रामचन्द्र बस्नेत
नेकपा एमालेभित्रको विवाद केही मत्थर भएको छ । पूर्वाराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाएपछि पार्टीभित्रको विवाद सुल्झिएको कार्यकर्ताको बुझाइ छ । तर, अधिकांश नेता, कार्यकर्ताले नेतृत्व फेर्नुपर्ने आवाज उठाइरहेका छन् । एकातिर यो अवस्था छ भने अर्कोतिर वामपन्थी शक्तिहरु एक ठाउँमा हुनुपर्ने आवाज पनि उठिरहेको छ । स्थानीय र प्रदेशीको निर्वाचन हुनु अगाडि नै पार्टी एकता गरेर जानुपर्ने धारणा नेकपा एमाले र नेकपाका कार्यकर्ताहरुले उठाइरहेका छन् । एमालेले ३३ वटा जनवर्गीय संगठनको नेतृत्व फेर्नुपर्ने र पार्टीलाई चलायमान बनाउनुपर्ने आवाज पनि उठिरहेको छ । तर, त्यो नेकपा एमालेले गर्न सकेको छैन । त्यो गर्न नसकेकै कारण नेकपा एमाले बलियो बन्न सकेको छैन ।
उता नेकपाले आगामी मंसिरमा गर्ने भनेको महाधिवेशन पनि भोटेकोशी बाढीको निहुँ पारेर रोकेको छ । आजको अवस्थामा वामपन्थी एकता अपरिहार्य बन्दै गएको छ । यदि वामपन्थी एकता तथा सहकार्य नभएको अवस्थामा आगामी स्थानीय र प्रदेश निर्वाचनमा एमाले र नेकपाको पत्तासाफ नहोला भन्न सकिँदैन । किन कि नेकपा एमालेभित्रको किचलो, नेकपा एकता नभएको अवस्था र कांग्रेस विभाजनको कारणले गर्दा स्थानीय र प्रदेशमा रास्वपाको पल्ला भारी नहोला भन्न सकिँदैन । त्यसले गर्दा पनि स्थानीय र प्रदेश निर्वाचनको लागि वामएकता अथवा सहकार्यको खाँचो भएको छ ।
वाम एकताको सहकार्य गर्नको लागि विगतका गल्ती कमजोरीहरुलाई आत्मालोचना गरेर झिना मसिना तीतामिठा व्यवहारहरुलाई पच्छाएर नेता र कार्यकर्ता एक हुनुपर्ने तथा नयाँ समेट्नुपर्ने देखिन्छ । युवापुस्ताहरुको लागि सुहाउँदो मिल्दोजुल्दो शिक्षा, रोजगारीलगायतका विपयमा नेताहरुले खाका तयार गर्नुपर्ने हुन्छ । यदि त्यो गर्न नसकेको खण्डमा नयाँ युवा पुस्ताहरु सहभागी हुने देखिँदेन । युवा पुस्ताहरुलाई पुराना दलको नाम सुन्नेबित्तिकै वितृणा जागिहाल्छ । ३५, ३६ वर्षसम्म कांग्रेस र एमालेले देशको लागि के ग¥यो भन्ने प्रश्न उठिरहेको पाइन्छ ।
यस्तै प्रस्नले गर्दा आगामी दिनहरुमा युवा पुस्ताहरु कांग्रेस, एमाले र नेकपाको पक्षमा लाग्ने अवस्था देखिँदैन । कांग्रेस, एमाले र नेकपाका कार्यकर्ता र शुभचिन्तकहरुले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भोट नदिएको भए रास्वपाले समानुपातिक मत ५२ लाख कसरी भयोे भन्ने प्रश्न पनि उठिरहेको छ । तीनै कांग्रेस, एमाले र नेकपाका कार्यकर्ता र शुभचिन्तकहरुले दिएको मतको आधारमा रास्वपाले ५२ लाख मत पाएर ठूला पार्टी बनेको थियो ।
आज रास्वपाले पाएको त्यो ५२ लाख मत आफूतिर फिर्ता गर्नको लागि एमाले, कांग्रेस र नेकपाले धेरै पापड बेल्नुपर्ने हुन्छ । अर्कोतर्फ तीनै कांग्रेस, एमाले र नेकपा माओवादीबाट रास्वपामा गएर निर्वाचित भएका ६४ जना सांसदलाई आफ्नो घर फिर्ता बोलाउनको लागि दलहरुले पहल गर्नुपर्ने भएको छ । यदि कांग्रेस, एमाले र नेकपाले ्र५२ लाख समानुपातिक मत र ६४ जना सांसद आफ्नो फेबरमा पार्न नसकेको खण्डमा आगामी फागुन, चैतमा हुने स्थानीय र प्रदेश निर्वाचनमा दलहरुले पापड बेल्नुपर्ने हुन्छ । त्यसले गर्दा पनि कांग्रेस, एमाले र नेकपाले आफ्नो कार्यकर्ता, शुभचिन्तक र भोटरहरुलाई नयाँ योजना ल्याउने र उनीहरुलाई उचित व्यवस्थापन गर्न सकेको खण्डमा दलहरुको हित हुने देखिन्छ ।
यदि त्यो गर्न नसकेको खण्डमा अहिलेको भन्दा नाजुक अवस्था स्थानीय र प्रदेश निर्वाचनमा हुने पक्का जस्तै छ । एमाले र नेकपाले कार्यगत एकता गरेर सफलता हासिल गरे तापनि कांग्रेसको १५ औं महाधिवेशनमा संस्थापन पक्ष र इतर पक्षको छुट्टाछुट्टै भिडन्तले गर्दा आगामी स्थानीय र प्रदेश निर्वाचनमा प्रतिनिधि सभामा भन्दा कमजोर हुने देखिन्छ । तर, एमाले र नेकपाले पार्टी एकता अथवा चुनावी तालमेल गरेको खण्डमा स्थानीय र प्रदेशमा राम्रो जित निकाल्न सक्ने देखिन्छ । यदि एमाले र नेकपाको सहकार्य नगरी छुट्टाछुट्टै निर्वाचनमा जाने हो भने कांग्रेस, एमाले र नेकपाको अस्तित्व संकटमा पर्ने पक्का छ ।


