काठमाडौं । रास्वपाले नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र विदेशमा भएकालाई पनि नेपाल झिकाइ स्वदेशमै काम दिने भएको थियो । चुनावताका त्यस्तो भनिए तापनि रास्वपाको सरकार बनेको दुई महिना हाराहारी पुग्न लाग्दा पनि कुनै उद्योगधन्दा सञ्चालन गर्ने योजना ल्याउन सकेको छैन । उद्योग, कलकारखाना नभएपछि रोजगारी दिने कुरै भएन । स्वदेशमा रोजगारी नपाएपछि रोजीरोटीको नेपालीहरु विदेशिन वाध्य छन् । इरान र अमेरिकाको युद्धले गर्दा खाडी मुलुकमा रोजगाकारीका लागि नेपाली पनि रोकिएका छन् ।
एकातिर नयाँ कामदारहरु जान पाएका छैनन् भने घरबिदामा आएकाहरु पनि फर्किन पाएका छैनन् । एकातिर नेपालमा रोजगारी नपाउने अर्कोतिर भनेको बेलामा विदेश जान नपाउने भएपछि रोजीरोटीबाट बिमुख भइरहेका छन् । विदेशमा रहेका नेपालीहरु पनि विभिन्न कारणले अलपत्र पर्ने र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । आर्थिक वर्ष २०८२÷८३ मा मात्रै वैदेशिक रोजारको सिलसिलामा विदेशमा मृत्यु हुनेको संख्या १३ सयभन्दा माथि रहेको वैदेशिक रोजगार बोर्डको तथ्याङ्कले देखाएको छ । त्यसैगरी वैदेशिक रोजगार विभागका अनुसार ठगीका उजुरीहरु ४० हजारभन्दा माथि रहेका छन् । कतिपय ठगीका उजुरीहरु विभागले लिनै मानेको छैन । नेपालीहरु प्रत्येक दिन यो या त्यो नाममा ठगिने क्रम जारी छ ।
वैदेशिक रोजगारीको सिलसिलामा नेपालीहरु ठगिइरहेका छन् भने अर्कोतिर नेपालमा च्याउसरी खोलिएका कन्सल्टेन्सीहरुले उच्च शिक्षा अध्यायनको लागि विदेश जाने विद्याथीहरुसँग करोडौं असुलिइरहेका छन् । कन्सल्टेन्सीलाई लाखौं रुपैयाँ बुझाएर जाने अधिकांश विद्यार्थीहरु विदेशमा अलपत्र परिराखेका छन् । राज्यका सम्बन्धित निकायहरुले त्यसोको कुनै छानविन गर्न सकेका छैनन् ।
विदेशका कन्सलटेन्सी र नेपालका कन्सलटेन्सीको मिलेमतोमा विद्यार्थीहरुलाई विदेश पठाउने गरिन्छ । त्यसरी विदेश पढ्न जाने विद्यार्थीहरुलाई कन्सलटेन्सीहरुले उच्च शिक्षा अध्ययनसँगै कामको व्यवस्था हुने प्रलोभन देखाएका हुन्छन् । तर, सम्बन्धित देशमा पुगेपछि ती विद्यार्थीहरुले कन्सलटेन्सीहरुले भनेअनुसारको सुविधा नपाएर अलपत्र पर्ने गरेका थुप्रै घटनाहरु छन् । शिक्षामन्त्री सस्मित पोखरेलले कन्सलटेन्सीहरुले विदेशमा विद्यार्थी पठाउँदा मापदण्ड पुरा गरेका छन् कि छैनन् भनेर अनुगमन गरेको पाइँदैन ।
त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पनि म्यानपावर व्यवसायीहरुको अनुगमन गरी दोषीलाई कारबाही गर्न सकेका छैनन् । कतिपय म्यानपावर सञ्चालकहरुले त फिरी भिसा, फिरी टिकटको नाममा लाखौं रुपैयाँ असुली गरिरहेका छन् । तिनीहरुको अनुगमन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । फिरी भिसा, फिरी टिकटको नाममा म्यानपावर कम्पनीहरुले रसिदमा १० हजार देखाएर भित्रभित्र डेढदेखि तीन लाखसम्म असुल्ने गरेका छन् ।
कतिपय मापदण्डबिपरीत चलाइएको म्यानपावरले वैदेशिक रोजगार विभागका कर्मचारीलाई पैसा खुवाएर मापदण्ड पुगेको देखाई ठगी गरिरहेका छन् । यसरी म्यानपावर र कन्सलटेन्सीहरुले मापदण्डविपरीत नेपाली विद्योर्थी र श्रमिकलाई विदेश पठाएर अकुत सम्पत्ति आर्जन गरिरहेका छन् । त्यसरी आर्जन गरेको पैसा मलेसिया, कतार, दुबई, साउदी जस्ता देशमा अपामेन्ट खरिद गर्ने र व्यापार व्यवसाय चलाउनेको संख्या पनि त्यत्तिकै छ । त्यसैगरी आफ्नो नाममा अकुत सम्पत्ति देखिने भएकाले श्रीमती, छोराछोरी र नातागोताको नाममा बैंक ब्यालेन्स गर्ने गरेको बताइन्छ । यस्ता विषयमा सरकार र सम्बन्धित निकायले ध्यान दिएको पाइँदैन ।

