काठमाडौं । सधैं संस्थापन बनेर डाडूपन्यू हातमा लिएर सत्ता स्वार्थको खेलमा रमाउने कांग्रेसको पुरानो संस्थापन र विशेष महाधिवेशनले चुनेको नेतृत्वबीचको प्रतिक्षाको लडाईँ मत्थर होला भन्दा झन् नर्काउने काम भएको छ । वैधानिक नेतृत्वलाई चुनौती दिँदै देउवा पक्षले पार्टीको जरा अभियानलाई सघाएको छैन । सर्वोच्च अदालतको ढोका ढकढक्याउँदै आफै मूल नेतृत्व भएको दावी गर्नेले महासमितिका सदस्यको जमघटलाई मात्र होइन क्रियाशील सदस्यता वितरण, प्रदेश र जिल्ला तहको छानविनलाई रुचाएको छैन ।
आफै प्रजातान्त्रिक पार्टी भन्ने तर वैधानिक परिपाटीको खिल्ली उडाउँदै विधानसमेत मिच्ने शैलीका कारण नेतृत्वमा युवा टोलीको आगमन भयो । पार्टीका दुई÷चार जना नेतासँग रिश उठ्दा पार्टीकै हितमा सहभागी नहुने चुनावमा उम्मेदवार बन्ने जनताले नपत्याएपछि पुरानै टोलीको खेलोफड्कोमा लाग्नेहरु प्रति पनि प्रश्न उठाउने अवस्था आएको छ । दुवै पक्षको लडाईँमा तेस्रो धारले मध्यस्थता गर्ने राजनीति शैली बन्दै छ ।
तर, डा. शेखर कोइराला तेस्रो धार बन्दा उनको पक्षमा लागेका डा. मिनेन्द्र रिजालदेखि बलबहादुर केसीहरुको कुनै गतिविधि विस्वस्त भएन । विमलेन्द्र निधिको ताल आफै चुनाव हारेर देउवा गुटको किचलोमा लाग्नु, जीतजंग बस्नेतहरुले आफ्नो राजनीति भविष्य सिध्याएर सम्पत्ति शुद्धिकरणको निगरानीमा परेका देउवा पत्नी आरजुको जय भन्नुले पनि कांग्रेसको झगडा चर्किने अवस्थाबाट मुक्ति नपाएको हो । हरेक परिवर्तनमा कांग्रेस निर्णायक शक्ति थियो । आज त्यो कांग्रेसले समय चिनेको छैन ।
सर्वोच्च अदालतमा शेरबहादुर देउवा र केपी ओलीका विस्वासी पात्र छन् । तीनले महाधिवेशन प्रतिनिधिको जमघट र नेतृत्व चयनलाई अवैधानिक भन्न सक्ने नैतिक आधार छैन । पार्टीको नेतृत्वले १५ औं महाधिवेशनको समय तोकेर तयारी गरिसक्यो । पुरानो टोली आफै अवैध भएको पत्तो नपाउने त्यो कांग्रेस कस्तो हो ?

