खल्ती प्रयोगकर्ताका“सुपर वालेट” सुविधा

अर्थ/वाणिज्य समाचार

काठमाडौंैं । आईएमई खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा सञ्चालन गरिएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा भएको कम्पनीले जनाएको छ । प्रयोगकर्ताहरूलाई वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्नेछ ।

यसअघि साविकको आइएमई पेबाट माइग्रेट भएका सीमित प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध रहेको यो सुविधा अब सबै केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्ताहरूका लागि विस्तार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब खल्ती वालेट केवल भुक्तानी गर्ने माध्यम मात्र नभई आधुनिक बचत उपकरणका रूपमा समेत प्रयोग गर्न सकिने छ ।

कम्पनीका अनुसार ‘सुपर वालेट’ अन्तर्गत हाल वार्षिक २.७५ प्रतिशतका दरले ब्याज उपलब्ध हुनेछ । यो ब्याजदर साझेदार बैंकद्वारा निर्धारित मानक ब्याजदरमा आधारित रहने भएकाले मासिक रूपमा परिवर्तन हुन सक्ने बताइएको छ । सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको मौज्दातमा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः वालेटमै जम्मा हुनेछ ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताको खाता केवाईसी प्रमाणित हुनुपर्नेछ । साथै, कम्तीमा १० वटा सफल कारोबार सम्पन्न गरेको वा वालेटमा रातभरि न्यूनतम एक हजार रुपैयाँ मौज्दात कायम गरेको हुनुपर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यो सुविधा व्यक्तिगत खाताका लागि मात्र उपलब्ध हुनेछ भने पीओएस र मर्चेन्ट खाताहरू यसका लागि योग्य हुने छैनन् ।

प्रयोगकर्ताहरूले खल्ती एपको होम स्क्रिनमा रहेको ‘सुपर वालेट’ सेक्सनमा गई ‘आवेदन दिनुहोस्’ बटनमार्फत सहजै आवेदन दिन सक्नेछन् । आवेदन दिएको भोलिपल्ट बिहानसम्ममा सुपर वालेट सक्रिय हुने कम्पनीले जनाएको छ । साविकका आइएमई पे प्रयोगकर्ताहरूका हकमा भने यो सुविधा स्वतः सक्रिय रहनेछ ।
यस अवसरमा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मीले ले नेपालको ठुलोे जनसङ्ख्या अझै पनि औपचारिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको उल्लेख गर्दै ‘सुपर वालेट’ ले वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले खल्ती अब केवल डिजिटल भुक्तानी माध्यम मात्र नभई नेपालीहरूमा बचत र वित्तीय अनुशासनको संस्कार विकास गर्ने प्लेटफर्म’ का रूपमा विकसित भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *