विचारदेखि नेतृत्वसम्मः आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा

प्रमुख राजनीति लेख वित्त शिक्षा/स्वास्थ

काठमाडौं । नेकपा एकालेका बौद्धिक तथा विचारवान नेता आनन्दप्रसाद पोखरेलले आफ्नो जीवन र राजनीतिक संघर्षलाई जोडेर ‘विचार, संघर्ष र नेतृत्व’ नाम पुस्तक प्रकाशित गरेका छन् । पुस्तक अत्यन्तै मर्मस्पर्शी र पठनीय भएको लोकार्पणका क्रममा वक्ताहरुले बताएका छन् । यही असाजे १८ गते कार्की ब्यांकुइटमा आयोजना गरिएको लोकार्पण कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थिइन् । पुस्तकको समीक्षा लेखक झलक सुवेदीले गरेका थिए भने भूमिका एमाले नेता ईश्वर पोखरेलले लेखेका छन् । पुस्तकको लेखनमा गोविन्दप्रसाद दुलाल रहेका छन् भने प्रकाशन मीठु पोखरेलले गरेकी छिन् । यस खोजपूर्ण र पठनीय पुस्तकको मूल्य रु. ५०० सय रहेको छ ।

पुस्तक लोकार्पण गर्ने क्रममा पूर्वराष्ट्रपति भण्डारी भन्छिन्, ‘आनन्दप्रसाद पोखरेलको राजनीतिक जीवनमा आधारित ‘विचार, संघर्ष र नेतृत्व’ कृतिलाई व्यापक र ऐतिहासिक परिप्रेक्ष्यमा लिएकी छु । पुस्तकको लोकार्पण गर्ने अवसर प्राप्त हुनु मेरा लागि केवल औपचारिक कार्यक्रमको विषय थिएन; यो लामो राजनीतिक सहयात्राका क्रममा नजिकबाट चिनिएको एक संघर्षशील व्यक्तित्व र उहाँ आबद्ध रहेको एउटा राजनीतिक पुस्ताको अनुभवलाई दस्तावेजका रूपमा सार्वजनिक भएको हेर्ने अवसर पनि हो । पुस्तक पढ्दै जाँदा मैले केवल आनन्द पोखरेलको व्यक्तिगत जीवनयात्रा पढिनँ, बरु एउटा पुस्ताले भोगेको संघर्ष, परिवर्तनप्रतिको अटल विश्वास र त्यसका लागि गरेको त्याग–समर्पणको इतिहासको झल्को पाइन्छ ।

कुनै पनि राष्ट्रको राजनीतिक इतिहास घटनाहरूको कालखण्डमा मात्र होइन; त्यो विचारको विकास, संघर्षको निरन्तरता, संगठन निर्माणको यात्रा, नेतृत्वको परिपक्वता र समाज रूपान्तरणका लागि गरिएको सामूहिक प्रयत्नको जीवन्त अभिलेख पनि हो। इतिहासमा सत्ता परिवर्तनका घटना निश्चय नै महत्त्वपूर्ण हुन्छन्, तर त्यसभन्दा अझ महत्त्वपूर्ण हुन्छ—परिवर्तनलाई सम्भव बनाउने नेतृत्वदायी विचार, त्यही विचारलाई व्यवहारमा रूपान्तरण गर्न समर्पित संगठित शक्ति र त्यसप्रति जनताले प्रकट गरेको अपार विश्वास। त्यसैले कुनै व्यक्तिको राजनीतिक जीवनलाई उसको समय, समाज र आन्दोलनसँग अलग गरेर हेर्न सकिँदैन ।

‘विचार, संघर्ष र नेतृत्व’लाई आनन्द पोखरेलले आफ्नो जीवनमा प्राप्त गरेका उपलब्धिहरूको सूची, आत्मप्रशंसाको विवरण वा संस्मरणहरूको संग्रहका रूपमा मात्र बुझ्नु उचित हुँदैन। यस कृतिले एउटा व्यक्तिको जीवनलाई केन्द्रमा राख्दै नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, राष्ट्रिय स्वाभिमान, संगठन निर्माणका चुनौती, विकास तथा जनसेवामा केन्द्रित सामाजिक जागरण र नेतृत्व निर्माणका विविध चरणलाई समेटेको छ। यस अर्थमा यो पुस्तक एउटा व्यक्तिको जीवनीभन्दा माथि उठेर एउटा राजनीतिक समयको प्रतिनिधि दस्तावेज बनेको छ। आनन्द पोखरेलसँग मेरो राजनीतिक परिचय र सहयात्रा केही दशक लामो छ। आन्दोलनका कठिन दिनहरू, कम्युनिष्ट पार्टी निर्माण र संगठन विस्तारका चुनौती, जोखिमपूर्ण भूमिगत गतिविधि, निरंकुशताविरोधी आन्दोलन, लोकतान्त्रिक संघर्ष, प्रजातन्त्रको पुनःस्थापना, संसदीय अभ्यास तथा राज्य सञ्चालनका विभिन्न चरणमा उहाँलाई नजिकबाट बुझ्ने अवसर मैले पाएकी छु।

यस कृतिको अर्को महत्त्वपूर्ण पक्ष यसको राजनीतिक र ऐतिहासिक सन्दर्भ हो। घटनाहरूलाई मात्र क्रमबद्ध गर्नुको सट्टा तिनका पछाडि रहेका विचार, परिस्थिति, संघर्ष र सामाजिक प्रभावलाई समेत प्रस्तुत गरिएकाले यो कृति आत्मकथाको सीमाभन्दा माथि उठेर राजनीतिक जीवनीको स्वरूपमा पाइन्छ । त्यही कारणले यो पुस्तक अध्ययन, अनुसन्धान र भावी पुस्ताका लागि उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ भन्ने लाग्छ । नेपालको कम्युनिष्ट आन्दोलन त्याग, बलिदान र निरन्तर संघर्षबाट निर्मित आन्दोलन हो। ऐतिहासिक परिवर्तनका लागि भएका आन्दोलनमा हजारौँ कार्यकर्ताले आफ्नो जीवन समर्पित गरेका छन्। आनन्द पोखरेल त्यही आन्दोलनका एक सक्रिय सहभागी, संघर्षशील नेता हुन् ।

विद्यार्थी जीवनमै प्रहरी हिरासत, जेल र दमनका अनेक रूप भोग्नुपरेको अनुभवले उहाँको राजनीतिक चेतनालाई अझ गहिरो बनाएको छ । गिरफ्तारी र जेल जीवनको पीडा परिवारले समेत व्यहोर्नुपरेको प्रसंगले यस यात्राको मानवीय पक्षलाई अत्यन्त मर्मस्पर्शी ढंगले उजागर गरेको छ । पढाइमा अब्बल हुँदाहुँदै विदेशमा उच्च अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको अवसरसमेत तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाका कारण गुमाउनुपरेको पीडालाई पनि उहाँले निराशाको कारण मात्र बनाउनुभएन। बरु त्यसलाई राष्ट्र र जनताको पक्षमा जीवन समर्पित गर्ने नयाँ संकल्पमा रूपान्तरण गर्नुभयो। यही दृढता र प्रतिबद्धताले उहाँलाई कठिन राजनीतिक परिस्थितिमा पनि जनपक्षीय नेतृत्वका रूपमा स्थापित गर्न सहयोग पु¥याएको देखिन्छ।

राजनीतिक नेतृत्व केवल राजनीतिक प्रशिक्षणबाट मात्र निर्माण हुँदैन। त्यसका लागि पारिवारिक संस्कार, नैतिक चरित्र, आत्मानुशासन, श्रमप्रतिको सम्मान र जनसेवाको भावना पनि उत्तिकै आवश्यक हुन्छ। आनन्द पोखरेलको जीवनमा उहाँका हजुरबुवा जगन्नाथ पोखरेलबाट प्राप्त इमानदारी, श्रम, अनुशासन, सत्यनिष्ठा र जनसेवाका मूल्यहरूको प्रभाव स्पष्ट देखिन्छ। ती मूल्यहरू उहाँको राजनीतिक जीवनका प्रेरणाका स्रोत बनेका छन्। यसले नेतृत्व निर्माणको प्रक्रियामा पारिवारिक संस्कार र सामाजिक मूल्यको महत्त्वलाई समेत उजागर गर्छ।

पुस्तकले परिवर्तनका लागि संगठनको अपरिहार्यतालाई पनि विशेष महत्त्व दिएको छ। स्पष्ट विचार, सुदृढ संगठनात्मक आधार, जनमुखी कार्यशैली, संस्थागत निर्णय, सामूहिक नेतृत्व, आलोचनात्मक चेत तथा नियन्त्रण र सन्तुलनको अभ्यासबिना कुनै पनि परिवर्तनकारी आन्दोलन दीर्घकालीन र प्रभावकारी बन्न सक्दैन। जनताको विश्वासमा आधारित संगठनले मात्र विचारलाई व्यवहारमा र राजनीतिक संकल्पलाई सामाजिक रूपान्तरणमा परिणत गर्न सक्छ।

नेपालको कम्युनिष्ट आन्दोलनले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्दै लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समाजवादलाई परस्परपूरक मूल्यका रूपमा विकास गर्ने प्रयास गरेको छ। बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा यी विचारलाई अझ सिर्जनशील, व्यवहारमुखी र जनमुखी बनाउँदै लैजान आवश्यक छ। यस सन्दर्भमा ‘विचार, संघर्ष र नेतृत्व’ले आन्दोलनका उपलब्धि र सीमालाई आत्मसमीक्षाको दृष्टिले हेर्दै विचारको निरन्तर विकास, संगठनात्मक शुद्धीकरण, सामूहिक नेतृत्व, आन्तरिक लोकतन्त्र, जनतासँग जीवन्त सम्बन्ध, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणलाई परिवर्तनकारी राजनीतिको आवश्यकता भएको पुस्तकमा उल्लेख छ ।

कृतिको अर्को उल्लेखनीय पक्ष यसको प्रस्तुति शैली हो। लेखक गोविन्दप्रसाद दुलालले आनन्दप्रसाद पोखरेलको जीवन र राजनीतिक यात्रालाई तेस्रो पुरुषमा प्रस्तुत गर्नुभएको छ। यसले व्यक्तिगत अनुभूति र आत्मवृत्तान्तलाई केही दूरीबाट हेर्ने अवसर प्रदान गर्दै घटनाहरूलाई वस्तुगत रूपमा बुझ्न सहज बनाएको छ। इतिहाससँग जोडिएका व्यक्तित्वहरूको जीवनगाथालाई दस्तावेजीकरण गर्ने लेखकको यो प्रयास प्रशंसनीय छ।

आजको पुस्ता ती कठिन राजनीतिक मोडहरुबाट क्रमशः टाढिँदै गएको छ। त्याग, भूमिगत संघर्ष, जेल जीवन, संगठन निर्माण र लोकतान्त्रिक परिवर्तनका लागि गरिएका संघर्षहरू नयाँ पुस्ताका लागि केवल इतिहासका विषय बन्न सक्ने जोखिम बढेको छ । यस्तो अवस्थामा विगतका संघर्ष र अनुभवलाई प्रमाणिक ढंगले अभिलेखीकरण गर्नु अत्यन्त महत्त्वपूर्ण कार्य भएको छ । ‘विचार, संघर्ष र नेतृत्व’ले यही आवश्यकता पूरा गर्ने प्रयास गरेको छ। यसले नयाँ पुस्तालाई इतिहाससँग जोड्दै परिवर्तनका उपलब्धिहरू आकस्मिक नभई लामो संघर्ष, विचार र समर्पणको परिणाम हुन् भन्ने जाकारी गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *