काठमाडौं । नेपालका राजनीतिक दलहरुप्रति वितृष्णा जगाउँदै विभिन्न पार्टीका नेता र कार्यकर्ताहरुले आफ्नो पार्टी छाडेर रास्वपामा प्रवेश गरी गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका सांसदहरुलाई रास्वपा घाँडो हुन थालेको छ । किन कि कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादी र मधेसवादी दलका नेता, कार्यकर्ताहरु आ–आफ्नो पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलका नेता रास्वपामा गएर ६४ जना सांसद बनेका छन् ।
अन्य दल त्यागेर रास्वपा छिरेका ती ६४ जना सांसदले कुनै अधिकार पाएको देखिँदैन । तर, स्वतन्त्रबाट गएका काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले भने रास्वपामा छिरेर प्रधानमन्त्री पाएका छन् । तर, अन्य पार्टी परित्याग गरेर आउनेहरुले न मन्त्री पद पाएका छन् न पार्टीभित्र कुनै जिम्मेवारी नै पाएका छन् । त्यसले गर्दा रास्वपाभित्र विवाद चर्किँदै गएको छ । प्रधानमन्त्री शाहसँग आफ्ना गुनासा र काम लिएर भेट्न जानेहरुलाई भेट नदिएपछि उनीहरु रास्वपा सभापति रवि लामिछानेलाई भेट्न जाने गर्दछन् ।
ती गुनासा लिएर जानेहरुले सभापतिसँग गुनासो राख्दा ‘अहिलेको परिस्थितिमा प्रधानमन्त्रीले भेट नदिए पनि तपाईंहरुले राखेको कुरा जाहेज हो, त्यसको सुनुवाई हुन्छ, हामीले प्रधानमन्त्रीलाई काम गर्न पठाएका हौं, उहाँ काम गर्दै हुनुहुन्छ । यदि तपाईंहरुको कुरा उहाँले सुन्नुभएन भने उहाँलाई पार्टीले फिर्ता बोलाउछ । तपाईंहरुको गुनासो सम्बोधन हुन्छ, भन्ने आश्वासन दिएर टार्ने गरेका छन् । त्यसले गर्दा रास्वपाको दुई तिहाई हाराहारी बहुमतको सरकारले न त सर्वसाधारणको गुनासो सुनेको छ न त सुशासनको काम गर्न सकेको छ । त्यसले गर्दा रास्वपाभित्र सर्वसाधारणका गुनासाहरु सभापतिले कार्यान्वयन गर्छन् न त प्रधानमन्त्रीले नै सम्बोधन गर्दछन् ।

