रामचन्द्र बस्नेत
०४६ सालमा पञ्चायत व्यवस्था विघटन गरेर बहुदलीय व्यवस्था स्थापना भएदेखि नै मुलुकको राजनीतिले अस्थिरताको चरणलाई पार गर्न सकेको छैन । ०४८ सालमा सम्पन्न भएको आमनिर्वाचनमा नेपाली कांगे्रेसले १११ स्थानमा विजय प्राप्त गरेर स्पष्ट बहुमत ल्याएको भए पनि स्व. गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले तीन वर्षभन्दा बढी शासन गर्न सकेन । पार्टीभित्रै कलहको कारण सरकारको नीति तथा कार्यक्रमलाई अनुमोदन गर्ने क्रममा सरकार अल्पमतमा परेपछि तत्कालीन प्रधानमन्त्री स्व. कोइरालाले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका थिए । तत्कालीन प्रधानमन्त्री स्व. कोइरालाले गरेको घोषणा अनुसार ०५१ सालमा सम्पन्न भएको मध्यावधि निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न सकेनन् भने नेकपा एमाले सबभन्दा ठूला दलको हैसियतले अगाडि आएको थियो । र, सबभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका अध्यक्ष स्व. मनमोहन अधिकारीले अल्पमतको सरकार बनाएका थिए । स्व. अधिकारीको नेतृत्वमा गठन भएको एमालेको अल्पमतको सरकारलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नौ महिना भन्दा बढी टिक्न दिएनन् । त्यसपछि यो मुलुकमा गठजोडको सरकार गठन गर्ने विकृत राजनीतिले प्रशय पाउन थाल्यो र सरकार जोगाउन तथा गिराउनका लागि भन्सार शुल्क मिनाहामा सांसदलाई पजेरो उपलब्ध गराउनेदेखि सांसदलाई बैंककसम्म पु¥याएर रसरंग गराउने विकृति पनि विकास हुन थाल्यो । यसरी नेपाली कांग्रेसका सभापति कोइरालाले बेमौसमको बाजा बजाउँदै ०५१ सालमा संसद विघटन गरी मध्यावधि निर्वाचन गरेदेखि संसदीय पद्दतिमा उत्पन्न भएको विकृतिबाट अहिलेसम्म मुलुकले मुक्ति पाउन सकेको छैन । राजनीतिक दलले सत्ता प्राप्तिका लागि गर्ने फोहोरी खेलकै कारण ०५२ सालमा मुलधारको राजनीतिबाट विद्रोह गरेर जंगल पसी हतियार उठाएको नेकपा माओवादीले फुल्ने, फल्ने अवसर प्राप्त गरेको थियो ।
संसदमा जम्मा २० स्थान भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यही राजनीतिको अस्थिरताको फाइदा उठाउँदै आफ्ना दुई नेता सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई नेपाली कांग्रेस र नेकपा एमालेलाई पछाडि लगाउँदै दुई वटा सरकार बनाउन सफल भएको थियो । संसदीय पद्दतिमा विकास भएको यो विकृतिलाई ०५६ सालमा सम्पन्न भएको आमनिर्वाचन पछिको राजनीतिले पनि समाप्त पार्न सकेनन् । ०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको थियो । तर कांग्रेसभित्रै नै सत्ताका लागि भएको भागबन्डाको संघर्षले राजनीतिलाई स्थिरताको बाटोमा भने जान दिएन । यसरी वैधानिक तर्फको मूलधारको राजनीतिमा सत्ता संघर्ष चलिरहँदा विद्रोही माओवादीको गतिविधि उत्कर्षमा पुग्न थालेको थियो । विद्रोही माओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने गरी ०६३ साल मंसिर ५ गते नेपाल सरकार र विद्रोही माओवादीका बीचमा बृहत् शान्ति सम्झौता भए पनि मुलुकको राजनीतिलाई अन्योल समाप्त गरी स्थिरतातिर लैजाने काम भने हुन सकेन । संविधान निर्माणका लागि भनेर गठन भएको दुई वटै संविधानसभामा कुनै पनि राजनीतिक दलले बहुमत नपाउँदा हरेक नौ महिनामा सरकार परिवर्तन हुने अर्को विकृत खेल नेपालको संसदीय राजनीतिमा विकास भयो । यो विकृतिलाई संविधान जारी भएपछि ०७४ सालमा सम्पन्न भएको आमनिर्वाचनको परिणामले समाप्त पारिदिएको अनुमान धेरै नेपालीले गरेका थिए । किनभने ०७४ सालमा सम्पन्न भएको आमनिर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । त्यो निर्वाचन परिणामअनुसार नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकारले मुलुकमा बढिराखेको राजनीतिक अस्थिरतालाई समाप्त पार्दै पाँचवर्षे कार्यकाल पूरा गरी राजनीतिक स्थिरता दिने अपेक्षा गरिएको थियो । तर ओली नेतृत्वको सरकारको कार्यकालको तीन वर्ष पुग्दा नपुग्दै सत्तारुढ नेकपामा सत्ता संघर्ष यसरी चर्कियो की सर्वोच्च अदालतले नै नेकपाको गठनलाई अवैधानिक ठहर गर्नु पर्ने अवस्था आयो । र, सर्वोच्चको निर्णय अनुसार नेकपा एमाले र माओवादी केन्द्र पुरानै स्थानमा फर्किएपछि मुलुकको राजनीति अस्थिरताको अर्को चरणमा प्रवेश गरेको छ । यो राजनीतिक अस्थिरतामा जुन कम्युनिस्ट नेताले विजय प्राप्त गरेको र प्रतिद्वन्द्वीलाई पराजित गरेको अभिमान बोकेको भए पनि यथार्थमा यो मुलुकको राजनीतिक स्थिरता र कम्युनिस्ट आन्दोलन नराम्रोसँग पराजित भएको छ । र, अब हुने आम निर्वाचनमा कुनै पनि कम्युनिस्ट शक्तिले राजनीतिक स्थिरताका लागि भनेर जनतासँग भोट माग्ने बाटो नै बन्द भएको छ ।
भाइ फुटे गवाँर लुटे भन्ने उखानलाई चरितार्थ गर्दै नेपालका कम्युनिस्टका बीचमा उत्पन्न भएको विवादको अनुचित फाइदा कम्तीमा तीस वर्ष सत्तामा फर्कन सक्दैन भनिएको नेपाली कांग्रेसले लिएको छ । यही अनुचित फाइदा लिएको कारण अहिले नेपाली कांग्रेस कम्युनिस्ट शक्तिलाई पछाडि लगाएर सरकार गठन गर्ने हैसियतमा समेत पुगेको छ । यो अवस्थाप्रति कुनै पनि इमान्दार कम्युनिस्टले खुसी मनाउनुलाई मूर्खता मात्र मान्नु पर्ने हुन्छ । जुन मूर्खतालाई एक थरी कम्युनिस्टले अहिलेको राजनीतिक परिवर्तनलाई आफ्नो जित भनेर हर्ष बढाईँ गरिराखेका छन् । जबकि जनताले कम्तीमा तीस वर्षका लागि भनेर कुनामा थन्क्याइदिएको नेपाली कांग्रेस उनीहरूलाई पछाडि लगाएर मुलधारको राजनीतिमा नेतृत्व गर्ने तहमा पुगेको छ ।