काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस–२०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले उद्यमशाला कार्यक्रम सार्वजनिक गर्दै देशभरका नवप्रवर्तनकारी सोच भएका व्यक्ति तथा उद्यमीहरूबाट आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार नवप्रवर्तनमा आधारित व्यवसायिक सोच भएका युवालाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला उद्यमलाई दिगो, प्रतिस्पर्धी र प्रतिष्ठित व्यवसायका रूपमा विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रमको औपचारिक घोषणा गर्दै आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएका थिए। उनले लघु तथा मझौला व्यवसायीहरूले भोगिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न यो प्लेटफर्म तयार गरिएको बताउँदै विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान, परामर्श र समस्या समाधानका उपाय उपलब्ध गराइने बताए।
बैंकले उद्यमशाला कार्यक्रमअन्तर्गत इन्क्युबेसन र एक्सीलेरेसन गरी दुई प्रकारका कार्यक्रम सञ्चालन गर्ने बैंकले जनाएको छ। इन्क्युबेसन कार्यक्रम नयाँ व्यवसाय सुरु गर्न चाहने तथा नवप्रवर्तनकारी सोच भएका युवालाई लक्षित हुनेछ। यसमार्फत क्षमता अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार तथा मार्गनिर्देशन उपलब्ध गराइने बैंकले जनाएको छ।
त्यसैगरी, एक्सीलेरेसन कार्यक्रम हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार तथा स्तरोन्नतिमा चुनौती भोगिरहेका उद्यमीहरूका लागि सञ्चालन गरिनेछ। यसअन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण तथा सम्बन्धित निकायहरूसँग पहुँच विस्तारमा सहजीकरण गरिने बैंकको भनाइ छ।
उद्यमशाला कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा बैंक तथा वित्तीय संस्थासँगको पहुँचलगायत विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने बैंकको विश्वासरहेको छ । ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादनका लागि सम्मानित हुँदै आएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४, २०२५ र २०२६, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट इम्प्लोयर लगायतका प्रतिष्ठित अवार्ड प्राप्त गरिसकेको जनाएको छ।
हाल ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा स्थापित छ। बैंकले ३४४ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत विभिन्न मुलुकबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको जनाएको छ।

