काठमाडौं । हेटौंडामा शुक्रबार अपरान्ह माछा बोक्ने सिंगल क्याप बलेरो गाडी (भ्यान) सडकमा एक्कासी भासिएर बेपत्ता भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ सिमाना नजिकै गैरीगाउँमा सडक भासिएर ना ४ च ४८३३ नम्बरको बलेरो गाडी (भ्यान) भासिएर जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको हो ।
गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको छ । गाडीका चालक र सहचालकले भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेण्डमै हराएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
गाडी भासिएको नजिकै माछापालन गरिएको पोखरी र बोरिङ समेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य भइरहेको र अहिलेसम्म गाडी फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।