रसुवागढीलाई संझदै धादिङ्गमा

राजनीति लेख

अघिल्लो श्रृखलामा केरुङ्ग जाने सपना वोकेका हामी रसुवागढी पुगी फर्किएको विषय उल्लेख गरिएको थियो । रसुवागढी नजाँदासम्म कस्तो होला भन्ने कौतुहलता लाग्ने पुगे पछि हैट केहि रहनेछ नगए पनि हुन्छ भन्ने सल्लाह दिनेको सूचीमा हामी पनि थपियौं । रसुवागढीमा मन तान्ने केही कुरा पनि पाएका थिएनौं । मलाई यस्तै अवस्था पश्चिम तर्फको नाका टनकपुर जाँदा पनि लागेको थियो । नाम चर्चित टनकपुर तर त्यहाँ मनवहलाउने कुरा केही पनि छैन । त्यस्तै भयो रसुवागढी पनि । त्यसैले हामी आधाघण्टा पनि नवसी फर्किएका थियौं । हुन चाँही त्यही वास बस्ने भनेर गएका थियौं । जे गरिएछ ठिकै गरिएछ भन्ने लागिरहेको छ ।

धादिङ्ग यात्रा
रसुवागढी सिमाबाट बेलुका ४ बजे तिर हामी हिंडेका थियौं । जबकी हामी त्यही बास वस्ने भनेर गएका थियौं । सोही दिन अर्थात असार २२ गते नैं राती १० बजे तिर काठमाडौं घरमा पुग्यौं । सुत्यौं । असार २३ गते हामी धादि¬ंङ्ग जानु थियो, नुवाकोट रसुवाको जस्तै कार्यशालाको निम्ति । हाम्रो तालिका अनुसार २२ गते बेलुुका रसुवागढी वास वस्ने २३ गते विहान त्यहाँबाट काठमाडौं नआई धादिङ्गबेंशी जाने थियो । तर हामी २२ गते नैं काठमाडौं आएकोले २३ गते काठमाडौंबाट धादि¬ङ्ग तिर लाग्यौं । टोली सदस्य उही पुरानैै थियो । अर्थात सुदिल गोपाल आचार्य, विना श्रेष्ठ र म थियौं । साँझमा धादिङ्गवेशींको आर के होटलमा वास वस्न पुग्यौं । त्यहाँ कफसन नेपालका केन्द्रीय सदस्य कविता इटनी र कफ्सन धादिङ्ग अध्यक्ष सुशिला पाठकसँग भेट भयो । कार्यशालाको तयारीका वारेमा सामान्य गफगाफ गरियो ।

असार २४ गते विहानैं कान्छो भाई तिलराजले फोन ग¥यो । कता हो रसुवागढी त वाढीले लगेछ भन्यो । एक भिडियो पनि उसैले पठायो । हेरें अचम्म लाग्यो । ३६ घण्टा अघि मात्रै त्यहाँ पुगेको फोटो खिचेको भिडियो बनाएको पुल नैं छैन । बगाएछ । अचम्म परें । त्यसपछि मेरा आफन्त तथा मित्रहरुको फोन आउन थाल्यो । १ दिन अघि मात्रै फेसवुकमा रसुवागढीमा पुगेको फोटो पोष्ट गरेको थिएँ ।

अनलाइनमा समाचारहरु, भीडियोहरु आउन थाले । आफु पुगेको ३६ घण्टा पनि नपुग्दै स्वरुप परिवर्तन भैसकेको दृश्य देखियो । ३६ घण्टा अघि आफु त्यहाँ हुँदाको दृश्यहरु झल्झल्ती घुम्न थाल्यो । मेरो मोबाइलमा कैद भएका फोटो र भिडियो हेरें । अनी अहिले सामाजिक सञ्जालमा देखिएको दृश्यसँग तुलना गरे । मुखबाट ‘वाफरे’ भन्ने मात्र शव्द निस्कीयो । हामी २२ गते रसुवागढीको सिमाना पुल वा मितेरी पुलसम्म पु¥याउने मित्र गोकुल शिवाकोटीलाई फोन गरें । फोन लाग्यो । मनमा अलि ढुक्क भयो । केही घण्टीमा फोन उठाउनु भयो । हामी सवै सुरक्षित रहेको जानकारी गराउनु भयो । ठाउँ चाँही वगर भएको बताउनु भयो । हामीसँग भेट भएको भन्सारको कर्मचारी हरी प्रसाद सापकोटाकाबारेमा सोधें । उहाँ पनि सुरक्षित रहेको तर भेट भएको छैन भन्ने जानकारी गराउनु भयो । सुरक्षित रहनु होला भन्दै उहाँसँग केही जानकारी लिएँ । ३६ घण्टा अघि त्यहा पुगेका हामीहरु तिनै जना एकै ठाउँ वसी गफगाफ ग-यौं । मौकामा नैं त्यहाँ पुगि फर्किएछौ भन्ने आभास भयो । त्यहाँ नपुगेको भए त्यो अवस्थाको दृश्य वा मितेरी पुल देख्ने पाउने थिएनौं । अनी बेलैमा नफर्केको भए वा केही दिन ढिला गरेको भए त्यो विपद्मा हामी पनि फस्ने संभावना हुन्थ्यो ।

त्यहाँ खिचेको फोटो र भिडियोहरु फेसवुकमा अपलोड ग¥यौं । मोवाइलमा कैद नगरेका दृश्य आँखामा नाचिरहेका थिए । चिन तर्फ जान कन्टेनरहरु लामवद्ध थिए । सडकको आसपास यत्रतत्र नैं इभिगाडीहरु भन्सार प्रयोजनका निम्ति संयौका संख्या रहेका थिए । ती बगे भन्ने सुनियो । भन्सार कार्यालयको नयाँ ठुलो भवन निर्माणको अन्तिम समयमा पुगेको देखिएको थियो । त्यो पनि वग्यो रे । सुख्खा वन्दरगाह सखाप नैं भयो रे ।

विहान मर्निङ्ग वाकलाई हामी तिनै जना निस्कियौं । धादिङ्गवेशीं वजारको दक्षिण तर्फ तर वजार भन्दा अलि वाहिर पशुपती मन्दीर रहेछ । त्यहाँ पुग्यौं । त्यहाँ सुदिल गोपाल आचार्यको चिनजानका एक कृषि उत्पादक हुनुहुँदो रहेछ । उहाँसँग भेटघाट गरी वजार फर्कियौं । निलकण्ठ नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुङ्गानासँग भेटघाटको समय निर्धारण गरिएको थियो । विना श्रेष्ठ, कविता इटनी र म त्यहाँ गयौं । नगर प्रमुखसँग पुरानो चिनजान थियो । २०७१ सालमा चुरेमा जनअधिकारको अभियानको सन्दर्भमा पूर्व पश्चिम सचेतीकरणकालागि सँगै हिडेका थियौं । त्यो बेला देखि गाढा सम्वन्ध भएको थियो । त्यो बेलाका प्रसङ्ग पनि भीम दाई निकाल्नु भयो । उहाँको निवासमा ड्रागन फुड अनी मह तातोपानी खाएर निस्कियौं । विन कफि खाने रहर पनि धादिङ्गवेशींमा पूरा गरियो ।

धादिङ्गवेंशीमा असार २४ देखिबाट कार्यशाला सुरु भयो । निलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा संक्षिप्त उद्घाटन सत्र सञ्चालन भयो । गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त लामा, रुवी भ्याली गाउँपालिकाको उपाध्यक्ष लगायतका जनप्रतिनिधि, सामुदायिक वन, नागरिक संगठनहरु समेतको सहभागीता रहेको कार्यशालामा जलवायु उत्थानशिलताको वारेमा चर्चा भयो ।

दिन भरी जसो कार्यशालामा व्यस्त नैं भैयो । यस विचमा धेरै वटा फोन आए । सहजिकरण गरिरहेको बेलामा आएका कलहरु उठाउन सकिन । अनी कलव्याक गरें । मेसेन्जर कल, फोन लगायतबाट सम्पर्क भैरहेको थियो । मुलुक भित्र र वाहिरबाट पनि चासो लिएर सोधखोज गर्नु भयो । यो दिन भरी जसो नैं साथी भाई इष्टमित्रले सोधी खोजी गरिरहनु भयो । हामीलाई संझिने धेरै रहेछन् भन्ने आभाश पनि भयो ।

यस पटकको यात्रामा राजनीतिक भेटघाटलाई पनि प्राथमिकतामा राखेको थिएँ । नुवाकोटमा नेकपा एमाले विदुर नगर कमिटीका अध्यक्ष संजिव श्रेष्ठसँग भेटघाट भएको थियो । त्यसै गरी रसुवामा जिल्ला कमिटीका कावा अध्यक्षसँग भेटघाट भएको थियो । धादिङ्गमा पनि नेकपा एमाले निलकण्ठ नगर कमिटीका अध्यक्ष काजि श्रेष्ठसँग भेटघाट गरियो । अनुभव आदान प्रदान गरियो । नगर कमिटीका अध्यक्षहरुसँग नियमित भेटघाट तथा अनुभव आदान प्रदानकालागि सामुहिक पहल गर्ने सल्लाह समेत ग¥यो । धादिङ्गको वसाईको क्रममा नेकपा एमाले जिल्ला कमिटीका सचिव राधिका सापकोटा, उपसचिव उर्मिला रेग्मी, सदस्य रिता परियार र थाक्रे गाउँपालिका कमिटीको उपाध्यक्ष श्याम थापा सहितको टिमसँग कुराकानी भयो ।

अर्को संयोग पनि प¥यो, डिभिजन वन कार्यालय धादिङ्गले गणेश हिमाल वन संरक्षण क्षेत्र सम्वन्धी एक अन्तरक्रिया कार्यक्रम राखेको रहेछ । डिभिजनल वन अधिकृत विष्णु आचार्यले त्यस कार्यक्रममा मलाई पनि निम्ता गर्नु भयो । कार्यक्रमको प्रमुख अतिथी प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल हुनुहुँदो रहेछ । उहाँसँग पनि कुराकानी गर्ने मौका मिल्यो । कार्यक्रममा वन संरक्षण क्षेत्रले समुदायलाई पार्न सक्ने प्रभाव र प्रकृयाका बारेमा मैले पनि केही कुरा राखें । ३ दिनको धादिङ्गवेंशीको बसाई पछि हामी बागमती प्रदेश राजधानी हेटौडा तिर लाग्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *