काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आकासिइरहँदा सुन, चाँदी व्यवसायीहरुले विभिन्न माग राखी सरकारको विरोध जनाइरहेका छन् । सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर र बहुमूल्य धातु हिरा, पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने र सुनमा लगाइने भन्सार ६ प्रतिशत हटाउनुपर्ने माग राख्दै व्यवसायीहरुले सुन, चाँदी कारोबारको लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने माग राख्दै पसलमा ब्यानर टाँगेर आन्दोलन गरिराखेका छन् । उता, सुनको मूल्य दिनप्रतिदिन आकासिँदै गएको छ । सुनको मूल्य अकासिएसँगै तस्करीहरुको जालो तलदेखि माथिसम्म फस्टाएको छ । सुनचोरी तस्करीको सञ्जाल चारैतिर फैलिइरहँदा राजश्व अनुसन्धान र नेपाल प्रहरीले त्यस्ता तस्करहरुलाई पक्राउ गर्न सकेको छैन ।
राजश्व अनुसन्धान विभागले साना तस्कर र व्यापारीहरुलाई पक्राउ गरे तापनि ठूला तस्करहरुसँग मिलेमतो गरेर सेटिङ चलाइरहेका छन् । राजश्व अनुसन्धान विभाग र सुरक्षाकर्मीकै सेटिङमा सुन तस्करी हुने गरेको छ । त्यसले गर्दा तस्करहरुले उन्मुक्ति पाउने गरेका छन् । नेपालमा नियमपूर्वक भन्सार तिरेर सुन भित्र्याउने भन्दा चोरीतस्करीमा बढी सुन आउने गरेको पाइन्छ । चोरी तस्करीबाट नेपाल भित्रिएको सुन भारततिर तस्करी हुने गरेको छ । कर्मचारी र सुरक्षा निकायकै सेटिङमा भारततिर सुन तस्करी भइरहँदा राजश्व अनुसन्धान विगभा र सम्बन्धित निकायले ध्यान दिन सकेको छैन । राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरे अहिलेसम्मकै निकम्मा महानिर्देशक बनेका छन् ।
घिमिरेले ठूला सुन तस्करहरुलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । त्योसँगै राजश्व छली गर्ने उद्योगी, व्यापारीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । घिमिरे महानिर्देशक बनेको वर्षदिन हाराहारी हुँदा पनि राजश्व उठाउनको लागि तदारुकता देखाउन सकेका छैनन् । अधिकांश उद्योगी, व्यापारीहरुले विभिन्न बहानामा राजश्व छलि गर्दै आएका छन् । उद्योगी, व्यापारीहरु राजश्व छली गर्न तल्लीन छन् भने महानिर्देशक घिमिरेले त्यहीं कमजोरीको फाइदा उठाउँदै असुलीधन्दा चलाइरहेको स्रोतले उल्लेख गरेको छ ।
प्रधानमन्त्री मातहतमा रहेको राजश्व अनुसन्धान विभाग महानिर्देशक घिमिरेकै कारण विघटनतिर उन्मुख हुन पुगेको बताइन्छ । घिमिरेको कमाउधन्दा नफस्टाओस् पनि किन । उनको जागिरे अवधि यहीं असारभित्र सकिँदैछ । त्यसले गर्दा मालदार अड्डाको महानिर्देशक भएको हैसियतले कमाउधन्दा सञ्चालन गरेको घिमिरेमाथि आरोप छ । घिमिरेको जागिरे अवधि सकिन लाग्दा अन्य कर्मचारी राजश्व अनुसन्धानको महानिर्देशक बन्नको लागि प्रधानमन्त्री कार्यालयमा ताँती लाग्न थालेका छन् । अन्य क्षेत्रका कर्मचारीहरु ताँती लागेसँगै प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीहरु पनि त्यत्तिकै लागिपरेका छन् । त्यसमा विनोद लामिछाने, नमराज अधिकारी, प्रेम प्रसाद आचार्य र शिवादेवी दाहालको नाम चर्चामा आएको छ । त्यसैगरी सम्पत्ति सुद्धिकरणका महानिर्देशक सुमन दाहाल र अर्थमन्त्रालयका केही सहसचिवहरु पनि चलेखलमा लागेका छन् । यस्ता मालदार अड्डाको नियुक्तिमा तस्कर र माफियाहरुको हावी हुने गरेका छन् । त्यसले गर्दा पनि राजश्व अनुसन्धान विभागको महानिर्देशकमा कसले वाजी मार्ने हो भन्ने एकिन भएको छैन ।

