स्वकीय सचिवहरूको सम्पत्ती छानबिनमा जालझेल

राजनीति समाचार

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्धामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, आरजु राणादेखि दिपक खड्कासम्ममाथि अनुसन्धान गरि आरोप प्रमाणीत गर्न नसकेको सरकार अब उनीहरुको सचिवालयमा बसेर काम गरेकाहरुमाथि अनुसन्धान गर्न अग्रसर भएको छ । जेनजी विद्रोह लगतै बनेको सरकारले केपी ओली, सभापति शेरबहादुर देउवा र पूर्वऊर्जामन्त्री दीपक खड्कासम्ममाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालेर प्रमाणीत गर्न सकेको थिएन । यस्तै सम्पत्ति शुद्धीकरण विभागले देउवा र उनकी पत्नी डा. आरजु राणाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरुलाई अनुसन्धानको घेरामा तानेर आरोप प्रमाणीत गर्न नसकेपछि राज्यका निकायहरु पूर्व प्रधानमन्त्री र मन्त्रीहरुको स्वकीयमाथि छानबिन थालेका छन् ।

अख्तियार दुरुपयोग
अनुसन्धान आयोगका तीन जना पूर्वप्रधानमन्त्रीहरुका स्वकीय सचिव र पूर्व परराष्ट्रमन्त्रीहरुको सहयोगीहरुमाथि अनुसन्धान अगाडि बढाएको हो । अख्तियारका अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवादेखि प्रचण्डसम्मका स्वकीयमाथि अनुसन्धान अगाडि बढाएको छ । नेपाली कांग्रेसका सभापति देउवाको सचिवालय लामो समयदेखि भानु देउवाले सम्हालिरहेका छन् । देउवा पटक पटक प्रधानमन्त्री हुँदा पनि स्वकिय सचिवको भूमिकामा उनै भानु रहने गरेका थिए । यस्तै केपी ओली तीन पटक प्रधानमन्त्री हुँदा राजेश बज्राचार्य स्वकीय सचिव थिए भने अहिले पनि बज्राचार्यले नै ओलीको सचिवालय सम्हालिरहेका छन् । प्रचण्डकी कान्छी छोरी समेत रहेकी गंगा दाहालले प्रचण्डका छोरा प्रकाश दाहालको निधनपछि सचिवालय सम्हाल्दै आएकी छिन् ।

आयोगले शेर बहादुर देउवाका स्वकीय भानु देउवाको सम्पत्तिबारे अनुसन्धान अधिकृत नै तोकेर विस्तृत विवरण संकलन गर्न थालिएको छ । छानबिनका क्रममा आयोगले बैंकिङ कारोबार, जग्गाजमिन र शेयर लगानीलगायत विवरण जुटाइरहेको स्रोतले जनाएको छ । त्यसैगरी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी तत्कालीन स्वकीय सचिव गंगा दाहाल रउनका पति जीवन आचार्यतर्फ केन्द्रित छ । आचार्य कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री हुन् । परिवारको सम्पत्ति अनुसन्धान गर्दा आचार्यसमेत मुछिएको अख्तियार स्रोतको भनाइ छ । प्रचण्ड प्रधानमन्त्री हुँदा कर्मचारीदेखि प्रहरीको सरुवा बढुवामा उनै आचार्य हाबी हुँदै आएका थिए ।

स्रोतका अनुसार, गंगा र जीवनको नाममा तीन तीन ठाउँमा घर र जग्गा देखिएको छ । गंगाको नाममा ललितपुरको सुनाकोठी, विराटनगर र मोरङको बुढीगंगामा घर तथा जग्गा देखिएसँगै यसलाई अस्वभाविक ठहर गर्दै अख्तियारले केन्द्रीय बैंकलाई रोक्का गर्न पत्राचार गरेको छ । आयोगले पूर्व परराष्ट्रमन्त्रीको सहयोगी तथा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश बहादुर देउवामाथि पनि अनुसन्धान गरिरहेको छ । प्रकाश बहादुर देउवा २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर–५ (२) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी २०७९ माघमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए । उनी कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का स्थानीय हुन् । जेनजी विद्रोह लगतै उनी अमेरिका पुगेका छन् । त्यस पछि उनी स्वदेश फर्किएका छैनन् । २०७९ को प्रदेशसभा निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित भएका थिए । त्यसपछि उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका आकांक्षी थिए, तर कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह बने । उनै मुख्यमन्त्री छन् । प्रकाश भने भौतिक पूर्वाधार विकास मन्त्री भएर केही समय काम गरेका थिए ।

पछिल्लो समय शेरबहादुर देउवा र प्रकाशबीच खटपट रहेको चर्चा काँग्रेसी वृत्तमा चल्न थालेको छ । अख्तियारको घेरामा तानिएका चारै जनामध्ये प्रकाश र भानु पूर्व प्रधानमन्त्री शेरबहादुरका भतिजा हुन् । यी चारै जनामाथि अख्तियारले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा छानविन गरिरहेको छ । जसमध्ये तीन जनासँग बयान लिइसकेको भए पनि प्रकाश भने अमेरिकातिर रहेका कारण उनीसँग बयान लिन नसकेको अख्तियारले जनाएको छ । आयोगमा बोलाएर सम्पत्ति सम्बन्धी फारम भराउने र बयान लिने काम हुने भएको छ । यस्तै, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि पनि अनुसन्धान गरिरहेको छ । एमाले अध्यक्ष ओलीका नातेदार समेत रहेका बज्राचार्य ओली जति पटक प्रधानमन्त्री भए त्यति नै पटक उनको सचिवालयमा बसेर काम गरेका थिए । ओली प्रधानमन्त्री हुँदा सतहमा आएको नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका केशव दुलालले ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ दिएको बयान नै दिएका थिए ।

दरबारमार्गस्थित नेपाल ट्रस्टको १ रोपनी १४ आना जग्गा भाडामा दिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव राजेश बज्राचार्यले घुसमा घर उपहार लिएको बिषय नै बाहिरिएको थियो । २०८२ पुस २ मा जिल्ला सरकारी वकिल कार्यालयले जग्गा भाडा प्रक्रियामा ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ अनियमितता भएको दाबीसहित जिल्ला अदालत काठमाडौँमा तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई ठगीमा प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरे पनि बज्राचार्यबारे अनुसन्धानको घेरा भन्दा बाहिरै राखेको थियो ।

उनी स्वकीय हुँदा नै यती एयर प्रालिको नाममा बालकोटमा रहेको घर–जग्गा रश्मि शाक्यको नाममा ९६ लाख रुपैयाँ मूल्याङ्कन गरेर पास गरिएको तथ्य समेत बाहिरिएको थियो । चल्तीको मूल्य करिब ४ करोड भए पनि मालपोत कार्यालयमा भने थैली घटाएर ९६ लाखमा सो घर जग्गा पास भएको थियो । यी र यस्तै प्रकरणमा जोडिएर गंगा दाहाल, भानु र प्रकाश देउवाका राजेश बज्राचार्यहरु अब सम्पत्ति शुद्धीकरणको अनुसन्धानको घेरामा तानिने भएका छन् । उनीहरुको बैंक खाता, लकरदेखि घरजग्गाको विवरण अख्तियारले माग गरेको छ । उनीहरुलाई प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति व्यवस्थापन गराएको आरोपमा अहिले अनुसन्धान शुरु भएको जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *