उपेन्द्र कार्की, नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका
नेपालकै पहिलो स्थानीय तहका रूपमा कागेश्वरी मनोहरा नगरपालिकाबाट मालपोत–नापी सेवा सञ्चालनको तयारी, १०० शय्याको नगर अस्पताल निर्माण प्रक्रिया, एकैदिन एक हजारभन्दा बढी बिरामीलाई सेवा दिने क्षमता, करिब दुई अर्ब रुपैयाँका खानेपानी आयोजना, डिजिटल रूपान्तरण, ड्रोन सर्वेक्षण, पुनः नापजाँच, सडक पूर्वाधार विस्तार तथा सुशासनका अभ्यासले कागेश्वरी मनोहरा नगरपालिकालाई देशभर चर्चा र चासोको केन्द्रमा पु¥याएको छ। तीव्र शहरीकरणसँगै बढिरहेका चुनौतीबीच नगरले अवलम्बन गरेको विकासको मोडल, भावी योजना, सेवा प्रवाह, नागरिकमैत्री शासन र समृद्ध नगर निर्माणको दृष्टिकोणबारे कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीसँग गरिएको विशेष अन्तर्वार्ताको सम्पादित अंश प्रस्तुत गरेका छौं।
देशभरका ७५३ पालिकामध्ये पहिलोपटक कागेश्वरी मनोहराबाट मालपोत–नापी सेवा सञ्चालन हुँदैछ। यो सेवा सञ्चालन गर्न कसरी सम्भव भयो र यसबाट सेवाग्राहीले तत्काल कस्ता प्रत्यक्ष लाभ पाउनेछन् ?
सबैभन्दा पहिले यो उपलब्धि कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण नगरवासी, कर्मचारी, जनप्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, मालपोत विभाग र सम्बन्धित सबै निकायको साझा प्रयासको परिणाम हो। स्थानीय सरकार स्थापना भएको लामो समयसम्म पनि नागरिकले जग्गासम्बन्धी सामान्य कामका लागि धेरै समय खर्च गरेर मालपोत कार्यालय र नापी कार्यालय धाउनुपर्ने अवस्था थियो। नागरिकले एउटा सिफारिसका लागि पनि पटक–पटक कार्यालय पुग्नुपर्ने, बिदा लिनुपर्ने, आर्थिक भार बेहोर्नुपर्ने र कतिपय अवस्थामा अनावश्यक झन्झट भोग्नुपर्ने बाध्यता थियो। हामीले नागरिकको यही समस्यालाई केन्द्रमा राखेर लामो समयदेखि संघीय सरकारसँग समन्वय, कानुनी प्रक्रिया, प्राविधिक तयारी र आवश्यक पूर्वाधार निर्माणमा निरन्तर काम गर्यौं। त्यसको परिणामस्वरूप आज देशमै पहिलोपटक स्थानीय तहबाटै मालपोत तथा नापीसम्बन्धी सेवा सञ्चालन गर्ने अवस्थामा पुगेका छौं। यसबाट सबैभन्दा ठूलो लाभ सेवाग्राहीलाई हुनेछ। अब सामान्य कामका लागि टाढा जानुपर्ने छैन। एउटै स्थानबाट सेवा प्राप्त हुने भएकाले समय, श्रम र खर्च उल्लेखनीय रूपमा बचत हुनेछ। सेवा छिटो, पारदर्शी र जवाफदेही हुनेछ। स्थानीय सरकारले प्रत्यक्ष निगरानी गर्ने भएकाले सेवाको गुणस्तरमा पनि सुधार आउनेछ। हामी यसलाई संघीयताको सफल अभ्यास र स्थानीय सरकारलाई थप अधिकार सम्पन्न बनाउने ऐतिहासिक कदमका रूपमा लिएका छौं। यदि यो मोडल सफल भयो भने भविष्यमा देशका अन्य स्थानीय तहले पनि यसलाई अनुसरण गर्न सक्नेछन् ।
जग्गा प्रशासनमा बिचौलियाको प्रभाव लामो समयदेखि चुनौतीका रूपमा रहँदै आएको छ। नगरपालिकाबाटै सेवा सञ्चालन भएपछि बिचौलियाको चलखेल नियन्त्रण गर्न के–कस्ता संयन्त्र र निगरानी व्यवस्था लागू गरिँदैछ ?
वास्तवमा जग्गा प्रशासनको क्षेत्रमा बिचौलियाको समस्या केवल कागेश्वरी मनोहराको मात्र होइन, देशव्यापी समस्या हो। सूचना अभाव, प्रक्रियाको जटिलता, सेवामा ढिलाइ र पारदर्शिताको कमीका कारण बिचौलियाले ठाउँ पाएका हुन् । हामीले यही अवस्थालाई परिवर्तन गर्ने लक्ष्य लिएका छौं । नगरपालिकाबाट सेवा सञ्चालन भएपछि सबै प्रक्रियालाई सकेसम्म डिजिटल, पारदर्शी र ट्र्याक गर्न मिल्ने बनाइनेछ। सेवाग्राहीले कुन सेवा लिन कति समय लाग्छ, कुन कागजात आवश्यक पर्छ, कति शुल्क लाग्छ भन्ने सम्पूर्ण विवरण सार्वजनिक गरिनेछ। प्रत्येक सेवा तोकिएको समयभित्र सम्पन्न गर्ने सेवा मापदण्ड लागू गरिनेछ। त्यसैगरी, अनलाइन टोकन प्रणाली, गुनासो व्यवस्थापन प्रणाली, सीसीटीभी निगरानी, सेवाग्राही सहायता कक्ष तथा नियमित अनुगमनको व्यवस्था गरिनेछ। कुनै कर्मचारी वा बाह्य व्यक्तिले अनावश्यक प्रभाव पार्न खोजेमा तुरुन्त कारबाही गरिने स्पष्ट नीति लिएका छौं। हाम्रो उद्देश्य केवल सेवा दिने मात्र होइन, नागरिकको आत्मविश्वास बढाउने पनि हो। जब सेवा सहज, छिटो र पारदर्शी हुन्छ, तब बिचौलियाको भूमिका स्वतः समाप्त हुँदै जान्छ। हामी नागरिकलाई पनि कुनै बिचौलियाको पछि नलागी सिधै कार्यालयबाट सेवा लिन आग्रह गर्दछौं ।
वडा नं. ७ लगायतका क्षेत्रमा पुनः नापजाँच र हालसाविकको काम अघि बढिरहेको छ। यसले वर्षौंदेखिका जग्गा विवाद समाधानमा कति सहयोग पुग्छ र काम सम्पन्न हुने समयसीमा के छ ?
हाम्रो नगरका धेरै क्षेत्रमा पुराना नक्सा, अभिलेख र वास्तविक भोगचलनबीच ठूलो अन्तर देखिएको छ। यही कारणले नागरिकबीच जग्गा विवाद, बाटो विवाद, सार्वजनिक जग्गाको अतिक्रमण र विकास आयोजना कार्यान्वयनमा समस्या आइरहेको थियो। पुनः नापजाँच र हालसाविकको उद्देश्य कसैको अधिकार खोस्ने होइन, वास्तविक अवस्था प्रमाणित गरेर सबैको अधिकार सुरक्षित गर्नु हो। यसबाट व्यक्तिको निजी सम्पत्तिको कानुनी सुनिश्चितता हुनेछ भने सार्वजनिक सम्पत्ति, सडक, गोरेटो, खोल्सा, सार्वजनिक उपयोगका क्षेत्रको स्पष्ट अभिलेख तयार हुनेछ। हामी आधुनिक प्रविधिको प्रयोग गरेर काम गरिरहेका छौं। नापी विभागसँगको सहकार्यमा चरणबद्ध रूपमा सम्पूर्ण नगरमा यो प्रक्रिया विस्तार गरिनेछ। पहिलो चरणमा वडा नं. ७ मा काम भइरहेको छ र त्यसको अनुभवका आधारमा अन्य वडामा पनि विस्तार गरिनेछ। हाम्रो लक्ष्य केही महिनाभित्र पहिलो चरण सम्पन्न गरी आगामी चरणहरू पनि समयमै अघि बढाउनु हो। यसले भविष्यमा जग्गा किनबेच, पूर्वाधार निर्माण, सडक विस्तार तथा नगर विकासका अन्य योजनालाई निकै सहज बनाउने विश्वास लिएका छौं।
ड्रोन सर्वेक्षण, घरधुरी सर्वेक्षण र बेसलाइन डाटा तयार गर्ने काम सम्पन्न भएको बताइएको छ। अब यो डाटालाई नगरको योजना, कर प्रणाली, पूर्वाधार विकास र सार्वजनिक सेवा प्रवाहमा कसरी उपयोग गरिनेछ ?
आजको समयमा तथ्यमा आधारित शासन नै प्रभावकारी शासन हो। अनुमानका आधारमा योजना बनाउने परम्परालाई अन्त्य गरेर वैज्ञानिक र तथ्यमा आधारित निर्णय प्रणाली विकास गर्न हामीले ड्रोन सर्वेक्षण, घरधुरी सर्वेक्षण र डिजिटल बेसलाइन डाटा तयार गरेका हौं। अब नगरपालिकासँग प्रत्येक घर, सडक, खानेपानी, ढल, सार्वजनिक सम्पत्ति, जनसंख्या, पूर्वाधार तथा सेवाको विस्तृत डिजिटल अभिलेख हुनेछ। यसका आधारमा कुन क्षेत्रमा सडक आवश्यक छ, कहाँ विद्यालय वा स्वास्थ्य संस्था आवश्यक छ, कहाँ खानेपानीको समस्या बढी छ भन्ने निर्णय तथ्यका आधारमा गर्न सकिनेछ। कर प्रणालीलाई पनि अझ व्यवस्थित, न्यायोचित र पारदर्शी बनाउन यो डाटा उपयोग हुनेछ। सम्पत्तिको वास्तविक अभिलेख तयार भएपछि राजस्व संकलनमा पारदर्शिता आउँछ भने नागरिकमाथि अनावश्यक भार पनि पर्दैन।
यसका साथै विपद् व्यवस्थापन, शहरी योजना, वातावरण संरक्षण, भवन निर्माण अनुमति, भू–उपयोग योजना र डिजिटल सेवा प्रवाहलाई पनि यसले नयाँ स्तरमा पुर्याउनेछ। हाम्रो दीर्घकालीन लक्ष्य ’स्मार्ट नगरपालिका’ निर्माण गर्नु हो, जहाँ अधिकांश सेवा डिजिटल माध्यमबाट सहज रूपमा उपलब्ध हुनेछन्।
नगरमा करिब दुई अर्ब रुपैयाँ बराबरका खानेपानी आयोजना सञ्चालनमा छन्। ती आयोजना सम्पन्न भएपछि खानेपानी समस्या कति हदसम्म समाधान हुन्छ र नगरवासीले त्यसको प्रतिफल कहिलेदेखि अनुभव गर्न पाउनेछन् ?
कागेश्वरी मनोहरा तीव्र रूपमा विस्तार भइरहेको नगरपालिका हो। जनसंख्या वृद्धि, अव्यवस्थित शहरीकरण, भूमिगत पानीको अत्यधिक दोहन र जलवायु परिवर्तनका कारण खानेपानीको समस्या हाम्रो सबैभन्दा ठूलो चुनौती बनेको छ। यही चुनौतीलाई दीर्घकालीन रूपमा समाधान गर्न हामीले करिब दुई अर्ब रुपैयाँ बराबरका विभिन्न खानेपानी आयोजना सञ्चालन गरिरहेका छौं। यी आयोजनामा नयाँ पानीका स्रोतको खोजी, जलाधार संरक्षण, प्रशोधन केन्द्र निर्माण, ठूला रिजर्भ ट्यांकी, वितरण पाइपलाइन विस्तार, चुहावट नियन्त्रण तथा आधुनिक व्यवस्थापन प्रणाली समावेश छन्। यी आयोजना सम्पन्न भएपछि नगरका अधिकांश क्षेत्रमा नियमित, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने हाम्रो लक्ष्य छ। केही आयोजनाको प्रतिफल नागरिकले अहिले नै अनुभव गर्न थालेका छन् भने बाँकी आयोजना चरणबद्ध रूपमा सम्पन्न हुँदै जाँदा आगामी केही वर्षभित्र उल्लेखनीय सुधार देखिने विश्वास लिएका छौं। हामी संघीय सरकार, बागमती प्रदेश सरकार, खानेपानी मन्त्रालय तथा विकास साझेदार संस्थाहरूसँग सहकार्य गरेर दीर्घकालीन खानेपानी गुरुयोजनाअनुसार काम गरिरहेका छौं। हाम्रो उद्देश्य केवल आजको आवश्यकता पूरा गर्नु मात्र होइन, आगामी २०–३० वर्षसम्म बढ्दो जनसंख्याको आवश्यकतालाई पनि सम्बोधन गर्ने दिगो पूर्वाधार निर्माण गर्नु हो। खानेपानी कुनै विलासिता होइन, नागरिकको आधारभूत अधिकार हो भन्ने मान्यताका साथ हामी यस क्षेत्रमा निरन्तर लगानी र सुधार गरिरहेका छौं ।
नगर अस्पतालमा एकैदिन एक हजारभन्दा बढी बिरामीले सेवा लिनु आफैंमा ठूलो उपलब्धि हो। यो सफलता पछाडिका मुख्य कारण के हुन् र बढ्दो बिरामी चाप व्यवस्थापन गर्न थप के योजना छन् ?
हामीले नगर अस्पताललाई केवल एउटा सामान्य स्थानीय अस्पतालको रूपमा होइन, नागरिकले विश्वास गर्ने गुणस्तरीय स्वास्थ्य संस्थाको रूपमा विकास गर्ने लक्ष्य राखेका थियौं। आज एकैदिन एक हजारभन्दा बढी बिरामीले सेवा लिनु कुनै संयोग होइन, विगत केही वर्षदेखि गरिएको निरन्तर सुधार, व्यवस्थापन र नागरिकप्रतिको प्रतिबद्धताको परिणाम हो।हामीले अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या बढाएका छौं। पहिले सामान्य उपचारका लागि पनि काठमाडौंका ठूला अस्पताल जानुपर्ने बाध्यता थियो। अहिले हाडजोर्नी, स्त्रीरोग, बालरोग, इन्टरनल मेडिसिन, मुटुरोग, युरोलोजी, मनोरोग, छालारोग, आँखा, दन्त, ईएनटी, रेडियोलोजी, फिजियोथेरापी, पोषण परामर्शलगायत १९ भन्दा बढी विशेषज्ञ सेवा नगरमै उपलब्ध छन्। यसले नागरिकको विश्वास बढाएको छ । त्यसैगरी अत्याधुनिक उपकरणको व्यवस्था, प्रयोगशाला सेवा, एक्स–रे, भिडियो एक्स–रे, अल्ट्रासाउन्ड, फार्मेसी सेवा, २४ सै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, निःशुल्क औषधि वितरण, स्वास्थ्य बीमामार्फत उपचार, सरल प्रशासनिक प्रक्रिया तथा सेवामुखी कर्मचारी संस्कृतिले पनि बिरामीको संख्या उल्लेखनीय रूपमा बढाएको हो। अस्पतालमा आउने बिरामी कागेश्वरी मनोहराका मात्र होइनन्। अहिले भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, गोकर्णेश्वर, शङ्खरापुर तथा काठमाडौंका अन्य क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउनुभएको छ। यो हाम्रो सेवाप्रतिको विश्वासको प्रमाण हो ।
बढ्दो बिरामी चापलाई व्यवस्थापन गर्न हामीले विशेषज्ञ चिकित्सक थप्ने, ओपीडी विस्तार गर्ने, आधुनिक उपकरण थप गर्ने, डिजिटल अस्पताल व्यवस्थापन प्रणाली लागू गर्ने, प्रतीक्षालय विस्तार गर्ने तथा सेवा समयलाई अझ प्रभावकारी बनाउने योजना बनाएका छौं। साथै १०० शय्याको अस्पताल सञ्चालनमा आएपछि अहिले देखिएको चापलाई सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ। हाम्रो लक्ष्य केवल बिरामीको संख्या बढाउनु होइन, प्रत्येक नागरिकले गुणस्तरीय, सहज र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्नु हो ।
१०० शय्याको जनरल अस्पताल सञ्चालनको प्रक्रिया अघि बढिरहेको छ। यो परियोजना कहिलेसम्म पूरा हुने अपेक्षा छ र स्तरोन्नतिपछि अहिलेको सेवामा के–कस्ता नयाँ सुविधा थपिनेछन् ?
कागेश्वरी मनोहरा नगरपालिकाको इतिहासमै यो सबैभन्दा महत्वपूर्ण स्वास्थ्य परियोजनामध्ये एक हो। बागमती प्रदेश सरकारले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरिसकेको छ र आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढिरहेको छ। हामीले यो परियोजनालाई उच्च प्राथमिकतामा राखेका छौं। समयमै आवश्यक स्रोत–साधन उपलब्ध भएमा चरणबद्ध रूपमा निर्माण तथा सेवा विस्तारको काम अगाडि बढ्नेछ। हाम्रो लक्ष्य सकेसम्म छिटो १०० शय्याको पूर्ण क्षमताको अस्पताल सञ्चालनमा ल्याउने हो। स्तरोन्नतिपछि अहिले उपलब्ध सेवामा ठूलो विस्तार हुनेछ। आधुनिक शल्यक्रिया कक्ष, अत्याधुनिक प्रसूतिगृह, आइसीयू, एनआइसीयू, डायलाइसिस सेवा, ट्रमा सेन्टर, विस्तारित ल्याब सेवा, अत्याधुनिक इमेजिङ सेवा, थप विशेषज्ञ विभाग, अन्तरङ्ग उपचार क्षमता तथा आकस्मिक सेवाको विस्तार गरिनेछ। यससँगै अस्पतालले चिकित्सा शिक्षामा पनि योगदान दिन सक्नेछ। सीटीईभीटीको मापदण्डअनुसार १०० शय्याको अस्पताल भएपछि पीसीएल नर्सिङलगायतका स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना खुल्नेछ। यसले स्थानीय युवाले आफ्नै नगरमा स्वास्थ्य शिक्षा प्राप्त गर्ने अवसर पाउनेछन् भने दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा समेत योगदान पुग्नेछ। हाम्रो दीर्घकालीन सोच अस्पताल मात्र बनाउने होइन, कागेश्वरी मनोहरालाई बागमती प्रदेशकै नमुना स्वास्थ्य केन्द्रका रूपमा स्थापित गर्ने हो। नागरिकले उपचारका लागि काठमाडौंका ठूला अस्पताल धाउनुपर्ने अवस्था क्रमशः अन्त्य गर्ने हाम्रो लक्ष्य हो।
सडक कालोपत्रे, खानेपानी, अस्पताल र जग्गा प्रशासनजस्ता ठूला परियोजना एकैसाथ अघि बढिरहेका छन्। सीमित स्रोत–साधनका बीच यी सबै योजनालाई कसरी प्रभावकारी रूपमा व्यवस्थापन गरिरहनुभएको छ ?
स्थानीय सरकारसँग स्रोत असीमित हुँदैन। त्यसैले राम्रो व्यवस्थापन, स्पष्ट प्राथमिकता, पारदर्शिता र प्रभावकारी समन्वय नै सफलताको आधार हो भन्ने हाम्रो विश्वास छ। हामीले कुनै पनि योजना राजनीतिक लोकप्रियताका आधारमा होइन, नागरिकको आवश्यकता र तथ्यांकका आधारमा छनोट गरेका छौं। ड्रोन सर्वेक्षण, बेसलाइन डाटा, घरधुरी सर्वेक्षण तथा प्राविधिक अध्ययनका आधारमा कुन क्षेत्रमा लगानी आवश्यक छ भन्ने निर्धारण गरिएको छ । नगरपालिकाको आफ्नै स्रोतका अतिरिक्त संघीय सरकार, बागमती प्रदेश सरकार तथा विभिन्न विकास साझेदारसँग सहकार्य गरेर बजेट व्यवस्थापन गरिरहेका छौं।
यसले सीमित स्थानीय स्रोतलाई अधिकतम उपयोग गर्न सहयोग पुगेको छ। हामी प्रत्येक परियोजनाको नियमित अनुगमन गर्छौं। प्राविधिक टोली, जनप्रतिनिधि, उपभोक्ता समिति तथा सम्बन्धित निकायबीच नियमित समीक्षा बैठक हुन्छ। समयमै काम सम्पन्न गर्ने, गुणस्तर कायम गर्ने तथा आर्थिक अनुशासन कायम गर्ने विषयमा हामी निकै कडाइका साथ अघि बढेका छौं। हाम्रो अर्को प्राथमिकता डिजिटल सुशासन हो। खरिद प्रक्रिया, योजना अनुगमन, प्रगति मूल्याङ्कन तथा वित्तीय व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै लगिएको छ। यसले पारदर्शिता बढाएको छ र अनियमितताको सम्भावना न्यून बनाएको छ । हामी विकासलाई सडक निर्माणमा मात्र सीमित मान्दैनौं। स्वास्थ्य, शिक्षा, खानेपानी, डिजिटल सेवा, सुशासन, वातावरण संरक्षण र आर्थिक विकासलाई समान महत्व दिएका छौं। यही सन्तुलित विकास मोडलले नगरलाई दीर्घकालीन रूपमा समृद्ध बनाउने विश्वास लिएका छौं ।

