काठमाडौं । दैवी प्रकोप तथा अन्य राष्ट्रिय विपत्ती आइपर्दा नेपालका अधिकांश उद्योगहरु मारमा पर्ने गरेका छन् । त्यो चाहे २०७२ सालको भूकम्प होस, चाहे २०७६ को कोरोनाकाल किन नहोस् अथवा भारतले गरेको नाकाबन्दी नै किन नहोस् त्यसले गर्दा अधिकांश उद्योग, धन्दाहरु बन्द हुन पुग्ने गर्दछन् । त्यस्ता मारबाट गुज्रिइएर आएका उद्योगहरु सञ्चालनमा आए तापनि उद्योगीहरुले मार खेपिरहेका छन् । किन कि २०७६ सालको कोरोना कालमा बन्द भएका उद्योगहरु अहिले आएर सञ्चालन हुन थालेका छन् । सञ्चालनमा आए तापनि उद्योगीहरुले आम्दानीभन्दा बढी कर र चरिवाना तिर्नुपर्ने वाध्यता छ । कतिपय उद्योगीहरुले त जरिवानाको ख्यालै नगरी बन्द रहेका आफ्नो उद्योग सञ्चालनमा ल्याउनको लागि भयभरको पैसा खर्च गरेका हुन्छन् ।
तर, सरकारले उद्योग र कम्पनीहरुलाई जरिवाना र दोहोरो कर तिराउने काम गरिरहेको छ । जरिवाना मात्रै तिराएको छैन, जरिवानामाथि लाग्ने सावा, ब्याजसमेत असुलेर उद्योग नै चल्न नसक्ने अवस्थामा पु¥याएको छ । कोरोना, भूकम्प र नाकाबन्दीका कारण बन्द भएका उद्योगहरु सुचारु गर्नको लागि सरकारले सहयोग गर्नुपर्ने थियो । तर, सरकारले त्यस्ता उद्योगीहरुलाई सहयोग नगरेकै कारण कतिपय उद्योग बन्द अवस्थामा रहेका थिए । ती बन्द रहेका उद्योगहरु अहिले सुचारु गर्नको लागि उद्योगीहरु लागिपरेका छन् । अन्य विकसित मुलुकहरुले कोरोना कालमा बन्द भएर घाटामा गएका उद्योगहरुलाई सरकारले सहुलियत दरमा ऋण दिएर सुचारु गरेको थियो । तर, नेपालमा भने कोरोना कालमा बन्द भएका उद्योगहरु अहिले सञ्चालन गर्न खोजे तापनि घरभाडा, कर र कम्पनी नविकरण दोहोरो, तेहेरो जरिवाना असुल्ने कारणले उद्योगीहरु व्यवसाय छाड्न वाध्य भएका छन्
उद्योगहरु बन्द भएपछि त्यहाँ कार्यरत कर्मचारी पनि विदेश पलायन भएका छन् । सरकारले दोहोरो कर र जरिवाना तिराउन थालेपछि सानातिना उद्योग सञ्चालन गर्ने व्यवसायहरु आफ्नो उद्योग बन्द गरेर विदेशिन वाध्य भएका छन् । नेपालमै रहेका अधिकांश साना लगानीका व्यवसायीहरु पनि दोहोरो करको मारमा परिरहेका छन् । पहिलै कम्पनी दर्ता गरेर कर कार्यालयमा कर बुझाइ कर चुक्ता लिइसकेका व्यक्तिहरुलाई वडामा अनिवार्य दर्ता गर्नेपर्ने वाध्यता पारिएको छ ।
वडा कार्यालयमा व्यवसाय दर्ता गर्दा फेरि पहिलादेखिको घरभाडा, कर र जरिवाना तिराएर हैरान पार्ने काम गरिएको छ । कर कार्यालयमा घर बहाल कर, सामजिक सुरक्षा कर, अडिटर फि कर र बिलविजके कर एकमुष्ठ चुक्ता गरेर कर चुक्ता प्रमाणपत्र लिइसकेका कम्पनीहरुलाई फेरि वडामा दर्ता हुन जाँदा पहिलादेखि कै घर बहाल कर तिराउने काम राज्यले गरिरहेको छ । सरकारले उद्योगीहरुलाई दोहोरो कर तिराउन वाध्य बनाएपछि अधिकांश साना लगानीका व्यवसायीहरु पेशाबाट पलायन हुनथालेका छन् ।

