काठमाडौं । उद्योगी, व्यवसायीहरुको लागि लगानीमैत्री वातावरण बनाउने योजनासहित सरकारले अध्यादेश ल्याएको छ । सरकारले उक्त अध्यादेश ल्याएपछि उद्योगी, व्यापारीहरु उत्साहित भएका छन् । तर, सर्वसाधारण उपभोक्ताहरु झन् महंगीको चपेटामा पर्ने र कालाबजारी गर्नेहरु मौलाउने भएका छन् । उद्योगी व्यापारीहरुले सर्वसाधारणको ढाड सेक्ने गरी आफूखुसी मूल्य राखेर व्यापार गर्न थालेका छन् । अधिकांश उद्योगी, व्यापारीहरुले पहिलादेखि आफूलाई फाइदा हुने गरी मूल्य निर्धारण गरेर आफ्नो सामान विक्रीवितरण गर्दै आएका थिए । सरकारले त्यस्ता उद्योगी व्यापारीहरुलाई फाइदा हुने अध्यादेश ल्याएपछि झन् उनीहरु उत्साहित भएका छन् ।
उक्त अध्यादेश लागु भएपछि उद्योगी, व्यापारीहरुले आफूले उत्पादन गरेको सामानको मूल्य आफूखसी जति मन लाग्यो त्यति तोक्ने अधिकार पाएका छन् । यसअघि उद्योगी, व्यापारीहरुले लागतको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउने व्यवस्था थियो । २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने नियम हुँदा त व्यपारीहरुले आफूखुखी मूल्य तोकेर उपभोक्तालाई ठग्दै आएका थिए भने यो अध्यादेश लागु भइसकेपछि व्यापारीहरुको मनोमानी झन् बढेर जाने देखिन्छ ।
अहिले बजारमा निर्माण समाग्रीदेखि खाद्यान्नसम्मको मूल्य बृद्धि गरेर सर्वसाधारण जनताको घाँटी निमोठ्ने काम भएको छ भने उद्योगी, व्यापारीहरु मालामाल बन्दै गएका छन् । उद्योगी व्यापारीहरुले पनि राजनीतिक दलहरुलाई चन्दा र सहयोग दिनै पर्ने, कर्मचारीहरुलाई पनि पाल्नुपर्ने र कर पनि तिर्नुपर्ने भएकाले उनीहरु मूल्य बढाउन वाध्य छन् । निजी क्षेत्रका बैंक वित्तीय संस्था र उद्योगी, व्यवसायीहरुले राज्यलाई गुमराहमा पारेर आर्थिक लाभ लिइरहेका छन् ।
कांग्रेस र एमाले मिलेर बनेको दुईतिहाईको सरकारले सर्वसाधारण जनताको हित र विकास निर्माणको काममा भन्दा पनि आगामी २०८४ को निर्वाचनलाई मध्येनजर गरेर उद्योगी, व्यापारी र कालाजारियाहरुलाई प्रोत्साहन गर्ने काम गर्दै आएको छ । अहिलेदेखि नै उद्योगी, व्यापारीहरुलाई आफ्नो सामानको मूल्य आफैले तोकेर सर्वसाधारणलाई ठग्न दिनुभनेको आगामी २०८४ निर्वाचनलाई खर्च बटुल्नु र उद्योगी, व्यापारीबाट आफ्नो पक्षमा मत पार्नु हो ।
सरकारले ल्याएको अध्यादेशले गर्दा सर्वसाधारण उपभोक्त त मारमा परेकै थिए तर निर्माण व्यवसायीहरुले पनि ठेक्कापट्टाको काम लिन मानिरहेका छैनन् । विगत ६ महिना यता गिटी, बालुवा, सिमेन्ट, रड, इँटा, ढुंगाजस्ता निर्माण सामग्रीको मूल्य अत्याधिक बढेको छ । निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकै कारण विकास निर्माणको काम त परैजाओस् सर्वसाधारणले घर निर्माण गर्नसमेत सकेका छैनन् ।