काठमाडौं । मधेश प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ४६ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको स्रोतले जनाएको छ ।
मधेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेश सभाको बैठक अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने तयारी रहेको छ । त्यसको साथै प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिकलाई डेढ करोडको रुपैयाँको बजेट विनियोजन गर्न लागेको हो ।
मधेश सरकारले यस वर्ष पनि सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणको लागि ल्याउन लागेको जनाएको छ । गत जेठ २३ गते मधेस सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार नै बजेट विनियोजन गरी ल्याउन लागेको एक अधिकारीले बताएका छन् ।
सर्वोच्च अदालतले संसदीय विकास कोषको नाममा त्यसरी बाँड्ने बजेटमा रोक लगाएपछि सरकारले चोरबाटोबाट सांसदलाई बजेट बाँड्ने गरेको छ ।
सांसदहरू योजनाको रुपमा बजेट पाइरहेका छन् । त्यसरी पाएको योजनाको चिठी संसदहरुले कमिसनमा विक्री वितरण गर्ने गरेको सदनमै आवाज उठिसकेको छ ।
यसरी उपभोक्ता समितिको नाममा योजनाको चिठी बेचेको र कमिसन लिएको आरोपमा गत जेठ २९ गते मात्र जसपा नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहालाई अख्तियारले पक्राउ गरेको थियो ।

