काठमाडौं । नेपालमा दिनहुँजसो भ्रष्टाचारका समाचारहरु सञ्चारमाध्यममा आइरहेका छन् । जतिसुकै सञ्चारमाध्यममा भ्रष्टाचारका समाचार आए तापनि “तँ रोए झै गर म कुटेझैँ गर्छु’ भन्ने भनाइ चरितार्थ भएको छ । अख्तियारले मुद्दा दायर गरिरहने कर्मचारीले त्यसलाई नटेर्ने । हालै मात्र तत्कालीन सिंचाई विभागका इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड विगो दावीसहित भ्रष्टाचार गरेको मुद्दा दायर गरेको छ । यो त एउटा उदाहरण मात्रै हो ।
नेपालमा यस्ता भ्रष्टाचारका मुद्दा त हजारौं विचाराधिन अवस्थामा रहेका छन् । कतिपय ठूला–ठूला भ्रष्टाचार गर्ने कर्मचारीहरु कालो धनलाई सोतो बनाउनको लागि अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा सरुवा भएर जाने र केही वर्षसम्म अख्तियारमै बस्ने गरेका छन् । सञ्चारमाध्यममा आएको समाचारहरुलाई लिएर अख्तियारका कर्मचारीहरुले जुन–जुन निकायको भ्रष्टाचारको समाचार आउँछ त्यसैको आधारमा कर्मचारीहरुलाई फोन गरेर तपाईंको नाममा उजुरी परेको छ भन्दै डर देखाउने काम गर्छन् । डर देखाउनुको साथै सो मद्दा मिलाउनको लागि उजुरी परेका कर्मचारीहरुले खामबन्दी बुझाउने चलन नौलो होइन ।
राजनीतिक दलहरुले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भागबन्डा गरी प्रमुख आयुक्त र आयुक्तहरु नियुक्ति गर्दै आएका छन् । निजामती क्षेत्रबाट पूर्व सचिवहरुलाई नियुक्ति गर्ने चलन छ भने सुरक्षा निकायबाट पूर्व आईजीपी अथवा एआईजीहरुबाट नियुक्ति गर्ने चलन छ । नेकपा एमालेबाट अख्तियार प्रमुखमा प्रेम राईलाई नियुक्ति गिरिएको थियो भने कांग्रेसले जयबहादुर चन्दलाई आयुक्त बनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी र कर्मचारीहरुबीचको टसल त्यत्तिकै छ ।
प्रहरी अधिकृतहरु अख्तियारमै बसिरहन्छन् भने कर्मचारीहरु अन्यत्र सरुवा भएर जाने गर्दछन् । त्यसले गर्दा पनि सुरक्षा निकाय र अख्तियार प्रमुखहरुबीच समन्वयकारी भूमिका हुँदैन । अख्तियारले भ्रष्टाचारको मुद्दा न्यायालयमा दर्ता गर्दछ भने न्यायालयले सफाइ दिने काम गर्दछ । अख्तियार र न्यायालयको समन्वयकारी भूमिका नहुँदा भ्रष्टाचारहरुले उन्मुक्ति पाउँदै आएका छन् । त्यसैगरी राजनीतिक दल र कर्मचारीबीच टसल हुन थालेको छ । कर्मचारीलाई भ्रष्टाचार गरेको मुद्दा परिरहने तर राजनीतिक दलका नेता र कार्यकर्तालाई भने मुद्दा परेपनि कारबाही हुने गरेको छैन । त्यसैकारण कर्मचारीहरुले काम गर्न छाडिसकेका छन् ।
अख्तियारमा एमाले र कांग्रेस निकट कर्मचारीहरुका उजुरीका चाङ छन् । अन्य दलनिकट कर्मचारीहरुको उजुरी न्यून देखिएका छन् । अख्तियारमा प्रमुख आयुक्त र आयुक्तहरु धेरै जसो कांग्रेस र एमाले निकट भएको कारण कांग्रेस र एमाले कर्मचारी निकट कर्मचारीहरुको उजुरी तामेलीमा राख्ने गरिएको छ । त्यसले गर्दा पनि दिनप्रतिदिन भ्रष्टाचार बढ्दै गएका छन् । यदि कांग्रेस र एमाले निकट कर्मचारीहरुको उजुरी छानविन गर्ने हो भने दलहरुबीचमै टसल पर्ने भएकाले उनीहरुको उजुरीमाथि छानविन हुने अवस्था छैन ।