आमा शिक्षित भए परिवार,समाज र राष्ट्रकै समग्र विकासमा योगदान पुग्ने विश्वासमा दलित छात्रा लक्षित योजना

शिक्षा/स्वास्थ समाचार सुदूरपश्चिम प्रदेश

काठमाडौं । धनगढी उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा उपमहानगरवासीलाई आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा विभिन्न महत्वाकांक्षी कार्यक्रम लागू गर्ने भएको छ।

विद्यालय तह कक्षा ८ देखि १० सम्म ‘दलित अभियन्ता जुठे दमाइ छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ । यो कार्यक्रमअन्तर्गत विद्यालय तहमा कक्षा ८ देखि १० सम्म अध्ययनरत दलित छात्राहरुलाई वार्षिक दुई हजार रुपैयाँसम्मको स्टेश्नरी सामग्री निःशुल्क उपलब्ध गराइने उपमहानगरपालिकाले जनाएको हो ।यस्तै ११, १२ र स्नातक तहसम्म अध्ययन गर्ने दलित छात्राहरूकै लागि ‘दलित अभियन्ता टिकाराम पार्की छात्रवृत्ति कार्यक्रम’ ल्याएको छ ।

यो कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ देखि स्नातक तहसम्म विज्ञान, शिक्षा, कानुन र कृषि विषय अध्ययनरत दलित छात्राहरुलाई उच्च शिक्षा प्राप्तिमा सहयोग गरिनेछ। यसले दलित समुदायका विद्यार्थीहरूलाई प्रोत्साहन दिने र दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्‍याउने नगर प्रमुख गोपाल हमालले बताएका छन् ।
आमा शिक्षित भएमा परिवार, समाज र राष्ट्रकै समग्र विकासमा योगदान पुग्छ भन्ने विश्वासका आधारमा दलित छात्रा लक्षित योजना ल्याएको हो । यसले सामाजिक समावेशीकरण र लैङ्गिक समानता प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उपमहानगरले संघ तथा प्रदेश सरकार, गैरसरकारी निकाय र निजी क्षेत्रको सहकार्यमा सामाजिक न्याय र समावेशीतालाई सम्बोधन गर्दै शिक्षा क्षेत्रमा सुधार ल्याउने योजना अघि सारेको छ । शिक्षा, युवा तथा खेलकुद विकाससम्बन्धी कार्यनीतिअन्तर्गत बहुपक्षीय साझेदारीमार्फत लोककल्याणकारी उपमहानगरको परिकल्पना साकार पारिने जनाइएको छ। खासगरि समाजमा पछाडि पारिएका वर्गको शैक्षिक पहुँच अभिवृद्धि गर्न उपमहानगरले दुईवटा विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *