सानो वन ठुलो मन : चुच्चे ढुङ्गा ठाडो पाखो सामुदायिक वन

राजनीति लेख

यस स्तम्भको अघिल्लो श्रृखलामा दोलखाको गौरीशंकर गाउँपालिकाको एक सामुदायिक वनमा भएको अभ्यासलाई समेट्ने प्रयास गरिएको थियो । भातेखोला कमलामाई सामुदायिक वनका अगुवाहरुसँग गरेको छलफलको विषय समेटिएको थियो । गौरीशंकर गाउँपालिकामा रहेका केही सामुदायिक वन उपभोक्ता समूहहरुसँग स्थलगत छलफल पश्चात गौरीशकर गाउँपालिकाका १ नं. वडा देखि ४ सम्मका सामुदायिक वनका अध्यक्ष वा प्रतिनिधिहरुको सामुहिक अन्तरक्रिया गरिएको थियो । सो विषयलाई निरन्तर लेख्ने कोशिसमा थिएँ । त्यो लेख्ने पनि छु । तर यस विचमा म आफै उपभोक्ता भएको सामुदायिक वनको साधारण सभामा धेरै वर्ष पछि सहभागी हुने मौका पाएँ । त्यसैले त्यस साधारणसभाको वारेमा चर्चा गर्ने कोसिस गरेको छु ।

सहभागीतामुलक प्रजातन्त्रको अभ्यास
कुनै पनि संस्था वा राज्य सत्तामा प्रतिनिधित्व २ खाल्को हुने गर्दछ । एक प्रतिनिधिमूलक हो भने अर्को सहभागीतामूलक । तिन तहका राज्यमा प्रतिनिधिमूलक प्रजातन्त्र छ । त्यसै गरी महासंघीय संरचना भएका संस्थाहरुपमा पनि प्रतिनिधिमूलक हुन्छ । यसमा सदस्यहरुले आफ्नो प्रतिनिधित्व आफु मध्ये कैं कोहीलाई चयन गरि पठाउने गर्दछन् । सहभागीतामूलक प्रजातन्त्रमा भने कोही कसैको प्रतिनिधि हुँदैन । सम्वन्धीत व्यक्ति आफै उपस्थीत हुनु पर्दछ । सामुदायिक वनको अभ्यास सहभागितामूलक प्रजातन्त्रमा आधारित छ । यसका सदस्य घरधुरी वा परिवार हुन्छन् । ती घरधुरीका सवै साधारण सभामा जान पाउँछन् । कहिलेकांही मत दिनु पर्ने अवस्था आएमा भने हरेक घरधुरी वा परिवारबाट एक जना महिला र अर्को जना पुरुषले दिन पाउने अभ्यास छ । तर साधारण सभामा सवै जान पाउन्छ । त्यसैले यसलाई आमभेला पनि भन्ने गरिन्छ ।

सानो वन तर ठुलो मन
आज भन्दा २६ वर्ष भन्दा अगाडी अहिले भीमेश्वर नपा वडा नं. ६ मा प्रकृयागत रुपमा एक सामुदायिक वन उपभोक्ता समूह गठन भएको थियो । त्यो सामुदायिक वनको नाम चुच्चे ढुङ्गा ठाडो पाखो राखिएको थियो । सामुदायिक वनको नामाकरण समेतको छलफलको पहिलो मान्इन्युट नैं मैले लेखेको रहेछु । त्यो कर्म गरे वापत मलाई केही वर्ष अघिको साधारण सभामा सम्मान समेत गरेको थियो । सुरुमा ४२ घरधुरी रहेको सामुदायिक वनमा अहिले ४८ घरधुरी पुगेका रहेछन् । वनको क्षेत्रफल ८.८ हेक्टर रहेको छ । त्यसैले यो सामुदायिक वन औसत भन्दा सानो छ । तर यहाँका उपभोक्ताको मन ठुलो रहेको छ ।

चुच्चे ढुङ्गा ठाडो पाखो सामुदायिक वन उपभोक्ता समूहको २६औं साधारण सभा २०८१ सालको पुस १५मा तोकिएको रहेछ । संयोग प¥यो । म पनि सहभागी हुने मौका पाएँ । साधारण सभा सुरु हुने समय विहान ११ बजे निर्धारण गरिएको थियो । सभामा फेकोफन, सव डिभिजन वन कार्यालय र वडा कार्यालयलाई पनि निम्ता गरिएको थियो । साधारण सभा हुनु पूर्व हरेक घरधुरी परिवारबाट रु ३० बार्षिक शुल्क उठाइयो । शुल्क वुझाउन हातमा पैसा च्यापेर लाम लागे । साधारणसभामा उपस्थीत हुँदैनन्, वनमाउपभोक्ताको चासो छैन भन्ने चर्चा भैरहेको समयमा यसरी लामवद्ध भैं उपभोक्ता शुल्क वुझाउनु गजब विषय मान्न सकिन्छ । वन प्रतिको उपभोक्ताको चासो देखिन्छ । वन प्रतिको माया पनि हो ।

