काठमाडौं । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले मलेसियालाई ९० रनमा रोकेको छ ।
क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालल मलेसियालाई ४३.१ ओभरमा अलआउट गर्दै ९० रनमा रोकेको हो । ९१ रनको चुनौती पाएको नेपालले अब जवाफी ब्याटिङ गर्नेछ । समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपाल उपाधि दाबेदार टिम हो ।
समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो। दोस्रो सेमिफाइनलमा आजै हङकङ र सिंगापुर भिड्दै छन्। हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो।
सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ।

