काठमाडौं । नेपाल निजामती कर्मचारीहरुलाई उम्मेदवार र पार्टीका नेतालाई भन्दा बढी निर्वाचन लागेको छ । विभिन्न दलनिकट युनियनका कर्मचारी नेताहरु आ–आफ्नो पार्टीका उम्मेदवारको प्रचार–प्रसारमा देशदौडाहा गरिराखेका छन् । चुनाव आउनुभन्दा महिना दिनदेखि सेवाग्राहीको काम छाडेर पार्टीको प्रचार–प्रसारमा जुट्दा सर्वसाधारणको काम अलपत्र परिरहेको छ । अन्य कर्मचारीहरु पनि केही निर्वाचनको लागि खटिएका छन् भने केही कार्यालयमा हाजिर गरेर आसपासका निर्वाचन क्षेत्रमा प्रचार–प्रसारमा जुटिरहेका छन् । निजामतीसँगै विभिन्न सरकारी संस्थाका कर्मचारीहरुको पनि हालत त्यस्तै छ । उता, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको दिनचर्य पनि त्यसैगरी बिितरहेको छ । सर्वसाधारणको सबैभन्दा बढी काम पर्ने स्थानीय तहमा कर्मचारी नहुँदा अधिकांश सेवाग्राहीहरु मारमा परिरहेका छन् ।
कतिपय कर्मचारीलाई अफिसले निर्वाचनमा नखटाए तापनि विभिन्न बहाना बनाएर चुनाव प्रचार–प्रसारको लागि आफ्नो जिल्ला जाने गरेका छन् । कर्मचारीहरु निर्वाचनमा खटिने र बिदा लिएर बस्ने कारणले गर्दा सरकारी कार्यालयको काम लथागिङ्ग भएको छ । कर्मचारी कार्यालयमा नहुँदा सेवाग्राहीका दैनिक कामहरु ठप्प भएका छन् भने अन्य सरकारी काम पनि अलपत्र परिरहेका छन् । उता, सुरक्षा निकाय कमजोर हुँदा निर्वाचान घोषणा भएयता अपराध र हत्या, हिंसाका घटना बढिरहेका छन् । सुरक्षा व्यवस्था फितालो भएकै कारण हत्या, हिंसासँगै चोरी डकैती र बलात्कारका घटना पनि त्यत्तिकै बढेका छन् ।
पहाडी क्षेत्रतिर चोरी डकैती र लुटपाटका घटना बढेका छन् भने तराइतिर हत्या, हिंसा र बलात्कारका घटना बढेका छन् । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुको प्रचार–प्रसारका कार्यक्रम बढ्न थालेपछि चोरी, डकैती, हत्या, हिंसा र यौन शोषणका घटना बढी हुन थालेका छन् । सुरक्षा निकाय चुनावतिर केन्द्रित भएर अन्यतिर ध्यान दनिएकै कारण विभिन्न आपराधिक गतिविधिका घटनाहरु बढ्न थालेका छन् ।