सामुहिक रुपमा व्यानर बाचन गरी सभाको आरम्भ भयो । ४० भन्दा वढि घरधुरी परिवारबाट प्रतिनिधित्व रहेको थियो । ६ नंं वडा सदस्य एवं भीमेश्वर नगरपालिकाका जनप्रतिनिधिको सहभागीता थियो । समूहका अध्यक्ष यादब प्रसाद खतिवडाको अध्यक्षतामा सुरु भएको साधारण सभामा सचिव अनिता दुलालबाट समूहको प्रगति विवरण र आगामी कार्यक्रम समेटिएको प्रतिवेदन प्रस्तुत भएको थियो । त्यसै गरी कोषाध्यक्ष राधिका थापा विशेष कारणबस काठमाडौं जानु भएकोले उहाँले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदन तिलराज खतिवडाबाट वाचन गरिएको थियो । कार्यक्रमको सञ्चालन उपभोक्ता सन्तोषी थापाबाट भएको थियो ।

साधारण सभामा प्रस्तुत प्रतिवेदनहरु माथि उपभोक्ताहरुले प्रश्न गरे । समितिबाट उत्तर आयो । सभाले चित्त पनि वुझाए । केही खास एजेण्डाहरु माथि छलफल भयो । भीमेश्वर नगरपालिकाले फोहोर मैला प्रशोधन तथा सिकाई केन्द्र यस सामुदायिक वनको छिमेकी सामुदायिक वन सिम्पानी सामुदायिक वनको क्षेत्रमा निर्माण भैरहेको छ । त्यस केन्द्रको प्रभावित क्षेत्र नक्सांकन गर्दा दूरीको हिसाबले चुच्चे ढुङ्गा ठाडो पाखो सामुदायिक वनका उपभोक्ताहरु पर्दछन् तर उनीहरुको प्रभावित क्षेत्र भित्र पारिएको छैन । सो वारेमा उपभोक्ताहरुले साधारण सभामा जमेर कुरा राखें । प्रभावित क्षेत्र पार्न र सो परे वापत सामुदायिक विकास योगदान गर्नकालागि नगरपालिका, वन कार्यालय लगायतलाई ध्यानाकर्षण गराउने निर्णय भयो । उपभोक्ताको दावी थियो, सरफाई केन्द्र बनाउन चुच्चे ढुङ्गा ठाडो पाखो सामुदायिक वनले ठुलो योगादन गरेको थियो । बाटो यस सामुदायिक वनको क्षेत्रबाट अस्थायी रुपमा उपलव्ध गराएको विषयमा पनि चर्चा गरे ।

उपभोक्ताहरुले मन फराकिलो वनाउँदै भने ‘हामी निर्माणकोलागि हाम्रो क्षेत्रबाट अस्थायी सडक खन्न बाटौ दियौं । सिम्पानीको वन क्षेत्रमा त्यो काम हुँदैछ त्यस वापतको क्षतिपुर्ति सिम्पानीले पाउनु पर्दछ तर प्रभावित क्षेत्रमा हाम्रो सामुदायिक वनका उपभोक्ता पनि हौं । सरसफाई केन्द्रबाट सवै भन्दा नजिकको दूरी यस वनका उपभोक्ता छौं । नगर क्षेत्रको फोहोर व्यवस्थापनकालागि हामी सवै जिम्मेवारी हुनु पर्दछ तर त्यसको नकरात्मक असर कम पार्ने उपाय पनि खोज्नु पर्दछ । प्रभाव कर्म पार्न प्रभावित क्षेत्रका मानिससँग संवाद गरिनु पर्दछ ।’ नगरको सवाल सम्वोधनकालागि संवेदनशिल हुनु र उपाय दिनु यस सामुदायिक वनका उपभोक्ताको फराकिलो मन मान्न सकिन्छ ।
उपभोक्ताहरुले आफ्नो विचार गरी छलफलमा सहभागी हुने अभ्यास पनि रोचक देखियो ।

सामुदायिक वन उपभोक्ता समूह भनेको सामाजिक न्यायको अभ्यास गर्ने थलो पनि हो भन्ने अर्को उदाहरणमा पनि त्यहाँ देखियो । एक परिवारमा एक जना मात्र हुनु हुँदो रहेछ । ३,४ वर्ष देखि यस सामुदायिक वनको नियमित काममा संलग्न हुन सक्नु भएनछ । अब म नियमित सहभागी हुन्छु मेरो सदस्यता निरन्तरता दिनु प¥यो भन्ने कुरा राख्नु भयो । उहाँको प्रस्ताव माथि व्यापक छलफल भयो । विभिन्न विचार आए । अन्त्यमा ३ वर्षको शुल्क रु ९० वुझाएर सदस्य निरन्तरता दिने निर्णय भयो । उहाँ (उर्मिला केसी) खुसी हुनु भयो । अरु पनि खुसी ।

समितिको वैठक खर्च रु सय
यस सामुदायिक वनको का समितिमा ७ जना रहेछन् । ती मध्ये अध्यक्ष वाहेक अरु सवै महिला छन् । २ जना दलित १ जना जनजातीको प्रतिनिधित्व रहेछ । उपभोक्ताहरुले छलफल गरे अनी निर्णय गरे समितिको वैठकमा उपस्थीति हुनेलाई प्रतिवैठक प्रति व्यक्ति एक सय रुपैया दिने भनेर । गजबको निर्णय लाग्यो । यस्तो खर्च गर्ने चलन पहिला यहाँ थिएन । यो पटक सवैको सहमतीमा निर्णय भएको छ । सामुदायिक वन परिस्कृत हुँदैछन् भन्ने अनुमान गर्न सकिन्छ ।

वैठक तथा भेला गर्न बस्ने स्थानको अभाव भएकोले एक चौतारी तर सामान्य पानी तर्ने खाल्को वनाउने सल्लाह गरे । त्यसकोलागि ५० हजार वजेट पनि विनियोजन गरे । यस कामको प्रशंसा गर्दै सभामा उपस्थीत तिलराज खतिवडाबाट रु १० हजार सहयोग गर्ने प्रतिवद्धता समेत आयो । अरु उपभोक्ताले पनि सामानहरु सहयोग गर्ने, श्रमदान गर्ने जस्ता अठोटहरु व्यक्त भएका छन् । त्यहाँ पिउने पानीकोलागि धाराको समेत प्रवन्ध गर्ने निर्णय भयो ।

समितिको तर्फबाट प्रगती प्रतिवेदन, आगामी कार्यक्रम, आर्थिक प्रतिवेदन, बजेट समेत प्रस्तुत गरी सामुहिक छलफलबाट पारित गर्ने अभ्यास हुनु संस्थागत विकासको एक नमुना हो । झन्डै पौने २ लाखको बजेट यस सभामा प्रस्तुत भएको थियो । यस वर्ष नेपाल सरकारले दिएको मौका सदुपयोग गरी स्थायी लेखा नम्वर लिने निर्णय पनि भएको छ ।

औपचारिक रुपमा सभा विर्सजन भयो । खाजा व्यवस्था गरिएको थियो । सबै मिलेर खाजा खाए । अनौपचारिक रमाइला गफ भए । सुखदुखका कुरा पनि राखें । ग्रामिण जीवनको सम्पूर्ण झल्को देखियो । मेलै धेरै वर्ष पछि नजिकबाट औल्याउने र सहभागी हुने मौका पाएँ । न त्यहाँ सर म्याम भन्ने शव्दावली सुनियो । दाइ भाई, भाउजु, काका काकी दिदी वहिनी जस्ता शव्दावली प्रयोग भए ।

भुई मान्छे भनेको धेरै सुनिन्छ तर भुईमा बस्ने मान्छे कसरी वस्छन् यो सामुदायिक वनको सभाका जाँदा थाहा हुन्छ । मुलुकको साध्य वर्ग हुन् यी मान्छे । यी उपभोक्तासँग ठुलो ठुलो महत्वकांक्षा छैन, वनप्रति सधै माया छ मन छ । चुच्चे ढुङ्गा ठाडो पाखो सामुदायिक वनबाट उपभोक्ताहरुले खासै फाइदा लिएको पाइएन तर उपभोक्ताहरुको संगठित स्वरुप र उत्साहमा कुनै कमि देखिएन । यस्ता अभ्यासले नैं सामुदायिक वनको गरिमा वढेको हो । तर वनबाट उपलव्धी ल्याउने काम गर्न सकेनौं भने यो उत्साह कति दिन टिक्न सक्ला भन्ने प्रश्न माथि सवै घोत्लनु जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *