काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा सुशासन र अमनचयनको कुरा उठाए तापनि सो भाषणमै सीमित भएको छ । प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई निर्मूल पारी देशमा आर्थिक सुशासन कायम गर्ने भनिरहँदा कांग्रेसबाट परराष्ट्र मन्त्री बनेकी डा. आरजु राणा देउवा हावी भएकी छिन् । सरकारमा प्रधानमन्त्री केपी ओली कि आरजु देउवा भन्ने चर्चा चलिरहेको छ । प्रधानमन्त्री ओलीे भन्दा परराष्ट्रमन्त्री डा. आरजु देउवा हावी भएको राजनीतिक विश्लेषकहरुको बुझाइ छ ।
अहिले डा. आरजुले जे भन्यो त्यहिँ लहैलहैमा प्रधानमन्त्री ओली लागिपरेको अवस्था छ । त्यसको उदाहरण लिन सकिन्छ, केहि महिना अगाडि परराष्ट्र मन्त्रालयमा अनावश्यक एक सय पचासभन्दा बढि कर्मचारी दरबन्दी थपेर राज्यलाई वार्षिक करौडौं रुपैयाँ आर्थिक भार थपिएको विषय । कर्मचारी दरबन्दी थपिँदा प्रधानमन्त्री ओलीले कुनै विरोध नगरेको स्रोतको भनाइ छ । त्योसँगै परराष्ट्रमन्त्री डा. आरजु देउवाले विभिन्न देशको भ्रमण गरेर राज्यको ढुकुटी दोहन गरिरहँदा त्यस विषयमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिन सकेका छैनन् ।
त्यस्तै, आफ्नो मन्त्रालयको प्रगति विवरण दिन नसक्ने मन्त्रीहरुलाई फेरबदल गर्ने भनिए तापनि कांग्रेसकै कारण मन्त्रिमण्डल फेरबदल गर्न नसकेको आरोप प्रधानमन्त्री ओलीमाथि लाग्दै आएको छ । कांग्रेसले पनि ओली सरकारमा टिकाइराख्ने र एमालेको बद्नाम गराउने रणनीति बनाइरहेको छ । त्यसैगरी, दुईतिहाइ हाराहारी बहुमतको सरकारले भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, गिरिबन्धु टि–स्टेट जग्गा काण्ड र बालमन्दिर जग्गा काण्डको छानबिन हुन गर्न सकेको छैन । देशमा भ्रष्टाचार, विकृति, विसंगतिसँगै महङगिले सर्वसाधारण जनताको हातमुख जोड्न समस्या परिरहेको छ ।
त्यतातिर नत सरकारले ध्यान दिएको छ नत सम्बन्धित निकायले नै । उता, प्रधानमन्त्रीका सल्लाहकार डा. युवराज खतिवडा, विष्णु रिमाल र परराष्ट्रमन्त्री डा. आरजु देउवाको मिलेमतोमा राजनीतिक नियुक्ति गर्नेदेखि कर्मचारी सरुवा बढुवामा भागबण्डा चल्दै आएको छ । कर्मचारी सरुवा बढुवामा विष्णु रिमाल र शंकर पोखरेलको होडबाजी चल्ने गरेको छ । एमालेका नेता शंकर पोखरेलले प्रदेश स्तरका कर्मचारी चलाउने गरेका छन् भने संघमा विष्णु रिमालको हालीमुहाली चल्ने गरेको छ । प्रधानमन्त्री ओलीको निगाहमा मुख्यसचिव बनेका एक नारायण अर्यालले पनि कर्मचारीतन्त्रलाई चलायमान बनाउन सकेका छैनन् । अर्याल विष्णु रिमालको डिजाइनमा चल्ने गरेका छन् ।
कर्मचारीतन्त्रभित्र मुख्यसचिव अर्याललले काम गर्न नसकेको आरोप त्यत्तिकै लाग्ने गरेको छ । मुख्य सचिव अर्यालले कर्मचारीभित्रको विकृति र विसंगति हटाउनुको सट्टा प्रधानमन्त्री र सल्लाहकार विष्णु रिमालको डिजाइनमा तिनै कर्मचारीहरुलाई प्रोत्साहन दिने काम गरिरहेका छन् । स्रोतका अनुसार अर्यालले भन्ने गरेका छन्,‘‘एकचोटी मुख् सचिव हुनुथियो, भइहालियो, अब यो देशमा जुनसुकै सरकार आए तापनि नत विकासको काम हुन्छ नत आर्थिक सुशासन नै कायम हुन्छ ।
बरु कतिखेर कसले फसाउने हो” भन्दै प्रधानमन्त्री कार्यालयमा गफ चुट्ने गरेको स्रोतको भनाइ छ । हुनपनि त्यस्तै अवस्था सिर्जना भएको छ । सरकार बनेको ६ महिना पार गरिसक्दा पनि नत विकास निर्माणका काम हुन सकेको छ न भ्रष्टाचार न्युनिकरण हुनसकेको छ । सरकारले अर्थतन्त्र सुधारोन्मुख हुदैँ गएको भनिरहँदा आर्थिक मन्दिकै कारण अधिकाशं भौतिक संरचनाका कामहरु ठप्प जस्तै भएका छन् । निर्माण व्यवसायीहरुले आफूले पाउनुपर्ने भुक्तानी नपाएको कारण निर्मााणका कामहरु अलपत्र परिरहेका छन् ।