काठमाडौं । नेपाल कम्पोस्ट सचेतना सप्ताह २०८२ विभिन्न कार्यक्रमका साथ आज देशभर नै मनाइँदै छ ।
नेपाल कम्पोस्ट कन्सोर्टियमको आयोजनामा हुने ‘दिगो समुदाय कम्पोस्टबाट शुरु हुन्छन्’ भन्ने मूल नाराका साथ सप्ताह मनाउन लागेको हो । विगत २६ वर्षदेखि अन्तर्राष्ट्रिय कम्पोस्ट सचेतना सप्ताह निरन्तर आयोजना हुँदै आएको र यस वर्ष पनि अङ्ग्रेजी मे महिनाको पहिलो हप्ता भव्यताका साथ विश्वका विभिन्न स्थानमा मनाइँदै छ ।
साताव्यापी कार्यक्रमअनुसार आज बिहान ७ बजेदेखि ९ बजेसम्म भृकुटीमण्डपबाट वसन्तपुरसम्म कम्पोस्टिङ तथा फोहर व्यवस्थापनमा संलग्न विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलमा कम्पोस्ट सचेतना र्यालीको आयोजना गरिएको छ ।
यस कार्यक्रमले हरेक नेपाली नागरिकलाई घरदेखि कार्यालय, विद्यालयदेखि उद्योगसम्म आफ्नो जैविक फोहरलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गरी कम्पोस्ट उत्पादनमा लाग्न प्रेरित गर्ने विश्वास गरिएको छ ।
नेपाल कम्पोस्ट कन्सोर्टियमले सरकारी, गैरसरकारी, शैक्षिक, निजी क्षेत्र तथा नागरिक समाजसँगको सहकार्यमा देशभर कम्पोस्ट तथा जैविक फोहर व्यवस्थापनलाई व्यवहारमा उतार्न दीर्घकालीन प्रतिबद्धता जनाएको छ ।
विभिन्न सरोकारवाला सङ्घसंस्थाको साझा पहलस्वरूप गठित नेपाल कम्पोस्ट कन्सोर्टियमले यस सप्ताहलाई कम्पोस्टिङसँग सम्बन्धित जनचेतना अभिवृद्धि, व्यवहार परिवर्तन र स्थानीय समाधान प्रवर्द्धन गर्ने उद्देश्य सहित कम्पोस्टिङ तथा फोहर व्यवस्थापन, कृषि, कौसीखेती तथा यससम्बन्धी विभिन्न व्यवसायीज्ञानबारे समेत जानकारी दिइने छ ।