लथालिङ्ग सामुदायिक वन सम्हाल्दै

राजनीति लेख

यस स्तम्भका पछिल्ला केही श्रृखला देखि दोलखामा सामुदायिक वन केन्द्रीत लेखिरहेको छु । केही साता अघि दोलखाको गौरीशंकर गाउँपालिकामा रहेका सामुदायिक वनका विषयमा स्थलगत छलफलकालागि गएका थियौं । ३ वटा सामुदायिक वनमा स्थलगत छलफल र गौरीशंकर गाउँपालिका वडा नं. १ देखि ४ सम्मका २२ वटा सामुदायिक वनका अगुवासँगको सामुहिक छलफल गरेका थियौं । पहिलो दिन भातेखोला कमलामाई सामुदायिक वन उपभोक्ता समूहका समिति र अगुवा उपभोक्ताहरुसँग छलफल गरेका थियौं । दोस्रो दिन जमखर्क सामुदायिक वन उपभोक्ता समूहमा छलफल गरेका थियौं । जमखर्क सामुदायिक वन लथालिङ्ग भैसकेको रहेछ । पुर्नजागरणको कोशिस भैरहेको छ । जमखर्कलाई पुरानै लयमा फर्काउन वडा कार्यालय, सव डिभिजन वन कार्यालय र उपभोक्ताहरु लागिपरेका छन् ।

डिकर्पुको बास

हाम्रो टोलीमा हरिहर न्यौपाने, जगन्नाथ वस्नेत, सज्जन रेग्मी, इन्द्र आचार्य र म समेतको टोली थियो । फेकोफन दोलखा र सियास नामक संस्थाले हाम्रो टोलीको समायोजन गरिदिएको थियो । हामी गौरीशंकर पालिका पुगेको दोस्रो दिन छलफलको पहिलो दिन भातेखोला कमलामाई सामुदायिक वन उपभोक्ता समूहसँग भएको छलफल पश्चात हामी गौरीशंकर गाउँपालिका वडा नं. ४ मा रहेको डिगर्पुमा बास वस्यौं । त्यो वासको चाँचोपाँचो चाँही पण्डित सामुदायिक वन उपभोक्ता समूहको सचिब मिङ्मा छेकी शेर्पाले गरिदिनु भएको थियो । चिसो ठाउँमा जे खाए पनि मिठो त्यस माथि पनि जाने वित्तकै मकै भटमासबाट स्वागत पाइयो । साथमा तातोपानी । यो दिन थियो, पुसको ३ गते ।

पुषको ४ गते विहान चिसो मौसम थियो । हामी वसेको स्थानमा घाम लाग्न केही घण्टा नैं पर्खनु पर्ने देखियो । वरीपरी डाँडामा अनी चरिकोट तिर पनि घाम देखियो । हामी बसेको ठाउँमा सुरसार पनि छैन । ७.३० तिर आङ्ग तान्दै यसो घुमौ भन्दै निस्कियौं । आज छलफल गर्ने थलो मन्दिर छेउ भनेकोले त्यता हेर्न जाने भनी केही हिड्यौं । त्यहाँ चौर छ भनेकोले आँगन खुल्ला ठाउँ कतै छ कि भनी खोज्यौं । नभन्दै देखियो पनि । तर सहभागीलाई कता पाएक पर्छ त्यतै गरौं भन्ने सल्लाह ग-यौं । हाम्रो सोचाइ चाँही सामुदायिक वनको हालको अवस्था र चाहेको अवस्था पहिचानकालागि सहभागीामूलक सामाजिक स्रोत नक्साको प्रयोग गरौं भन्ने थियो । सहभागीहरुलाई कता पाएक पर्छ त्यतै गरौं भन्दै हामी वास बसेको घर तिरै लाग्यौं । किनकी हाम्रो विहानको खाना त्यही थियो ।

जनप्रतिनिधिहरुसँग भेट
घर छेउमा पुग्नै आँटेका थियौं । भरखरै अर्थात मंसीर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित गौरीशंकर गाउँपालिका उपाध्यक्ष उमा शेर्पा, त्यस पालिकाका पूर्व अध्यक्ष एवं नेकपा एमालेका दोलखाका सचिव सोयम वहादुर खड्का, पूर्व उपाध्यक्ष एवं नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उर्मिला थामी सहित केही जना एक बोलेरोबाट ओर्लनु भयो । उहाँहरु मतदातालाई धन्यवाद दिंदै हिड्नु भएको रहेछ । डोल्मा तारा बाल विकास केन्द्रको भवनको अगाडी एक चौरमा हामी आयौं । स्थानीय बासिन्दाहरु २० जना जती जम्मा भए । केहीले कुर्सी ल्याए । हामी सवै वस्यौं । हाम्रो घरधनीले चिया विस्कुटको व्यवस्था गर्नु भयो ।

नवनिर्वाचित उपाध्यक्षलाई स्थानीयहरु वधाइ दिए । केही अपेक्षाहरु सुनाए । ती अपेक्षाहरु कुनै महत्वकांक्षी थिएनन् । न त नकरात्मक नैं थिए । बालकेन्द्रलाई व्यवस्थीत गर्ने र गुम्वा पुननिर्माण सम्वन्धी केही अपेक्षा थियो नागरिकहरुको । नवनिर्वाचित उपाध्यक्षले सवैलाई धन्यवाद दिँदै संक्षिप्त मन्तव्य दिनु भयो । अरु नेताहरुले पनि छलफलमा सहभागी हुनु भयो । कुनै औपचारिक थिएन तर छलफल गजब भयो । संक्षिप्त कार्यक्रम सकेर उहाँहरु अर्को गाउँ तिर लाग्नु भयो । हाम्रो टोली खाना खाएर नजिकै रहेको सेतीदेवी मन्दीर तिर ओरालो झ-यौं ।

सम्हालिन खोज्दै जमखर्क
हामी सेतिदेवी मन्दीरमा पुग्दा १५ जना भन्दा वढि उपभोक्ता समूहका अगुवाहरु जम्मा भैसक्नु भएको थियो । जमखर्क सामुदायिक वनको कार्ययोजनाको अवधी सकिएको ३ वर्ष भैसकेको रहेछ । २ सय ६४ घरधुरीले १ सय ९९ हेक्टर क्षेत्रफल वन जिम्मा लिनु भएको रहेछ । यती क्षेत्रफल हुनुमा कुनै बेला राज्यको नियम थियो २ सय हेक्टर भन्दा माथि वन हस्तान्तरण गर्दा आइइई प्रतिवेदन तयार गर्नु पर्ने । त्यही भएर २ सय भन्दा तल क्षेत्रफल पारिएको रहेछ । यस समूहका पूर्व पदाधिकारीहरु सम्पर्क विहिन देखियो । तत्कालिन अध्यक्ष भारत तिर कता गएको रे हिसाव किताव लगायतको केही अभिलेख पनि रहेनछ । कुनै बेला काठ बेचेर आम्दानी भएको थियो रे । त्यो पैसा केही गाउँ तिर लगाएको पनि भन्ने सुनियो तर अभिलेख भेटिएनछ । सामुदायिक वनको संस्थागत अवस्था वेहाला भएकोले केही दिन अघिमात्र वडा अध्यक्ष, सवडिभिजन वन कार्यालय प्रमुख सहितको उपस्थीतिमा आमभेला आयोजना गरी नयाँ समिति चयन भएको रहेछ । अव कार्ययोजना नयाँ वनाउने सुरुसार हुँदै रहेछ ।

लथालिङ्ग भएको सामुदायिक वनलाई सम्हाल्न समावेशी समिति बनेको रहेछ । अध्यक्ष अनुभवी व्यक्ति दिल बहादुर बस्नेत, उपाध्यक्ष निर्मला वि.क., सचिव स्वस्तिमा वि.क. र कोषाध्यक्ष छिरिङ्ग डोल्मा शेर्पाले अहिले सामुदायिक वनलाई पुन सम्हाल्न कस्सिएका छन् । सचिव सामाजिक परिचालनको अनुभव युवा महिला हुनुहुन्छ । उपभोक्ताको जागरुकता र चासो देख्दा यो सामुदायिक वन कसरी यस्तो लथालिङ्ग अवस्था पुग्यो होला जस्तो लाग्दछ ।

लथालिङ्ग भएको सामुदायिक वनलाई कस्तो बनाउने भन्ने सन्दर्भमा सहभागीहरुले व्यापक छलफल गरे । उपस्थीत सहभागीहरुले आफ्नो वन, समुदाय क्षेत्र समेतलाई समेटेर व्राउन पेपरमा नक्सा वनाएर आफ्नो अवस्था हेरें । अव दश वर्ष पछि देख्न चाहेको अवस्था आंकलन गरी त्यही नक्सामा थपे । त्यो अवस्था प्राप्तीकालागि गर्नु पर्ने कामहरुको सूची बनाए । वन व्यवस्थापन अन्तरगत विरुवा, पोल र माउ रुख सहितको व्यवस्थीत वन वनाउने, झाडी सफाइ, काठ संकलन गरी फर्निचर कारखाना स्थापना गर्ने, धसिंगरे रोपण, दिगो संकलन र उद्यम सञ्चालन गर्ने, अर्गेली, लोक्ता रोपन र दिगो व्यवस्थापनमा सहयोग गर्ने, पानीको मूहान संरक्षण गर्ने, सामुदायिक वन क्षेत्र थप गर्ने, अग्नी रेखा निर्माण गर्ने जस्ता क्रियाकलापहरु निर्धारण गरे ।

त्यसै गरी संस्थागत विकास तथा सुशासन अन्तरगत वन कार्ययोजना प्रकृयागत परिमार्जन गर्ने, समावेशी समिति गठन र नियमित वैठक वस्ने, नियमित साधारण सभा बस्ने, लेखापरिक्षण गर्ने, स्थायी लेखा नम्वर लिने, नियमित कर चुक्ता गर्ने, प्रतिवेदन तयार गरी सम्वन्धीत निकायमा पेश गर्ने, समूहको योजना तर्जुमा स्थानीय सरकारको सहभागीता र स्थानीय सरकारको योजना तर्जुमामा सामुदायिक वनको उचित भूमिका निर्वाह गर्ने जस्ता क्रियाकलाप टिपोट गरे ।

सामुदायिक वनको भवन बनाउने र सडक स्तरोन्नतीकालागि स्थानीय सरकारसँग समन्वय गर्ने । उद्यम विकास र जिविकोपार्जनमा सहयोग पु¥याउन फर्निचर उद्योग सञ्चालन गर्ने जडिवुटी संकलन गरी विक्रि वितरण गर्ने सके प्रशेधन गर्ने, धसिंगरे संकलनकालागि तालिम प्रदान र धसिंगरे प्रशोधन कार्यहरु गर्ने प्राथमिक काममा राखे । सहभागीहरु मध्ये एक जना नुर्वु शेर्पाले फर्निचर उद्योगमा आफ्नो अनुभव भएकोले समूहले सहयोग गरेमा व्यवसायलाई व्यवस्थीत गर्ने इच्छा जाहेर गरे । यो वनलाई मछिनोको वन वनाउने सामुहिक अठोट व्यक्त गरे ।

छलफल सकेर अध्यक्षको घर तिर गयौं । त्यहाँ स्कुस र पिडालु उसिनेको रहेछ । मजाले खायौं । अनी फेरी उकालो लाल्यौं । एक जना विश्वकर्माले आरन चलाइ रहेको देख्यौं । पस्यौं । कुराकानी ग¥यौं । परम्परागत तरिकाकै आरन थियो । हामीलाई नौलै लाग्यो । सानो भिडियो पनि बनाऔं । बालीमा हैन पैसामा हंसिया, कुटो कोदालो निर्माण तथा मर्मत गर्ने चलन चलेको रहेछ । परम्परागत तुलो पनि देख्यौं । त्यसमा मापन गर्दा इकाइ नैं हामी धेरैकालागि नौलो लाग्यो । केही बेरको कुराकानी र अबलोकन पछि फेरी उकालो लाग्यौं । हिजो बास बसेको घरमा पुग्यौं । अबको हाम्रो पथ प्रदर्शक पण्डित सामुदायिक वनको सचिव मिङ्मा छेकी शेर्पा हुनुहुन्छ । उहाँको सल्लाह अनुसार बास कता वस्ने निधो हुने कुरा थियो । उहाँ आइपुग्न केही समय लाग्ने भएकोले हामी मध्ये केहीले दारी काटेर समय सदुपयोग ग¥यौं । उहाँ आउनु भयो अनी हाम्रो बास यहाँबाट सरी यार्शा तिर जाने कुरा भयो । झोला बोकी हिड्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *