्योगसँग सम्बन्धित नीति, कानुनी व्यवस्था, प्रविधि, पूर्वाधार, वित्तीय पहुँच, ट्राफिक व्यवस्थापन, वातावरणीय दायित्व र भविष्यका चुनौतीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूले आफ्नो अनुभव पस्कनुहुने छ । “हामी केवल व्यापार गर्ने संस्था मात्र होइनौं”, वैद्यको भनाइ छ, “उद्योगको विकास, नीति निर्माण, उपभोक्ता हित संरक्षण र दीर्घकालीन समाधान खोज्ने साझा प्लेटफर्मका रूपमा नाइमालाई स्थापित गर्ने हाम्रो लक्ष्य हो ।”
दशैं–तिहार लक्षित किनमेलको तयारी
नेपालमा दशैं–तिहारको समयलाई सवारीसाधन खरिदको मुख्य सिजन मानिन्छ । यही वास्तविकतालाई ध्यानमा राख्दै नाइमाले एउटै छानामुनि सबै प्रमुख ब्रान्डका गाडी अवलोकन र छनोट गर्ने अवसर उपलब्ध गराउन लागेको हो । एक्स्पोमा विद्युतीय, हाइब्रिड, पेट्रोल, डिजेल तथा व्यावसायिक सवारीसाधनसम्मका सबै प्रमुख ब्रान्ड सहभागी हुनेछन् । यसले ग्राहकलाई विभिन्न कम्पनीका उत्पादन एउटै स्थानमा तुलना गर्ने सुविधा मात्र होइन, बिक्रीपछिका सेवा, वित्तीय योजना र नयाँ प्रविधिबारे प्रत्यक्ष जानकारी लिने अवसर पनि दिनेछ ।
तालिम र क्षमता विकास
नाइमा व्यापारिक संस्था मात्र नभई क्षमता विकासमा पनि सक्रिय रहेको वैद्य बताउनुहुन्छ । संस्थाले वर्षभरि ट्राफिक प्रहरी, प्राविधिक जनशक्ति तथा उद्योगसँग सम्बन्धित विभिन्न निकायसँग सहकार्य गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म १६ जना प्राविधिकलाई विशेष तालिम प्रदान गरिएको छ । विद्युतीय तथा हाइब्रिड सवारीसाधनको मर्मत, सुरक्षा मापदण्ड र नयाँ प्रविधिसम्बन्धी तालिम एकपटक मात्र नभई पटक–पटक सञ्चालन गरिएको छ । यसका साथै अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय गर्दै उद्योगमैत्री नीतिका लागि नाइमाले पहल गरिरहेको छ ।
सामाजिक उत्तरदायित्वमा प्राथमिकता
ऋतु सिंह वैद्यका अनुसार नाइमाले उद्योगको हितसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान महत्व दिएको छ । गत भदौ २४ को जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी कार्यालय तथा चौकीहरूको मर्मत, फर्निचर व्यवस्थापनलगायतका कार्यमा नाइमाले सहयोग गरेको उदाहरण उहाँ प्रस्तुत गर्नुहुन्छ । यस्ता गतिविधिले निजी क्षेत्र केवल व्यवसायमा मात्रै सीमित नभई सामाजिक उत्तरदायित्वअन्तर्गत समाज र राज्यसँग सहकार्य गर्न पनि सक्षम रहेको सन्देश दिएको उहाँको भनाइ छ ।
आगामी चुनौती ः
नेपालमा विद्युतीय सवारीसाधनको संख्या तीव्र गतिमा बढिरहेको छ । तर प्रयोग भइसकेका ब्याट्रीको व्यवस्थापन अझै पनि स्पष्ट नीतिको अभावमा छ । ऋतु सिंह वैद्यका अनुसार अहिले नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा ब्याट्री रिसाइक्लिङ हो । भारतलगायतका मुलुकमा यसबारे व्यापक बहस भइरहे पनि नेपालमा अझै कुनै व्यवस्थित रिसाइक्लिङ प्रणाली स्थापना हुन सकेको छैन । भविष्यमा वातावरणीय जोखिम कम गर्न, प्रयोग भइसकेका ब्याट्रीको सुरक्षित व्यवस्थापन गर्न र अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा लागू गर्न नाइमाले विज्ञहरूसँग छलफल अघि बढाएको छ । एक्स्पोकै क्रममा भारतबाट विशेषज्ञहरू ल्याएर यस विषयमा विशेष प्राविधिक सत्र सञ्चालन गर्ने तयारी गरिएको छ ।
ग्राहकमैत्री नीति
विद्युतीय सवारीसाधनसँग सम्बन्धित विभिन्न प्रश्न र गुनासो पनि पछिल्ला दिनमा बढिरहेका छन् । विशेषगरी ब्याट्रीको क्षमता, प्रतिस्थापन, मूल्य र प्राविधिक मापदण्डका विषयमा उपभोक्तामा अन्योल देखिन्छ । वैद्यका अनुसार निर्माता कम्पनीले निर्धारण गरेको प्राविधिक मापदण्डअनुसार आवश्यक परे ब्याट्री परिवर्तन गर्न सकिने व्यवस्था छ । गाडीको मूल्य, ब्याट्रीको क्षमता, आकार तथा प्राविधिक आवश्यकताअनुसार कम्पनीहरूले उपयुक्त विकल्प उपलब्ध गराउँछन् ।
ऋतु सिंह वैद्यका अनुसार ग्राहकको मागअनुसार गुणस्तरीय सेवा उपलब्ध गराउनु प्रत्येक कम्पनीको दायित्व हो। नयाँ सवारीसाधन बिक्री भएपछि कम्पनीहरूले कम्तीमा तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा बिक्रीपछिको सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी नाइमाको सदस्य बन्न चाहने कम्पनीहरूले निश्चित मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । बिक्रीपछिको सेवा, प्राविधिक क्षमता, सञ्चालन अनुभव तथा उपभोक्ताप्रतिको उत्तरदायित्व मूल्यांकन गरेर मात्रै सदस्यता प्रदान गरिन्छ । यसले ग्राहकको विश्वास र सुरक्षालाई थप मजबुत बनाउने विश्वास नाइमाको छ ।
ट्राफिक व्यवस्थापनमा नीतिगत सुधारको खाँचो
नाइमाले यस वर्ष ट्राफिक व्यवस्थापन र सडक सुरक्षालाई पनि लर्निङ सेसनको मुख्य विषय बनाएको छ । ऋतु सिंह वैद्यका अनुसार ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्नु आवश्यक भए पनि त्यसअघि राज्यले आधारभूत पूर्वाधार सुनिश्चित गर्नुपर्छ । सडकमा स्पष्ट लेन मार्किङ, पर्याप्त पार्किङ स्थल, सडकबत्ती, संकेतचिन्ह र व्यवस्थित ट्राफिक संरचना नभएसम्म कतिपय अवस्थामा चालकलाई मात्रै दोष दिन उपयुक्त नहुने उहाँको तर्क छ ।
ऋतु सिंह भन्नुहुन्छ, “सिटबेल्ट नलगाउने, गलत पार्किङ गर्ने वा लापरबाहीपूर्वक सवारी चलाउनेलाई कारबाही हुनुपर्छ । तर पार्किङ नै छैन भने ’नो पार्किङ’ लेखेर मात्र समस्या समाधान हुँदैन ।” यसैकारण नाइमाले ट्राफिक प्रहरी, सरकार र निजी क्षेत्रबीच व्यावहारिक समाधान खोज्ने उद्देश्यले विशेष छलफल आयोजना गर्ने तयारी गरेको छ ।
व्यावसायिक र यात्रुवाहकका छुट्टाछुट्टै क्षेत्र
यस वर्षको एक्स्पोको अर्को विशेषता भनेको कमर्शियल र प्यासेन्जर सेग्मेन्टलाई छुट्टाछुट्टै प्रदर्शनी क्षेत्रमा राखिनु हो । यसले व्यावसायिक सवारी खरिद गर्न आउने व्यवसायी तथा संस्थागत ग्राहकलाई आफ्ना आवश्यकता अनुसार सबै विकल्प एउटै क्षेत्रमा अवलोकन गर्न सहज हुनेछ। यात्रुवाहक सवारीसाधन खोज्ने ग्राहकले पनि छुट्टै क्षेत्रमा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । त्योसँगै विभिन्न कम्पनीका उत्पादन प्रस्तुति, प्राविधिक छलफल, ब्रान्ड सेसन र सरकारी तथा निजी क्षेत्रबीच अन्तरक्रिया कार्यक्रमसमेत दैनिक रूपमा सञ्चालन हुनेछन् ।
आर्थिक मन्दीमा आशाको किरण
नेपालको अटोमोबाइल बजार अहिले आर्थिक सुस्तताबाट प्रभावित छ । बैंकिङ क्षेत्रमा लगानी संकुचन, उपभोक्ताको खरिद क्षमता कमजोर हुनु तथा समग्र आर्थिक गतिविधिमा आएको सुस्तताले बजारलाई चुनौतीपूर्ण बनाएको छ । तर, नाइमा अध्यक्ष ऋतु सिंह वैद्य वर्तमान परिस्थितिलाई पूर्ण निराशाको रूपमा भने लिनुहुन्न । उहाँका अनुसार नयाँ सरकार गठनसँगै निजी क्षेत्रले सकारात्मक अपेक्षा गरेको छ ।
सरकारलाई प्रारम्भिक चरणमा आधारभूत व्यवस्थापनमा समय लाग्नु स्वाभाविक भए पनि अब स्पष्ट नीति, लगानीमैत्री वातावरण र स्थिर निर्णय आवश्यक छ । उहाँको विश्वास छ, यदि आगामी ६–८ महिनाभित्र सरकारले निजी क्षेत्रलाई विश्वास दिलाउने, लगानीमा प्रोत्साहन गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने ठोस कदम चाल्न सके मुलुकको अर्थतन्त्रले पुनः गति लिन सक्छ ।
अटो ‘शो’मा सहभागिता हुन सुझाव
ऋतु सिंह वैद्यले सम्पूर्ण उपभोक्ता, उद्योग व्यवसायी, विद्यार्थी, प्राविधिक, अनुसन्धानकर्ता तथा सर्वसाधारणलाई आगामी अगस्ट ११ देखि १६ सम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो अवलोकन गर्न आग्रह गर्नुभएको छ । उहाँका अनुसार प्रदर्शनीमा ५५ वटा ब्रान्डका भने ५२ वटा स्टलमार्फत् नवीनतम सवारी साधन, आधुनिक प्रविधि, वित्तीय सेवा, बिक्रीपछिको सेवा, परीक्षण ड्राइभ, प्राविधिक छलफल तथा लर्निङ सेसनको व्यवस्था गरिएको छ । विशेषगरी लर्निङ सेसनमा प्रवेश निःशुल्क रहने भएकाले उद्योग, नीति र प्रविधिमा रुचि राख्ने सबैले सहभागी भई आफ्ना विचार र सुझाव राख्न सक्ने वातावरण सिर्जना गरिएको छ ।
उद्योगलाई दिगो दिशातर्फ लैजाने प्रयास
ऋतु सिंह वैद्यको दृष्टिमा नाइमा अब परम्परागत अटोमोबाइल प्रदर्शनी आयोजना गर्ने संस्थामा मात्र सीमित छैन । यसले नीति निर्माण, प्रविधि हस्तान्तरण, वातावरणीय दायित्व, उपभोक्ता अधिकार, क्षमता विकास, सडक सुरक्षा र दिगो मोबिलिटीलाई एकैसाथ जोड्ने संस्थागत अभियानको रूप लिँदै गएको छ । यस वर्षको मोबिलिटी एक्स्पो पनि यही दृष्टिकोणलाई मूर्त रूप दिने प्रयास हो। नयाँ प्रविधिको प्रदर्शनसँगै ज्ञान, नीति र सहकार्यलाई प्राथमिकता दिँदै नाइमाले नेपालको अटोमोबाइल उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी, जिम्मेवार र भविष्यउन्मुख बनाउने लक्ष्य लिएको स्पष्ट देखिन्छ ।
मोबिलिटी क्षेत्रलाई ‘अनुत्पादक’ भन्नु गलतः
गौरव शारदा, उद्योगी
काठमाडौं । उद्योगी गौरव शारदाले नेपालमा मोबिलिटी क्षेत्रको विकास अपेक्षित रूपमा अघि बढ्न नसक्नुको प्रमुख कारण पर्याप्त पूर्वाधारको अभाव रहेको बताएका छन् । उनले सडक, रेल, सार्वजनिक यातायात तथा अन्य आधुनिक यातायात प्रणालीको विस्तारबिना मुलुकको आर्थिक विकास र औद्योगिक गतिविधिलाई गति दिन नसकिने धारणा व्यक्त गरे ।
उनका अनुसार मोबिलिटी क्षेत्र केवल निजी सवारीसाधनमा सीमित विषय नभई सम्पूर्ण यातायात प्रणालीसँग जोडिएको व्यापक क्षेत्र हो । सडकमार्फत सञ्चालन हुने सवारीदेखि रेल सेवा, सार्वजनिक बस, मालवाहक ट्रक तथा अन्य यातायातका साधन सबै मोबिलिटी प्रणालीका अभिन्न अंग हुन् । यस्ता माध्यमले मानिसको आवागमन मात्र नभई उद्योग, व्यापार, पर्यटन र आपूर्ति व्यवस्थालाई समेत निरन्तर चलायमान बनाउने भएकाले यसको महत्व अत्यन्तै ठूलो रहेको उनले बताए ।
शारदाले मोबिलिटी क्षेत्रलाई ‘अनुत्पादक’ (नन–प्रोडक्टिभ) क्षेत्रका रूपमा व्याख्या गर्नु यथार्थपरक नहुने उल्लेख गरेका छन् । उनका अनुसार देशको उत्पादन, वितरण र आर्थिक गतिविधि सञ्चालनका लागि यातायात प्रणाली अपरिहार्य भएकाले यस क्षेत्रको योगदानलाई कम आँक्न मिल्दैन । “यदि मोबिलिटी क्षेत्रलाई अनुत्पादक भनेर हेर्ने हो भने भविष्यमा ट्रक, बस वा अन्य कुनै पनि यातायातका साधन प्रभावकारी रूपमा सञ्चालन हुन सक्दैनन्,” उनले भने, “यातायात प्रणाली नै कमजोर हुँदा उद्योग, व्यापार र सेवा क्षेत्रसमेत प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् ।”
उनले मोबिलिटी क्षेत्रको वास्तविक महत्व बुझ्ने व्यक्ति वा नीतिनिर्माताले यसलाई कहिल्यै अनुत्पादक क्षेत्रका रूपमा नलिने दाबी गरे। मुलुकको समग्र आर्थिक वृद्धि, रोजगारी सिर्जना, लगानी विस्तार तथा आधुनिक पूर्वाधार निर्माणका लागि मोबिलिटी क्षेत्रलाई प्राथमिकतामा राखी आवश्यक नीति, लगानी र पूर्वाधार विकासमा सरकार तथा निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । उनी थप भन्छन्, ‘यस क्षेत्रलाई बुझेको मान्छेले अनप्रोडेक्टिभ क्षेत्र पक्कै पनि मान्दैनन् ।’
शारदाले दिगो आर्थिक विकासका लागि सडक सञ्जालको विस्तार, आधुनिक सार्वजनिक यातायात, रेल सेवा तथा अन्य यातायात पूर्वाधारमा दीर्घकालीन लगानी बढाउनुपर्नेमा जोड दिँदै, मोबिलिटी क्षेत्रलाई राष्ट्रिय विकासको प्रमुख आधारका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

