जेनजी आन्दोलनपछि कांग्रेसभित्र गगन आतंक
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनले राजनीतिक दलहरु गुमनामजस्तै हुन पुगेका थिए । त्यसयता एमाले र कांग्रेसका केही नेताहरु तातिए तापनि सिंगो पार्टी अझै सेलाइरहेको छ । दोस्रो ठूलो दल एमालेले एघारौं महाधिवेशन आगामी मंसिर २७ देखि २९ सम्ममा काठमाडौंमै सम्पन्न गर्ने भनेको छ । त्यसले गर्दा एमाले कार्यकर्तामा केही आशा र उत्साह पलाएको छ । एमालेको ११ औं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै बन्ने सम्भावना त्यत्तिकै छ भने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरु को को बन्ने हुन् त्यो निश्चित भइसकेको छैन । एमालेको ११ औं महाधिवेशनले जेनजी पुस्ताको मागलाई कसरी सम्वोधन गरेर अगाडि बढ्छ त्यो पनि निश्चित भएको छैन ।
उता, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले त महाधिवेशन गर्ने भनेर पुष्पकमल दाहाल प्रण्डले अध्यक्ष पद त्यागेर संयोजक बनेका थिए । तर, महाधिवेशनलाई थाति राखेर वाम एकताको नाममा माओवादी पार्टी नै विर्सजन गरेर एकीकृत समाजवादीसहित आठवटा कम्युनिस्ट घटकहरु मिलेर नयाँ पार्टी खोल्ने गरी भोलि एकीकरण हुँदै छ । माओवादीसँगै आठ वामपन्थी दलहरु एकता गरी अगाडि बढ्ने भनिए तापनि माओवादीभित्र जनार्दन शर्माले विद्रोह गर्ने भनिरहेका छन् । उता, एकीकृत समाजवादीमा त वरिष्ठ नेता झलनाथको संरक्षणमा घनश्याम भुसाल अध्यक्ष रहने गरी एकीकृत समाजवादी पार्टी पुनर्गठन गर्ने तयारीमा लाग्ने भएका छन् । अध्यक्षहरु एकीकरणको पक्षमा देखिए तापनि अन्य नेता र कार्यकर्ता छिन्नभिन्न हुने भएका छन् । त्यसले गर्दा प्रचण्ड नेतृत्वको वाम एकताको औचित्य देखिँदैन ।
त्यसैगरी पहिलो ठूलो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यबहाकको जिम्मेवारी दिएर उपचारको नाममा सिंगापुर गएका छन् । सभापति देउवालाई सिंगापुरमा राजनीतिकसँगै विदेशी प्रतिनिधिहरुसँग भेटघाट गराउने काम एनसेलका मालिक सतिशलाले गराइरहेका छन् । त्यसले गर्दा नेपालको राजनीतिले कस्तो मोड लिने हो भन्ने एकिन भइसकेको छैन । यता कांग्रेसभित्र सभापतिको अनुपस्थितिमा १५ महाधिवेशन फागुन २१ गतेको निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विवाद संस्थापन पक्ष र इतरपक्षबीच चलिरहेको छ ।
इतरपक्षमा पनि डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच को सभापति हुने भन्ने लडाईँ चलिरहेको छ । संस्थापन पक्षमा देखिएका डा. शशांक कोइराला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्ण बहादुर खड्का, प्रकामान सिंह र डा. प्रकाश शरण महतको घम्साघम्सी छुट्टै छ । त्यसमा फेरि अर्का नेता कृष्ण प्रसाद सिटौलाले खेलिरहेका छन् । संस्थापन पक्ष र इतर पक्षका नेतैपिच्छेको होडवाजीले गर्दा सभापति देउवाको उत्तराधिकारी र जेष्ठताको आधारमा म सभापति हुनुपर्छ भन्दै गोपालमान श्रेष्ठ वातावरण मिलाउन भारत भ्रमणमा निस्किएका छन् ।
एकातिर सभापति देउवाले सिंगापुरमा भेटघाट बढाइरहेका छन् भने अर्कोतिर गोपालमान श्रेष्ठ भारतमा खिचडी पकाउन पुगेका छन् । त्यसले गर्दा जेनजी आन्दोलनपछि कांग्रेसभित्र ठूलो भाडभैलो मच्चिएको छ ।
कांग्रेसभित्रको भाडभैलोले गर्दा लोकतन्त्रमाथि खतराको संकेत देखिन थालेको छ । महाधिवेशनको निहुँ बनाएर कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक क्रियाकलाप हुनु दूर्भाग्यपूर्ण भएको राजनीतिक विश्लेषकहरुको आँकलन छ । कार्यबहाक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएसँगै कांग्रेसभित्र झन् विवाद चर्किएको छ । संस्थापन पक्षका नेताहरु १५ औं महाधिवेशन विभिन्न बहानामा पछाडि धकेल्ने पक्षमा देखिएका छन् भने इतरपक्ष नेताहरु पुसभित्रै महाघिवेशन गर्ने पक्षमा छन् । महामन्त्री गगन थापाले त विशेष महाधिवेशन गर्नुपर्छ भनेर हस्ताक्षरसमेत गराइसकेका छन् ।
महामन्त्री थापाले १५ औं महाधिवेशन चाँडो नगरे पार्टी फुटाउनेसम्मको धम्की दिन थालेका छन् । जेनजी आन्दोलनको पाठ सिकेर राजनीतिक पार्टीहरु सच्चिँदै अगाडि बढ्नुपर्नेमा झन् पार्टीभित्र आन्तरिक विद्रोह गर्नुले दलहरु कता पुग्ने हुन् त्यो निश्चित छैन । कांग्रेसजस्तो जिम्मेवार राजनीतिक दलभित्र आन्तरिक विद्रोह भएपछि बाहिरी राष्ट्रहरुले खेल्ने मौका पाउने छन् । र, नेपाललाई सधैं अस्थिरतातिर धकेल्ने सम्भावना त्यत्तिकै बढेर जाने छ । त्यसले गर्दा राजनीतिक दलहरु एकढिक्का हुन आवश्यक छ ।

