काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं करिब ४ महिनापछि कार्यालयमा प्रवेश गरेका छन् ।
महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको बलमा उनी कार्यालय प्रवेश गरेका हुन् ।
गुरागाईंलाई प्रवेश गर्न नदिन महानगरपालिकाका नगर प्रहरी खटिए पनि ठुलो सङ्ख्याका कर्मचारीसामु उनीहरू निरीह भए । जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईंलाई कार्यकक्षसम्म पुर्याएका छन् । यद्यपि उनको कार्यकक्षमा ताला लगाइएको छ । तर, त्यहाँ पनि ढोका लगाएपछि उनीहरूले अहिले ढोका फोड्ने प्रयास गरिरहेका छन् ।
गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।
त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि अहिले महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका हुन् । उनीहरूले कुनै पनि हालतमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउने बताइरहेका छन् ।

