काठमाडौं । नेकपा एमालेभित्र जताततै गुट हावी भएको छ । त्यसको उदाहरण लिन सकिन्छ हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई । महासंघको निर्वाचनमा कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियन र नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालबीच तालमेल गरेर उम्मेदवार खडा गरिएको थियो । प्रेस युनियन र प्रेस चौतारीको तालमेलमा उम्मेदवार खडा गरिए तापनि देशैभरका प्रदेश र जिल्ला शाखाहरुमा प्रेस चौतारीका अधिकांश उम्मेवारहरु पराजित भएका छन् । तर, केन्द्रीय अध्यक्ष भने हजार मतान्तरले प्रेस चौतारीबाट खडा गरिएकी अध्यक्ष उम्मेदवार निर्मला शर्माले जित हासिल गरेकी छिन् ।
तर, जिल्ला र प्रदेशमा भने अधिकांश प्रेस चौतारीबाट खडा गरिएका अन्य उम्मेदवारहरुसँगै केन्द्रीय कोषाध्यक्षका उम्मेदवार रामकृष्ण ज्ञवालीले पनि हार बेहोर्नुपरेको छ । पार्टीभित्र गुट, उपगुट झागिँदै गएपछि पत्रकार महासंघको निर्वाचनमासमेत हार बेहोर्नुपरेको छ । गुट, उपगुटका कारण पत्रकार महासंघमा मात्रै हार बेहोर्नुपरेको छैन गत स्थानीय तहको उपनिर्वाचनमा पनि पहिलाको तुलनामा केही सिट गुमाउन पुगेको छ । त्यसको समीक्षा गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटउपगुटले दह्रो डेरा जमाएको स्वीकारेका छन् । त्यसकै कारण पार्टी एकढिक्का बनाउन आगामी माघदेखि चैतसम्म स्थानीय वडा केन्द्रित कमिटी गठन गरी सदस्यता वितरण गर्ने तयारी थालेका छन् ।
त्यो तयारी अनुसार २०८२ को पार्टी सदस्यता २०८१ सालभित्रै नविकरण गरिसक्ने बताएका छन् । एमाले अध्यक्ष संगठनको लागि कठिबद्ध भएर लागे तापनि पार्टीभित्र अराजकहरुको भीड बढ्दै गएको कारण एमाले भित्रभित्रै खिया लाग्दै गएको छ । एमालेले सरकारको नेतृत्व गरे तापनि देशमा सुशासन र विकासको काम गर्न नसकेको, पार्टीभित्र गुट हावी भएको, एकले अर्काको अस्तित्व नस्वीकार्नेजस्ता समस्याहरु खडा भएका छन् । पार्टीको जनवर्गीय संगठनदेखि विभिन्न स्थानीय, वडा कमिटी, क्षेत्रीय कमिटी, प्रदेश कमिटि र जिल्ला सम्पर्क मञ्चहरु ध्वस्त हुँदै गएका छन् । संगठन ध्वस्त हुनुको मुख्य कारण गुटगत नेता छान्ने प्रवृत्ति हावी हुनु हो ।
इमानदार र सिनियर नेता, कार्यकर्तालाई पछि पार्नु जुनियर र अवसरवादीलाई अगाडि सार्नुजस्ता कारणले एमालेको संगठन दिनप्रतिदिन छियाछिया हुँदै गएको छ । पार्टीभित्र एनजीओ आइएनजीओ धेरै भएकाले अहिलेसम्म एमाले बलियो देखिएको छ । यदि एनजीओ आइएनजीओबाट एमालेलाई सहयोग नहुने हो भने एमाले पनि माओवादी जस्तै नहोला भन्न सकिँदैन । एमालेभित्र संगठनको काम गर्नेभन्दा पनि अवसरवादीहरुको भीड बढ्दै गएको छ ।
एमाले पार्टीभित्र गुटउपगुट झागिँएसँगै नेपाल पत्रकार महासंघमा टिपिकल श्रमजीवी पत्रकारभन्दा एनजीओ÷आइएनजीओ हावी भएको छ । महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासँगै महिला उपाध्यक्ष नितु पण्डित पनि एनजीओकर्मी हुन् । महासंघको केन्द्रीय नेतृत्व नै एनजीओकर्मी भएपछि कसरी हुन्छ स्वरोजगारमुलक श्रमजीवी पत्रकारहरुको रक्षा । संगठनको यस्तै रवैया रहने हो भने आगामी निर्वाचनमा नराम्रो हार बेहोर्नुपर्ने देखिन्छ ।