नयाँ वर्षमा दलहरुको सद्धबुद्धि पलाओस् !

राजनीति लेख

बितेको साल २०८१ नेपालीहरुका लागि उत्साहजनक रहन सकेन । अनेक राजनीतिक उतारचढाव भए । राजावादीको आन्दोलन भयो, दुई युवा मारिए । प्राकृत्तिक विपत्तिले पनि ठूलो धनजनको क्षति गरायो । सबैभन्दा प्रमुख कुरा राजनीतिक अस्थिरता र दलीय भागवण्डाले जनमानसमा एउटा वितृष्णा सिर्जना गरेको छ । यसै वितृष्णाको रोषको रुपमा राजावादी आन्दोलन र यो आन्दोलनलाई जनसमर्थनले देखाएको छ । व्यवस्थाभन्दा पनि अवस्था परिवर्तन आवश्यक छ भनेर भनिरहँदा राजनीतिक दलहरु सच्चिन तयार देखिएका छैनन् ।

आलोपालो सत्तामा बस्ने र राज्यको दोहन गरेर जनतालाई रुष्ट पार्ने काम विगतका वर्षदेखि नै यिनै राजनीतिक दलहरुले गर्दै आएका छन् । सुधार र समृद्धिको आशा गर्दागर्दै जनताले हरेस खाइसकेका छन् । आफ्नो सीमित स्वार्थ र लाभको लागि भागवण्डे राजनीतिलाई प्राथमिकता दिने र राज्यका निकायमा निकट व्यक्तिहरुलाई नियुक्ति दिने काममा यी राजनीतिक दल र नेतृत्व पछि हट्दैनन् । विधि र नियम आफू अनुकूल बनाएर यिनै राजनीतिक दल र यिनै नेताहरुले पालैपालो नेतृत्वमा पुगेर लुटतन्त्र मच्चाएका छन् । जनता क्रोधित छन्, तर निरीह छन् । शक्ति तिनैको छ, लुट तिनैको छ । जनता हेरेको हे¥यै । चुनावलाई विकल्पको रुपमा लिइन्छ ।

नयाँ वर्षको सुरुवातसँगै नेपाली जनताले केही सुधार र समृद्धिको अपेक्षा र आशा गरेका छन् । यो राजनीतिक वितृष्णालाई दल र नेतृत्वले आकर्षणमा परिवर्तन गर्ने दायित्व थपिएको छ । अब राजनीतिक दलहरु सच्चिएर एक ढिक्का भएर मुलुकको विकास र समृद्धि र जनसेवाको काममा लाग्नुपर्ने देखिन्छ । राजनीतिक दलहरुप्रतिको असन्तुष्टि, असक्षमता र भागवण्डे सत्तास्वार्थको विरोधमा अन्य राजनीतक दल र राजावादीहरुले पनि विकल्प खोज्दै आन्दोलनमा उत्रिएका छन् । खराब अवस्थाबाट नेपाली जनताले आशाको किरण खोजिरहेका छन् । राजनीतिक दलहरुले अब सच्चिएर जनताको लागि काम गर्ने दिन आएको छ । जनतामा आशा जोगाउने समय आएको छ । आगामी २०८४ को निर्वाचनका लागि आधार तयार गर्ने समय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *