काठमाडौं । नेपाल सरकारसँग अहिले स्थायी कर्मचारीको संख्या ४ लाख ४९ हजार हाराहारी रहेका छन् । त्यसमा नेपाल प्रहरी ८० हजार, नेपाली ९७ हजार, सशस्त्र प्रहरी ३५ हजार, संघीय निजामती कर्मचारी ५२ हजार, स्थानीय तहमा २७ हजार र शिक्षकहरु १ लाख ६८ हजार रहेका छन् । नेपाल सरकारसँग भएका ती ४ लाख ४९ हजार कर्मचारीहरुले राज्यबाट तलब, सेवा, सुविधा लिने गरेका छन् । स्थायी रुपमा कार्यरत यी कर्मचारीले मासिक तलब, सेवा, सुविधा र अवकास प्राप्त भएपछि पेन्सनसमेत खाँदै आएका छन् ।
तर, बालने सरकारले खर्च कटौतीको नाममा कर्मचारीहरुलाई विभिन्न बहाना बनाएर राजीनामा दिन वाध्य बनाउन थालेको छ । दक्षिण एशियाको तुलनामा जनसंख्याको आधारमा नेपालमा कर्मचारी संख्या कम भएको बताइन्छ । नेपालको जति जनसंख्या भएका संघीयता लागु भएको देशहरुमा संघमा मात्रै ३० देखि ५० सम्म कर्मचारी रहने व्यवस्था छ । तर, नेपालमा भने ३ करोड हाराहारी जनसंख्या भएको मुलुकमा संघ र प्रदेशमा जम्मा ५२ हजार कर्मचारी कार्यरत छन् । त्यसमा पनि सरकारले ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद लगाएर हटाउन लागेको छ ।
पुराना र अनुभवी कर्मचारीहरुलाई एकाएक ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेदर हद लगाएर हटाउन खोजिएको छ । लोकसेवा पास गरेर, स्वदेश र विदेशमा विभिन्न तालीम लिएर, देशको भौगोलिक र क्षेत्रीय अनुभव बटुलेका कर्मचारीलाई हटाएर नयाँ कर्मचारी भर्ना गर्दा प्रशासनिक काम वाधा पुग्ने देखिन्छ । पुराना र अनुभवी कर्मचारीले सेवा दिँदा त सेवाप्रवाहमा ढिलासुस्ती हुने, गुणस्तरीय र छिटोछरितो ढंगले काम नहुने भइरहेको बेलामा झन् नयाँ कर्मचारी भर्ना गर्दा सेवाप्रवाह लथालिङ्ग हुने देखिन्छ ।
नयाँ कर्मचारीहरु प्राविधिक विषयमा पोख्त भए तापनि देशको नीतिनियम र प्रशासनिक विषयमा पुराना र अनुभवी कर्मचारी आवश्यक पर्दछ । देशको प्रशासनिक क्षेत्रमा पुराना, अनुभवी र विभिन्न तालीम प्राप्त कर्मचारीको आवश्यकता परिरहँदा उल्टै कर्मचारी हटाएर सरकारले रमिता देखाउन खोजेको देखिन्छ । ठाउँ र भूगोलको सम्वेदनशीलतालाई ध्यान दिएर प्रशासनिक क्षेत्रमा अनुभवी कर्मचारी नहुँदा देशको भौगोलिक अखण्डता, शान्तिसुरक्षादेखि विदेशी कुटनीतिक क्षेत्रमा समस्या पर्ने देखिन्छ । यस्ता विषयलाई मध्येनजर गरेर देशको प्रशासनिक क्षेत्रमा पुराना, अनुभवी र योग्य कर्मचारीलाई जिम्मेवारी दिनुपर्नेमा पुरानालाई हटाएर नयाँ कर्मचारीलाई जिम्मेवारी दिन खोज्नु देशको शान्तिसुरक्षामाथि चुनौती थप्नु हो ।

