काठमाडौं । देशमा जेनजी विद्रोहले निम्त्याएको सत्ता उलटपुलटले ‘मैहुँ’ भन्ने ठूला दलहरुको हैसियत राम्रोसँग देखाइदिएको छ । जेनजी पुस्ताको आन्दोलनमा तीनै पुराना दलहरुमध्य एकले अर्काको पार्टी कार्यालय पालैपालो जलाएका थिए । राष्ट्र र जनताको पक्षमा सिन्कोसमेत नभाँचेको पछिल्लो सरकारको दुई तिहाई आफै जनताबाट अस्वीकृत हुँदा २४ घण्टामै सरकार ढल्न पुग्यो । १० औं संविधान दिवसको दिन पार्टी एकता गर्ने तहमा पुगेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा चन्द र नेपाल समाजवादी पार्टीको एकता कल्पनाभन्दा बाहिर पुगेको छ ।
असोज ३ गते पार्टी एकता गर्ने भनेर प्रदेशको नेतृत्व विभाजन गरिसकेका माओवादी र एकीकृत समाजवादीमा समस्या थिएन । पार्टी महाधिवेशनबाट समाजवादी धार पारित गर्ने लिखित प्रस्तावमा जनताको बहुदलीय जनवाद त्याग्न नसक्ने माधव कुमार नेपाललाई झलनाथ खनाल र घनश्याम भुषाल नै वाधक बनेका थिए । आदर्शका कुरा गर्ने संगठन निर्माणमा ध्यान नदिने झलनाथको इलाम २ को उपनिर्वाचनमा धोती खुस्किन पुगेको थियो । उता घनश्याम भुसाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषिमन्त्री बनाएर बदनाम बनाइदिएका थिए ।
अहिले एकीकृत समाजवादी पार्टीको अस्तित्व धरापमा परेको छ । चुनाव भएको खण्डमा एकीकृत समाजवादी पार्टीले काहिँ कतैबाट एक सिट जित्न सक्ने हैसियत देखिँदैन । त्यो पार्टीभित्र विद्यार्थी र युवा संघमा समानन्तर संगठन बनाएर झलनाथ र घनश्यामले जात्रा देखाएका छन् ।
अध्यक्ष माधव कुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणले बदनाम बनाइदिएको छ । पार्टीको नयाँ संरचना बन्न सकेको छैन । पत्रकारहरु पुरानै घर प्रेस चौतारी नेपालमा फकिइसकेका छन् । पत्रकारहरु पुरानै घरमा फर्किएपछि नेतृत्व युवाहरुलाई सुम्पेका शम्भु श्रेष्ठले नै नेतृत्व समाल्नुपर्ने वाध्यता भएको छ । अब एकीकृत समाजवादीले पार्टीको अस्तित्व बचाउने हो भने कुनै न कुनै मिल्नुपर्र्छ । एमालेले महत्व दिएन । उता माओवादीले झलनाथ र घनश्यामको विरोधको वास्ता गरेन । तर, त्यो पार्टी विशेष महाधिवेशनको तयारीमा जुटेको छ ।
पार्टी मिलेको खण्डमा एकीकृत समाजवादीलाई २, माओवादीलाई ३, नेकपालाई २ प्रदेशको तेतृत्वको जिम्मा दिने र जिल्ला समितिहरुको निर्माण प्रदेशकै आधारमा गर्ने सहमति पनि गरेका थिए । अहिले देशको अवस्था अनुसार अगाडि बढ्न वाध्य पारेको एकीकृतका एक नेताले बताउन थालेका छन् । तर, अहिले आएर त्यो एकताको सम्भव देखिँदैन ।
जेनजी पुस्ताको आन्दोलनले गर्दा पुराना दलहरु खुलेर सडकमा आउन सकेका छैनन् । कांग्रेसका महामन्त्री गगन थापा खुलेरै राजनीतिक दलहरुको विकल्प नरहेको बताउन थालेका छन् । उता, एमाले नेता महेश बस्नेतले आगामी निर्वाचन एमाले बिना सफल नहुने बताइरहेका छन् । त्यसैगरी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुरक्षा खतरा बढेको बताइरहेका छन् । त्यसको मतलब यो देशमा शान्ति सुरक्षा र अमनचयन छैन । त्यसले गर्दा आगामी फागुन २१ गते संघीय निर्वाचन नहुने संकेत गर्नु हो ।
अर्कोतिर एकीकृत समाजवादीका नेता, कार्यकर्ताहरु खुलेर बोल्न सकेका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने छेपारोले रंग फेरेझैं बोली फेर्दै कहिले दलहरुको विकल्प नभएको भन्दै संसद् पुनस्थापनाको कुरा उठाउँछन् त कहिले जेनजी पुस्ताको आन्दोलन नै हाम्रो आन्दोलन हो, त्यसैले निर्वाचनमा जानुपर्छ भन्दै ढुलमुले नीति अबलम्बन गर्दै आएका छन् । उता, तराईवासी दलहरु भने जेनजी आन्दोलनयता गुमनाम जस्तै भएर बसिरहेका छन् । त्यसले गर्दा देशको राजनीतिले कुन मोड लिने भन्ने एकिन छैन ।

