काठमाडौं । यतिबेला गृहमन्त्री रमेश लेखकले मन्त्रालयलाई चलायमान बनाउन नसक्दा प्रहरी प्रशासन नै भताभुङ्ग हुन पुगेको छ । कतिपय प्रहरी जवानदेखि अधिकृतसम्मले लागुपदार्थ ओसारपसार गर्नेदेखि विभिन्न चोरीतस्करीमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्नुको साट्टा उल्टै चोरीतस्करी र लागुपद्धार्थ ओसारपसार गर्नेहरुलाई सहयोग गर्दै आएको समाचार सार्वजनिक नभएका होइनन् । त्यस्ता व्यक्तिलाई प्रहरीले कथमकदाचित पक्राउ गरिहाले तापनि सरकारी वकिल, प्रहरी, नेताहरुको दबाबमा उन्मुक्ति दिने गरेको पाइन्छ । अहिले तिनै तहको सरकार अन्तर्गत पर्ने बाल सुधारगृह र कारागार व्यवस्थापन कार्यालयहरु फितलो हुँदै गएका छन् ।
यस्ता विषयमा सुरक्षाको लागि खटेका प्रहरीहरुले नै लागु औषध र चोरीतस्करीमा संलग्न भएका व्यक्तिहरुसँग समन्वय गरी कमाउधन्दा सञ्चालन गर्दै आएका छन् । तर, गृहमन्त्रालयले त्यस्ता सम्वेदनशील विषयमा ध्यान दिन सकेको पाइँदैन । उल्टै चोरीतस्करी र अवैधधन्दामा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रहरीलाई नै अन्यत्र सरुवा गरेर कारबाही गर्ने गरिएको देखिन्छ । यी र यस्ता क्रियाकलापले गर्दा प्रहरी संगठनभित्र असन्तुष्टि र गुटबन्दी झागिँदै गएकाले विवादहरु बढिरहेका छन् ।
नेपाल प्रहरीमा लामो समयदेखि नियुक्ति, सरुवा, बढुवामा आफ्नालाई काखा र अन्यलाई पाखा पार्ने चलनल बढ्दै गएको छ । त्यसमा पनि राजनीतिक भागबन्डा र पैसाको चलखेलले प्रहरी संगठन नै बद्नाम हुन पुगेको छ । प्रहरी संगठनभित्र कतिपय योग्यता, क्षमता र अनुभव नभएका व्यक्तिहरुले अवसर पाइरहने र कतिपय क्षमतावान प्रहरीहरु अवसरबाट बञ्चित हुने गरेका उदाहरण प्रशस्तै छन् । त्यसले गर्दा पनि प्रहरी संगठन चुस्तदुरुस्त ढंगले चलायमान हुन सकेको छैन ।
प्रहरी संगठन चलयमान हुन नसकेकै कारण सर्वसाधारण जनताले सुशासन, अमनचय र शान्ति सुरक्षाको अनुभूति गर्न सकेका छैनन् । अब नेपाल प्रहरीका नवनियुक्त आईजीपी दीपक थापाले यस्ता जल्दाबल्दा विषयमा निष्पक्ष ढंगले कसरी काम अगाडि बढाउने हुन् त्यो प्रतिक्षाको विषय बनेको छ । उता, नेपाल प्रहरीभित्र लामो समयदेखि विभिन्न पदमा बढुवा रोकिएको छ ।
त्यसलाई निराकरण गर्नुपर्ने अधिकार नवनियुक्त आईजीपी थापाको काँधमा आइपरेको छ । राजनीतिक हस्तक्षेप, गुटबन्दी र पैसाको चलखेलले विगत लामो समयदेखि प्रहरी संगठन बद्नाम हुँदै आएको थियो । विगतका आईजीपीहरुले यस्ता आरोपहरु खेप्दै आएका थिए । उनीहरुलाई मध्यनजर गरेर नवनियुक्त आइजीपी थापाले आगामी दिनमा प्रहरी संगठनभित्र चुस्तदुरुस्त र निष्पक्ष ढंगले काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

