अघिल्ला श्रृखला देखि दोलखाका वन केन्द्रीत भैं लेखिरहेको छु । केही साता अघि दोलखाको गौरीशंकर गाउँपालिकामा सामुदायिक वनका अगुवासँग स्थलगत छलफल गर्ने मौका मिलेको थियो । सोही आधारमा निरन्तर लेख्ने क्रम जोडी रहेको छु । पुसको १ देखि सुरु भएको हाम्रो गौरीशंकर यात्रा ५ गते सिंगटीमा सामुहिक छलफल गरी चरिकोट फर्के पछि टुङ्गिएको थियो । ग्रामिण भेटमा मानिसहरु छैनन्, सामुदायिक गतिविधिहरु हुँदैन्न भन्ने भाष्य शहर तिर बनाइरहेका छौं । तर गौरीशंकरमा पुग्दा त्यो भाष्यमा हामी सहमत खासै हुन सकिएन । माथिल्लो क्षेत्रको भुभागमा मानिसहरुको वसोबास, उपस्थीति र नियमित काम भैरहेको नैं पायौं । त्यहाँ सामुदायिक वन प्रतिको चासो र संलग्नतामा कमि लागेन ।
साँझको हिँडाई
पुस चिसोमा डुब्न लागेका घामसँगै हामी डिकर्पुबाट यार्शा तिर लाग्यौं । पण्डित सामुदायिक वनको सचिव तथा गौरीशंकर गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत मिङ्मा छेकी शेर्पा हाम्रो पथ प्रदर्शक हुनुहुन्थ्यो । उहाँले भने अनुसारको बाटोमा लुरुलुरु हिड्ने चाँही हरिहर न्यौपाने, जगन्नाथ वस्नेत, सज्जन रेग्मी, इन्द्र आचार्य र म थियौं । डुम्ने बेलाको घाम गौरीशंकर हिमाल परेको देखियो । सवैले रमाइलो मान्दै क्यामेरामा वन्द ग¥यौं । यो हिमाल नेपालको समय निर्धारक हिमाल हो । यस हिम श्रृखलामा धेरै टाकुरा छन् । त्यस मध्ये गौरी र शंकर नाम राखिएका २ टाकुरा मध्ये गौरी भन्नेमा चाँही वर्को ओडेको जस्तो गरी हिउँले छोपिएको देखिन्छ । फोटो खिच्दै, गफ गर्दै हिड्यौं । बाटो सिधा थियो । उकालो ओरालो हिड्नु नपर्दा हामी सबैलाई सहज नैं भएको थियो ।
हाम्रो पथ प्रदर्शकले साँझमा एक घरमा पु¥याउनु भयो । घरमालिक हुनुहुन्नथ्यो । तैपनि हामी वस्ने भनेको कोठा त्यही थियो । त्यही छि¥यौं । केही बेरमा हाम्रो आजको घरभेटी आइपुग्नु भयो । उहाँ सहितको टिमले बाख्रा पालन व्यवसाय चलाउनु भएको रहेछ । पालैपालो बाख्रा र खोर हेरचाह गर्ने नियम बसाल्नु भएको रहेछ । अहिले उहाँको पालो परिरहेको रहेछ । झमक्कै साँझमा घर आउनु भयो । भटमास मकै तातोपानी दिनु भयो । हँसिलो अनुहारकी धनी उहाँ हाम्रो एक दिने घरभेटीको नाम चाँही याङजी शेर्पा ।
हामी मकै भटमास खान मस्त भयौं । हाम्रो पथ प्रदर्शक र घरभेटी चाँही अँगेनामा दाउराले भात पकाउँन थाल्नु भयो । हामी मकै खाँदै दिन भरको कार्यक्रमको समिक्षा गरी भोलीको योजना वनाउन थाल्यौं । खाना तयार भयो । स्वादिलो थियो । टन्न खायौं ।
पुस ४ गते विहान अबेर अबेर नैं उठ्यौ । हामी बसेको ठाउँमा घाम धेरै ढिला लाग्दो रहेछ । अल्छी मान्दै उठेर यसो हिड्ने भनेको हाम्रो घरभेटी बाख्राको खोरमा जाने सुरसार गर्दै हुनुहुँदो रहेछ । हामी पनि त्यती लाग्यौं । केही मिनेटको हिडाइ पछि पुगियो । आधुनिक खोर बनाई बाख्रा राख्नु भएको रहेछ । बोयर जातको बोका सहितको खोरमा बाख्रा पालनको काम केही बेर अबलोकन ग¥यौं । अनी त्यहाँ कुराकानी समेत ग¥यौं । दिउँसो कार्यक्रम भएकोले अलि हतार गर्दै फर्कियौं ।
खाना खाएर सडक नजिकै रहेको गुम्वा छेउकै चौरमा गयौं । पण्डित सामुदायिक वनका अगुवाहरु जम्मा हुनु भएको रहेछ । केही अनौपचारिक गफ पश्चात २५ जना जती जम्मा भए पछि हामीले हिजो अस्तीको जस्तै कार्यक्रम सुरु ग-यौं ।
पण्डित सामुदायिक वन
गौरीशंकर हिमाललाई पृष्ठभूमि राखेर अनी बौद्ध स्तुपा छेउमा गोलाकार भैं हामी बसेका थियौ । सामुदायिक वनको मर्मका केही समय चर्चा ग¥यौं । त्यस पछि पण्डित सामुदायिक वनको अहिलेको अवस्था पहिचान गर्न नजिकै रहेको गुम्बाको छतमा चढ्यौं । त्यहाँ स्थानीय सामाग्री प्रयोग गरी सहभागीतामूलक तरिकाबाट वन र समुदायको क्षेत्रको नक्सा वनायौं । त्यहाँ भएका मूख्य वस्तुस्थीतिलाई नक्सामा उतारे पछि अबको चाहेको अवस्था निक्र्यौलकालागि सोही नक्सामा थप गर्नु भयो । अनी सामुहिक छलफल गरी त्यो काम गर्न कस्ले के गर्ने भन्ने योजना बन्यो ।
पण्डित सामुदायिक वन उपभोक्ता समूह गौरीशंकर ४ मा पर्दछ । २०५७ असार ३१ ह्स्तान्तरण भएको सामुदायिक वन हो । यसमा ५११.७९ हेक्टर वन क्षेत्र रहेको छ । उत्पादनशिल वन क्षेत्र चँही २८३.८४ रहेको भनी कार्ययोजनामा लेखिएको छ । २९९ घरधुरी यसका सदस्य रहेका छन् ।
सहभागीतामूलक अभ्यासबाट केही योजना तर्जुमा भएका छन् । फर्निचर उद्योग सञ्चालन, अल्लो तथा अर्गेली प्रशोधन, लौठ सल्ला वृक्षारोपण र संकलन, पदमचाल संकलन र विक्रि, धसिंगरे रोपण एवं दिगो संकलन र प्रशोधन, रातो च्याउ, निग्रो संकलनलाई संस्थागत गर्ने, पानीको मूहान संरक्षण, चौरीपालकहरुसँग छलफल गरी सवाल पहिचान गरी सम्वोधनकालागि पहल गर्ने, अग्नी रेखाको माध्यमवाट चेदुङ्गसम्मको आगमनको सहजता गरी पर्यटन विकासमा योगदान गर्ने जस्ता योजना निर्धारण भएका छन् । समिति समावेशी र नियमित वैठक बस्ने, आभभेला नियमित र सभाबाट प्रतिवेदनहरु र वजेट पारित गरी कार्यान्वयन गर्ने, लेखापरिक्षण र कर चुक्ता नियमित गर्ने, योजना तर्जुमामा पालिकासँग समन्वय गर्ने, विधान र वन कार्ययोजनाका वारेमा टोलस्तरमा छलफल, चौरीपालकको आवश्यकता पूरा गर्नकालागि पालिकासँग समन्वय कामहरु पहिचान भएका छन् । यी काम गर्ने सामुहिक अठोट गरिएको छ ।
छलफल कार्यक्रम पश्चात हामी सिंगटी जाने भनि ओरालो लाग्यौं । यो टोलीबाट मिङ्मा छेकी शेर्पा छुटी सक्नु भएको थियो । ५ जना टोली डरलाग्दो ओरालो झर्दै सिङ्गटीमा पुगी चिनारी होटलमा बास बस्यौं । सिङ्गटीमा पुसको ५ गते गौरीशंकर गाउँपालिका वडा नं. १ देखि ४ सम्मका सामुदायिक वनका अध्यक्षहरुको भेला थियो । त्यहाँ रहेका २२ वटा समूहहरु मध्ये केहीबाट प्रतिनिधित्व हुन सकेन अधिकांशको सहभागीता रहेको थियो । उहाँहरुले अबको सामुदायिक वन कस्तो हुने त्यसकोलागि के गर्ने भन्ने बारेमा व्यापक छलफल गर्नु भयो ।
छलफलमा फेकोफन दोलखाका अध्यक्ष जगन्नाथ वस्नेत र सब डिभिजन वन कार्यालयका प्रमुख कमल प्रसाद आचार्यले समूहको चाहाना प्रति आफ्ना कुरा तथा संस्थाले खेल्ने भूमिकाको वारेमा बताउनु भयो । सामुहिक छलफलबाट हरेक समूहले वार्षिक रुपमा साधारण सभा र नियमित वैठक बस्ने, बार्षिक रुपमा लेखापरिक्षण गर्ने र कर चुक्ता लिने, प्रतिवेदन तयारी र सम्वन्धीत निकायमा पेश, वार्षिक सभामा स्थानीय तहको प्रतिनिधित्व र स्थानीय तहको योजना तर्जुममा सामुदायिक वनको भूमिका निर्वाह गर्ने, विधान र वन कार्ययोजना कार्यान्वयनका काम गर्ने र विधान र वन कार्ययोजना वारेमा उपभोक्तालाई जानकारी र सवैको सहभागीतामा परिमार्जन गर्ने जस्ता क्रियाकलाप निक्र्यौल भए ।
समूहहरुको सहकार्यमा
उपस्थीत रहेका सामुदायिक वनहरुले सामुहिक रुपमा मिलेर गर्ने केही कामको सूची समेत तयार भएको छ । धसिंगरे प्रशोधनकालागि छिमेकी समूहहरु समन्वय गर्ने, काठ मिल सञ्चालनको काम पण्डित र जमखर्कले गर्ने अरु सामुदायिक वनले सहकार्य गर्ने, जडिवुटी पहिचान र संकलनकको सम्वन्धी तालिम गर्ने यसकालागि समूह, पालिका, स्थानीय फेकोफन, सियास संस्था सहयोगकालागि अपेक्षा गर्ने, फर्निचर कारखाना सञ्चालन गर्ने रमिते ठुलढुँगा सामुदायिक वनमा, महिला सशक्तिकरण तालिमकालागि पालिका र वन कार्यालयसँग सहकार्य गर्ने र वन स्रोत उद्यमले प्रयोग गरे वापत समूहले शुल्क लिने कामकोलागि सामुहिक पहल गर्ने निक्र्यौल भयो ।
हरेक संस्था वा समूहले परिकल्पना निर्धारण गरी सो अनुसारको क्रियाकलाप छनौट गरी कार्यान्वयन भएमा मात्र संस्थागत हुन सक्छ । सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीले मात्र अपेक्षाकृत उपलव्धी हासिल हुन सक्नेछ । सामुदायिक वनको अभियान सफलतामा समूहहरु मात्रैको संलग्नताले पुग्दैन । यसमा वन कार्यालय, स्थानीय सरकार, सेवा प्रदायक संस्थाहरु र छाता संगठन फेकोफन समेतको सहकार्य आवश्यक पर्दछ । सिङ्गटीमा भएको १ दिने छलफल पश्चात हामी ४ जना चरिकोट तिर लाग्यौं । इन्द्र आचार्य उहाँ घर तिर जानु भएकोले हामी ४ मात्रै चरिकोट पुगि यो पटकको गौरीशंकर सामुदायिक वन मिसन समापन ग¥यौं ।