काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई शहरी विकास मन्त्रालयले जरिवाना तिर्न लगाएको छ ।
सम्झौताअनुसार योजनाको कुल रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक जरिवाना तिर्नुपर्ने हुन्छ । जुन करिब दैनिक दुई लाखभन्दा बढी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत् सम्झौताअनुसार यो नियम लगाएको हो ।
मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए । प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ
।
यसरी जरिवाना तिरेर बढीमा दुई सय दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत जरिवाना हुने अवधिसम्म काम गर्न पाइने कानुनी व्यवस्था रहेकोले सो अवधिमा पनि काम नसके निर्माण कम्पनीलाई कालोसूचीमा राखिने व्यवस्था रहेको छ ।
तर, निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको छ । ४ हजार कुर्सी फिटिङ भइसकेको छ भने ६ वटा फ्लडलाइटमध्ये ३ वटा पोल आइसकेको छ । प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।

