जाउँ हैं शैलुङ्गको सुन्दरता हेर्न

Uncategorized राजनीति लेख समाचार

भोला खतिवडा
रहर थियो, च्छोरोल्पा ताल जाने । हाम्रो परिवारमा यस पटक दशैं तिहारमा पर्व मनाउन नमिल्ने अवस्था थियो । त्यसैले दशैंमा च्छोरोल्पा जाने सोच थियो तर हिले दशैं हुने पूर्वानुमान भएको हुँदा जान सकिएन । त्यताको तिर्सना मेट्न दशैंको नवमीको दिनमा शैलुङ्ग तिर हानियौं । गाडी चालक सहित ९ जनाको टोली घेवापानीबाट विहान साढे पाँचमा नैं त्यता लाग्यौं । चरिकोटबाट सिधै वाघखोर जाने बाटो भएतापनि सडक कच्ची भएकाले मुडे तिरको कालोपत्रे सडक नैं रोजाइमा प¥यो । म, दुई दशक अघि त्यहाँ पुगेको थिएँ । म र चालक बाहेककालाई शैलुङ्ग नयाँ थियो । सबैमा उत्सुकताका झलक प्रष्टै देखिन्थ्यो ।

गजबको शैलुङ्ग
दुई दशक अघि शैलुङ्ग पुगेको परिदृष्य मेरो मानसपटल धुमिल थियो । त्यो बेलामा स्मरणलाई ताजा वनाउने कोशिस गरिरहेको थिएँ । हामी लामोसाँगु जिरी सडक हुँदै मोडे पुग्यौ अनी मुडेबाट मोडिएर कालोपत्रे सडक हुँदै वाघखोर गएका थियौं । हामी खाली पेटमा नैं थियो । हामीसँग रहेका जेनजीहरुले थुक्पा खाने रहर गरे । खाए । हामी दर्शक मात्रै भयौं । हामी केही अघिसम्म कालोपत्रे पायौं । त्यस पछि सुरु भयो कच्चि सडक । सडक पिचकालागि गिटीहरुको राश ठाउँ ठाउँमा थियो । कालोपत्रे गर्ने उपकरणहरु नैं खिया परेका भेटिए । तोडफोड भएका भेटिन्थ्ये । हाम्रो चालक यस्तो दृश्य देखिएको एक वर्ष भन्दा वढि भैसक्यो भन्दै हुनुहुन्थ्यो ।

सडकमा भएका खाल्डाखुल्डीका कारण बोलेरोमा पिङ्ग खेलेको महशुस गर्दै हामी कालापानी भन्ने स्थानमा पुग्यौं । हामी दौडेको सडकको आसपासमा तरकारीको व्यवसायीक खेती गरेको दृश्य देख्दा मन लोभ्यायो । कालापानीमा हाम्रो गाडी रोकियो । गाडीको अन्तीमा गन्तव्य यहाँसम्म मात्रै हो । अब हामी पैदलै हिड्नु विकल्प हामीसँग थिएन । यहाँ व्यापरिक होटलहरु टन्नै देखिन्थ्ये तर हामीलाई आवश्यक परेको थिएन । हामी अव हिड्नु थियो ।सवै कस्सीयौं । हिड्न मुस्कील पर्दछ भन्ने थियो तर रमाइलो थियो किनकी त्यहीबाट सुरु हुन्थ्यो मिनी ग्रेटवाल । फोटो खिच्दै, हाहाहुहु गर्दै हाम्रो टोली अगाडी वढ्यो । तर धेरै हिड्न सकिएन थकाइ लाग्यो । छोरी प्रकृतीलाई अलि मुस्कील प¥यो । अरु केहीलाई पनि गाह्यो परिरहेको थियो । हाम्रो टोलीमा अनीता, गिता, सुरेश, गोपी, अप्सरा, प्रकृति, प्रत्युष र म थियौं ।

मिनी ग्रेटवालमा ढुँङ्गा छापिएको थियो । दायाबायाँको पर्खाल पनि ढुङ्गाको नैं थियो । विश्राम गर्दै हाम्रो टोली हिडिरह्यौं । ५०० मीटर लम्बाईको ग्रेटवाल पछि पनि पैदलै हिड्नु पर्ने थियो । उकालो खासै हैन तर हिड्न त्यती सजिलो पनि भएन । पानी पर्ला भनी केहीले रेनकोटनैं लगाएर गएका थिए । अब गर्मि भयो । लुगा नैं धेर हुन थाल्यो । रेनकोट त्यहीएको एक प्रतिक्षालयजस्तो स्थानमा राखेर हामी अगाडी वढ्यौं ।

जव शैलुङ्गका थुम्का नजिकै पुग्यौं । रमाइलोको सिमा रहेन तर हिड्न मुस्कील नैं परिरहेको थियो । महाभारत श्रृखलाको सवै भन्दा उच्च स्थान शैलुङ्ग हो । यसको उचाई झण्डै ३ हजार २ सय मिटर जती छ । सयवटा बढि थुम्का भएकोले शैलुङ्ग नामाकारण गरिको भनिन्छ । त्यहाँ एक गुम्वा र टाबर वनाएको रहेछ ।त्यसलाई टुप्पो मानेको पाइयो । हाम्रो गन्तव्य पनि त्यही मानेर कस्सीयौं । हामी मध्ये २ जना भाञ्जा गोपी र छोरो प्रत्युष हिड्नमा वढि आँटिला पाइयो । उनीहरु टुप्पोमा पुगेको आधाघण्टा पछि मात्रै हामी पुग्यौं । हामी पनि टावर चढ्यौं । फोटो खिच्यौं । दिन घमाइलो थियो । रमाइलो नैं भयो ।

दशैंको नवमीको दिन भएपनि शैलुङ्ग भ्रमण गर्ने राम्रै संख्यामा थिए । अनुमान गर्न सक्छौं अरु दिनमा पक्कै वाक्लो भीडभाड हुने गर्दछ । नयाँ वर्षमा सवै भन्दा वाक्लो भिड हुन्छ भन्ने सुनिएको थियो ।
हरिया थुम्का घोडाहरु चरिरहेको दृश्य चित्ताकर्षक थियो । हामी टावर चढेर, फोटो खिचेर नजिककै गुम्बा घुमेर पश्चिम तर्फको थुम्को तिर लाग्यौं ।

हामीले केही खानेकुरा लगेका थियौं । त्यही फुकायौं । खायौं । नजिकैै वुद्धको पाइला भन्ने स्थान रहेछ त्यता पनि हे¥यौं । अनी रामेछाप र सिन्धुपाल्चोक जिल्लाका केही भुभाग पनि देख्यौं । यहाँबाट गौरीशंकर र लामाटाङ्ग हिमश्रृखलाहरु देख्न सकिन्छ ।
शैलुङ्ग हिन्दु र बुद्ध धर्मको आस्था स्थल रहेछ । दुवै धर्म मान्नेहरुले यहाँ पूजाआजा गर्ने चलन छ । त्यसैले शैलुङ्गलाई धार्मिक सहअस्तीत्वको प्रतिक पनि भन्ने गरिन्छ । यहाँ वुद्ध स्तुपा र शिव मन्दिर समेत रहेको छ ।

शैलुङ्गको टुप्पोबाट झर्दा चाँही बाटो भन्दा पनि थुम्का तिर घुम्ने आशयले घुम्दै झ¥यौं । फोटो खिच्ने रहर हुने खिचि रहे । हरियो घाँस खाएका घोडाको नजिकै गएर फोटो तथा भिडियो खिचीयो । हामी छेउमा पुग्दा घोडा दौडेको दृश्यको भीडीयो हेर्दा पनि रमाइलो लाग्दैछ ।
काठमाडौंबाट नजिकैको दूरीमा रहेको प्राकृतिक तथा सांस्कृतिक रुपले हेर्न लायक स्थान हो, शैलुङ्ग । यहाँ जाने केही समय वस्ने स्थानीय समुदायसँग अन्तरक्रिया गर्ने हो भने धेरै कुरा सिक्न सकिन्छ । हामीले पनि यस पटकको दशैंमा शैलुङ्ग गैं सदुपयोग गरेको महशुस भैरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *