तीन/चार लाख खर्च गर्नुस्, भिजिट भिसामा विदेश जानुस्

राेजगार

काठमाडौं । चुनाव आउछ, सरकार बन्छ अनि सुरु हुन्छ राजनीति । राजनीतिक दलको सरकार बनेपछि जनताको कामभन्दा पनि पार्टीको लेबी उठाउने, कार्यकर्ता भर्ती केन्द्र बनाउने, भ्रष्टाचार गर्ने बाहेक अन्य काम हुने गरेको छैन । नेपालमा उद्योगधन्दा खुल्न नसकेको अवस्था छ । भएका उद्योगहरू पनि बन्द अवस्थामा छन् । केही खुलेका उद्योगहरू पनि कोरोना संक्रमणका कारण बन्द भएका छन् । नेपाली युवायुवतीहरू रोजगार नपाएर विदेशिनु परेको अवस्था छ । रोजगारका लागि विदेश जानका लागि पनि बिचौलिया समात्नुपर्ने अवस्था छ । अहिले वैदेशिक रोजगार विभाग बिचौलियाको अखडा बनेको छ । नेपाली युवायुवतीहरू विदेश जानका निम्ति म्यानपावर धाउनुपर्ने अवस्था छ । म्यानपावरले झुटा आसा देखाएर श्रममा जाने युवा–युवतीहरूसँग लाखौँ असुल्ने र बिचल्लीमा पार्ने गरेको छ । वैदेशिक रोजगारको लागि भिजिट भिसामा धेरै नेपाली युवायुवती विदेश जाने गरेका पनि छन् । अहिले ताहाचल शाखामा बिचौलियाको कब्जा छ । कर्मचारी र बिचौलियाको मिलेमतोमा प्रतिव्यक्ति ३/४ लाख असुल्ने काम भइरहेको छ । टिकटदेखि कोभिड पिसिआर रिपोर्ट इत्यादीका नाममा बिचौलिया र म्यानपावर कम्पनीका दलालहरूले सर्वसाधारण रोजगारीमा जाने युवा–युवतीहरूसँग रकम असुल्ने गरेका हुन् ।

नेपाली युवतीहरूलाई सरकारले केही देशमा श्रमका लागि प्रतिबन्ध लगाएको छ । ती युवतीहरूसँग ५ लाखसम्म असुलेर भारतको बाटो हुँदै विभिन्न मुलुकमा रोजगारीमा पठाउने गरेको अवस्था छ । सरकारले यसको निगरानी गरेरे कारबाही अगाडि बढाउन सकेको छैन । ताहाचालमा मलेसिया शाखा, साउदी शाखा, बहराइन शाखा, कतार शाखादेखि अन्य शाखाका कर्मचारी र बिचौलियाको सेटिङ चल्ने गरेको छ । भिजिट भिसामा विदेश पठाउने नाममा रकम असुल्ने अहिले ताहाचलका कर्मचारी र बिचौलियाको दैनिकी बनेको छ । यसको अनुसन्धान र अनुगमन सरकारको सम्बन्धित निकायले गर्न सकेको छैन । ताहाचलमा पैसा नभए कामै नहुने पीडितहरू बताउँछन् । घुस नदिए कामै नगरिदिने प्रवृत्तिले गर्दा वैदेशिक रोजगारीमा जाने नेपाली युवा–युवतीहरूले सास्ती खेप्नुपरेको छ ।
कुस्त कमाई हुने भएकाले कर्मचारीहरू सरुवा हुन पनि चाहँदैनन् । पैसा र पावरको प्रयोग गरेर वर्षाैंदेखि ताहाचालमै टिक्न सफल कर्मचारीहरू नरेन्द्र न्यौपाने, सविन श्रेष्ठ, सिजन ओली, शाखा अधिृकत शालिग्राम फुयाँल, चेतन खत्री हुन् । यस्तै रिइन्ट्री शाखामा पनि कर्मचारी र विचौलियाको हालीमुहाली चल्ने गरेको छ । यसरी दिनदिनै वैदेशिक विभागमा उजुरीको चाङ लाग्ने गरेको छ । उजुरी शाखामा कार्यरत कर्मचारीले पीडितको गुनासो सुन्नेभन्दा पनि कताबाट दाम कमाउन सकिन्छ भन्नेतिर ध्यान दिएका छन् । वैदेशिक रोजगार विभागमा ठगी धन्दाले प्राथमिकता पाएको छ । ठगी नियन्त्रण गर्ने काम सरकारले गर्न सकेको छैन । वैदेशिक रोजगार विभागमा केही महानिर्देशक र सचिवले सुधारको योजना बनाए पनि बिचौलियाले सेटिङ गरी कर्मचारी सरुवा गर्ने र मन्त्रीसम्म फेरबदल गर्ने परम्परा पहिलादेखि चल्दै आएको छ । यसको रोकथाम कुनै पनि निकायले गर्न सकेको छैन । अहिले कर्मचारी पनि वैदेशिक रोजगार विभागको मालदार ठाउँमा जानको लागि मरिहत्ते गरेर लागिपरेका छन् । यसरी मरिहत्ते गरी जाने शाखा अन्तिम स्वीकृति, पूर्वस्वीकृति, रिइन्ट्रीदेखि उजुरी शाखामा बसेर काम गर्न कर्मचारी लागिपरेका छन् ।

खासगरी ताहाचाल शाखामा जान कर्मचारीहरू शक्ति केन्द्र धाउने गर्दछन् । कर्मचारीको सेटिङ एकातिर छ भने बिचौलियाको सेटिङ अर्काेतिर चल्ने गरेको छ । अहिले यस्तै सेटिङ अध्यागमन विभागमा पनि चल्ने गरेको समाचार स्रोत बताउँछ । अध्यागमन विभागले पनि सेटिङ मिलाएर विदेश जाने युवा–युवतीलाई एयरपोर्टबाट फर्काउने गरेको बताइन्छ । एयरपोर्टमा सेटिङमा नपरेका युवा–युवतीलाई अनेक बहाना गरी विदेश जानलाई बञ्चित गर्ने गरिएको एक पीडितले तामाकोशी सन्देशलाई बताए । यस्तै ट्राभल एजेन्सीले अत्याधिक भाडा बढाएका छन् । ट्राभल एजेन्सीले जे गरे पनि छुट दिएको छ । राज्यले ट्राभल एजेन्सीलाई कालो व्यापार गर्न छुट दिएको छ । पहिले एक व्यक्तिले साउदीको भाडा रु. ६० देखि ६५ हजार लिने गरेको थियो । अहिले ८० देखि ९० हजार भाडा लाग्ने गरेको छ । यसरी जहाज भाडा महँगो गरिएको छ । यसरी विभिन्न मुलुक जाने युवा–युवतीबाट मनपरी भाडा उठाउने गरिएको छ । यसबारे सरकार बेखबर रहेको छ । सरकार चलाउने राजनीतिक दललाई महाधिवेशनले च्यापेको छ । महाधिवेशनको खर्चको चाँजोपाँजो यस्तै ट्राभल एजेन्सी, व्यापारी, ठेकेदार, कर्मचारीहरूले मिलाउने गरेका छन् । यति गरेपछि सरकार र राजनीतिक दलहरू आँखा चिम्लिन बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *