संघीय मन्त्रीको दावी एकातिर, काम अर्कोतिर

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेलाई गत विहिवार प्रेस चौतारी नेपालले मन्त्रालयमै गएर बधाइ तथा शुभकामना दिएको थियो । चौतारीको सो शुभकामना कार्यक्रममा मन्त्री न्यौपानेले मन्त्रालयभित्रको विकृति र विसंगतिबारे उजागर गरेकी थिइन् । त्योसँगै कतिपय स्थानीय पालिकाहरुमा सहसचिव खटाएर अनुगमन गर्नसमेत लगाएको मन्त्री न्योपानेले दावी गरेकी थिइन् ।

मन्त्री न्यौपानेको त्यस्तो दावी हेर्दा ‘कहिँ नभएको जात्रा हाँडीगाउँमा’ भने झै लाग्दथियो । किन कि ७५३ स्थानीय तहमध्य ३ सयभन्दा बढी स्थानीय पालिकामा व्यापक भ्रष्टाचार भएपछि बेरुजुमा परेका छन् । कतिपय पालिकाका जनप्रतिनिधिहरुले कार्यकारी प्रमुख फेरबदलमै बजेट तहसनहस बनाइरहेका छन् । उता अधिकांश जनप्रनिधिहरुले आफ्नो दल निकट कार्यकारी प्रमुख चाहियो भनेर दबाब दिन सिंहदरबार धाएर दिन बिताइरहेका छन् । पछिल्लो समय सबैभन्दा बढी भ्रष्टाचार हुनेमा स्थानीय सरकार पहिलो भएको छ । स्थानीय तहमा विकास निर्माणदेखि ठेक्कापट्टा र सर्वसाधारणको काममा ब्यापक भ्रष्टाचार, विकृति, विसंगति र ढिलासुस्ती हुने गरेको पाइन्छ ।

बिना घुस सर्वसाधारणको काम नहुने गरेको पीडितहरुको गुनासो पनि त्यत्तिकै छ । उता, मन्त्री न्यौपाने भने मन्त्रालयमै चौतारीका पत्रकार बोलाएर आफूले स्थानीय तहमा हुने ढिलासुस्ती, भ्रष्टाचार र विकृति रोक्न मन्त्रालयबाट सहसचिव खटाएर अनुगमन गर्न लगाएको बताइरहेकी थिइन् । प्रेस चौतारीले नवनियुक्त मन्त्री न्यौपानेलाई बधाइ तथा शुभकामना दिने कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले कर्मचारी समायोजना गर्दा योग्यता, क्षमता र अनुभवको आधारमा निष्पक्ष ढंगले गर्ने दावी गरेकी थिइन् । त्योसँगै संघीयतालाई सरोकारवाला र विज्ञहरुसँग छलफल र बहस गरी पूर्ण रुपमा कार्यान्वयन गर्ने समेत बताएकी थिइन् ।

पछिल्लो समय जुन पार्टीबाट मन्त्री नियुक्त हुन्छन् त्यही पार्टी निकट पत्रकारहरु मन्त्रालयमै गएर बधाइ तथा शुभकामना दिने संस्कृतिको विकास हुन थालेको छ । एमालेबाट मन्त्री नियु्क्ति हुँदा प्रेस चौधरी मन्त्रालयमै गएर बधाइ दिने, कांग्रेसबाट मन्त्री नियुक्ति हुँदा प्रेस युनियन बधाइ दिन जाने, माओवादीबाट मन्त्री नियुक्ति हुँदा प्रेस सेन्टरका पत्रकारहरु बधाइ दिन जाने संस्कृतिको विकासले मन्त्रालयको धज्जी उडाउने काम हुँदै आएको छ ।

दलनिकट पत्रकारहरुका संघ, संगठनहरुले आफ्नो पार्टीका नेताहरु मन्त्री हुँदा संगठनको कार्यालयमा अथवा होटलमा कार्यक्रम आयोजना गरी बधाइ तथा शुभकामना दिनुपर्नेमा मन्त्रालयमै गएर कार्यक्रम गरी बधाइ दिनु उचित नहुने सर्वसाधारणको भनाइ छ । तर, सरकारी कार्यालयको दुरुपयोग गर्ने काम सबै दलनिकट भातृ तथा शुभेच्छुक संघ, संगठनहरुबाट हुँदै आएको छ । यस्ता विकृति, विसंगति रोक्न न दलका शीर्ष नेताहरुले ध्यान दिएका छन् न त सम्बन्धित निकायले नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *